भागबन्डा नमिलेपछि रुपन्देहीका ६ स्थानीय तहमा एक्लाएक्लै भिड्दै गठबन्धन दल – Nepal Press

भागबन्डा नमिलेपछि रुपन्देहीका ६ स्थानीय तहमा एक्लाएक्लै भिड्दै गठबन्धन दल

रुपन्देही । सत्तारुढ पाँच दलबीच भागबन्डा नमिलेपछि रुपन्देहीको दक्षिणी क्षेत्रका ६ वटा स्थानीय तहमा सत्तारुढ दलहरू एक्लाएक्लै निर्वाचन लड्ने भएका छन् ।

आफ्नो आधार इलाकामा जनता समाजवादी पार्टी पछि हट्ने नदेखिएपछि गठबन्धन दलहरु निर्वाचनमा एक्लाएक्लै जान सहमत भएका हुन् । प्रमुख प्रतिपक्षी दल एमालेको उपस्थिति कमजोर भएको र जसले जिते पनि गठबन्धन दलकै उम्मेदवारले जित्ने अवस्था रहेकाले आफूहरु छुट्टाछुट्टै निर्वाचन लड्ने निष्कर्षमा पुगेको सत्ता गठबन्धनका दलहरूले ‘रेडिमेड’ तर्क दिन थालेका छन् ।

जिल्लाका १६ स्थानीय तहमध्ये दक्षिणी भेगका लुम्बिनी सांस्कृतिक नगरपालिका तथा मर्चबारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी र गैडहवामा गठबन्धनमा आवद्ध दलहरूले छुट्टाछुट्टै चुनाव लड्ने सहमति गरेका हुन् ।

यी पालिकाहरूमा एमाले कमजोर भएकाले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्दा पनि गठबन्धन दलकै जीत हुने निष्कर्षसहित मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको नेपाली कांग्रेस रुपन्देहीका एक नेताले बताए ।

जसपा नेता देवेन्द्र पाण्डेले एमाले कमजोर भएका पालिकामा गठबन्धनभित्रै प्रतिस्पर्धा गराउँदा सबै दलका नेताहरु खुसी हुने देखिएपछि यस्तो सहमति गरिएको बताए । ‘हामीले केन्द्रमा अलग अगल प्रतिस्पर्धा गर्ने सुझाव पठाएका छौं, यो यहाँबाट हुने निर्णय भएन तर कार्यकर्ता जोगाउन सबै दलको सहमतिमा यस्तो निर्णय गरिएको हो’, उनले भने ।

अन्य पालिकाको हकमा पनि कसरी गठबन्धन गर्ने भन्ने विषयमा दलहरूबीच छलफल भैरहेको छ । जसपाले यसअघि नै सिद्धार्थनगर नगरपालिकामा गठबन्धन नगर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर