सिन्धुमा सत्ता गठबन्धनलाई तालमेलको सकस, मोहन बस्नेत भन्छन्- कम्युनिस्टको भर हुन्न – Nepal Press

सिन्धुमा सत्ता गठबन्धनलाई तालमेलको सकस, मोहन बस्नेत भन्छन्- कम्युनिस्टको भर हुन्न

कार्यकर्ता कांग्रेस- माओवादी गठबन्धनको विपक्षमा, एमाले र राप्रपासँग पनि छलफल

चौतारा । सत्तारुढ पाँच दलबीच स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने केन्द्रमा सहमति भए पनि सिन्धुपाल्चोकमा भने गठबन्धन दलहरुबीच सहमतिको ‘मोडालिटी’ अझै तयार हुन सकेको छैन ।

केन्द्रमा पाँच दल भने पनि सिन्धुपाल्चोकमा भने सत्तारुढ तीन दलबीच मात्रै चुनाव केन्द्रित बैठकहरू बसेका छन् । नेपाली कांग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादीका जिल्ला स्तरीय नेताहरू बीच चुनावी गठबन्धनलाई कसिलो बनाएर लैजाने विषयमा बैठक बसे पनि तिनै दलका शीर्ष तहका नेताहरुबीच भने बैठक बस्न सकेको छैन ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र माओवादी केन्द्रीय सदस्य माधव सापकोटा ‘सुबोध’ सहितका नेताहरू औपचारिक रूपमा एक पटक मात्रै बैठकमा बसेका छन् ।

शुक्रवार तीनै पार्टीका जिल्ला अध्यक्षसहित बैठक बसेर गठबन्धन गरेर स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा निर्णय त भएको छ तर शीर्ष नेताहरुबीच सहमति नहुँदासम्म जिल्ला तहका नेताहरूले गरेको निर्णय कार्यान्वयन हुनमा समस्या हुने कांग्रेसका एक नेताले जानकारी दिए ।

तीन दलको बैठक हुँदै गर्दा चौतारामा नै आयोजित कांग्रेसको एक कार्यक्रममा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कम्युनिष्टहरुको भर नहुने भन्दै गठबन्धन नहुने र कांग्रेस एक्लै चुनावी मैदानमा जाने भएकाले तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।

‘अहिले स्थानीय तहमा गठबन्धन गर्‍यो,भोलि संघ र प्रदेशमा एमालेसँग मिल्न सक्छन् ’बस्नेतले भने चितवनमा पनि पहिला हामीसँग गठबन्धन भयो पछि कम्युनिस्टहरू मिले’ ।

संघ र प्रदेशको चुनावमा माओवादीले कांग्रेसलाई धोका दिएर २३ सिटमा झारेको बताउँदै बस्नेतले कम्युनिस्टको भर नभएकाले आफू गठबन्धनको पक्षमा नरहेको बताए ।

कांग्रेस र माओवादीको आफ्नै दाउ

कांग्रेस र माओवादीका शीर्ष नेताहरूको बैठकमा स्थानीय तह भागबण्डा गरेर जाने तर कसरी भन्ने सवालमा भने दुवै दलका नेताहरूले आफ्ना अडान प्रस्टसँग राखेका छन् । माओवादीले जिल्ला समन्वय समिति सहित ७ स्थानीय तह कम्युनिष्टहरुले पाउनु पर्ने अडान राखेको छ ।

सात मध्ये एउटा एकीकृत समाजवादीको भागमा परेको छ । माओवादी चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी, जुगल, भोटेकोसी र लिसंखु पाखर गाउँपालिका आफूले पाउनु पर्ने अडानमा छ ।

त्यसै गरी समाजवादीलाई मेलम्ची नगरपालिका दिनुपर्ने प्रस्ताव माओवादीले काँग्रेससँगको बैठकमा राखेको छ । तर कांग्रेस यी सबै स्थानीय तह दिन चाहँदैन । झन् समाजवादीको त जिल्लाभर मतदाता नै कम भएकोले कांग्रेस उदार हुन सकेको छैन ।

कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई भने गठबन्धन नहुँदा आफ्नै नगरपालिकामा समस्या हुने हो कि भन्ने भय छ ।

‘जसरी माओवादी चौतारा साँगाचोकगढी नगरपालिका एक्लै भए पनि जित्नेमा विश्वस्त छ,मोहनजी त्यसरी बाह्रबिसे जित्नेमा विश्वस्त छैनन् त्यही भएर मोहनजीलाई पनि समस्या छ’ माओवादीका एक नेताले भने । कांग्रेस केन्द्रीय सदस्य बस्नेतलाई अर्को पनि समस्या देखिएको छ आउने प्रदेश र सङ्घको निर्वाचनमा गठबन्धन भएन भने अहिले माओवादीले मागेका सबै स्थानीय तह उनकै क्षेत्रमा रहेको छ त्यसले गर्दा पनि बस्नेत समस्यामा देखिएका छन् । क्षेत्र नम्बर १ को बलेफी, जुगल, लिसंखुपाखर र भोटेकोसी माओवादीलाई दिँदा कांग्रेसको भागमा बाह्रबिसे, सुनकोसी र त्रिपुरा सुन्दरी मात्रै पर्छ ।

दुवै दलका कार्यकर्ता गठबन्धन गर्न नहुने अडानमा

केन्द्रले कसिलो गठबन्धन बनाउने भनेर जति कडा उर्दी जारी गरे पनि सिन्धुपाल्चोकमा भने माओवादी र कांग्रेसका स्थानीय स्तरका नेताहरू भने गठबन्धन नगरी एक्लै चुनावमा जानु पर्ने अडानमा छन् । शुक्रवार चौतारामा भएको कांग्रेसको कार्यक्रममा समेत धेरै स्थानीय नेताहरूले गठबन्धन नगरी एक्लै निर्वाचनमा जानु पर्ने चर्को धारणा राखेका थिए ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले त सामाजिक सञ्जालमा हेलम्बुमा कांग्रेस एक्लै काफी भएको र कोहीसँग गठबन्धन गर्नु पर्ने आवश्यकता नै नरहेको भन्दै गठबन्धन गर्न नहुनेमा जोड दिएका छन् । काँग्रेसका धेरै वडाका सभापतिहरू समेत गठबन्धन नगरी एक्लै मैदानमा जानु पर्ने पक्षमा देखिएका छन् । माओवादीका स्थानीय नेताहरू पनि गठबन्धन गर्न नहुनेमा विभाजित देखिएका छन् ।

अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसबाट माओवादी केन्द्रमा प्रवेश गरेर बाह्रबिसे नगरपालिकामा माओवादीको तर्फबाट मेयरमा प्रत्याशी भएका बुद्धराज बस्नेतले पनि गठबन्धन मन मिल्नेसँग मात्रै हुने बताएका छन् ।

‘हामी लामो समयदेखि काँग्रेस भित्र मोहन बस्नेतको ज्यादती सहन नसकेर कम्युनिस्टमा आएका छौ,फेरी मोहन बस्नेतलाई नै बोक्नु पर्ने हो भने कम्युनिस्ट हुनुको के अर्थ भयो र? बुद्धराज बस्नेतले भन्ने गरेका छन् ।

सबैको आफ्नै दाउ

तीन दलबीच गठबन्धन गर्ने विषयमा बैठक र छलफल चलिरहे पनि गठबन्धन भित्रका प्रमुख कांग्रेस र माओवादीले गठबन्धनबाहिरका अन्य दलहरूसँग पनि भित्री रूपमा तालमेलका लागि बैठकहरू गरिरहेका छन् ।

कांग्रेस उच्च स्रोतका अनुसार अन्य स्थानीय तहमा एमाले र कांग्रेस बीच तीव्र प्रतिस्पर्धा भए पनि चौतारा साँगाचोकगढी नगरपालिकामा एमाले र काँग्रेस मिलेर जानु पर्नेमा कांग्रेसका नेताहरूले ‘लबिङ’ सुरु गरेका छन् । ‘चौतारा साँगाचोकगढीमा माओवादीले धेरै स्याङ स्याङ गर्‍यो, उनीहरूको स्याङ स्याङ तोड्न भए पनि यहाँ एमालेसँग तालमेल गर्नुपर्छ जस्तो हामीलाई लागेको छ’,कांग्रेसका एक नेताले भने ।

तर एमालेका नेताहरूले भने यस विषयमा कुनै जवाफ दिएका छैनन् । एमाले र काँग्रेसका स्थानीय नेताहरू पनि चौतारामा कांग्रेस र एमाले मिलेर जानुपर्नेमा सकारात्मक देखिएका छन् ।

माओवादी र राप्रपाबिचमा पनि चुनावी सहकार्यको विषयमा छलफल भइरहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकामा समाजवादीको भन्दा राप्रपाको मत बढी रहेकाले राप्रपालाई उपप्रमुख दिएर भए पनि निर्वाचनमा तालमेल गरेर जान सक्ने गरेर छलफल भइरहेको स्रोतको दाबी छ ।

त्यस्तै सुनकोसी गाउँपालिकामा पनि कांग्रेसविरुद्ध एमाले र माओवादी गठबन्धन गरेर जानका लागि अधिकांश माओवादीका स्थानीय नेताहरूले दबाब दिएका छन् ।

निरीह समाजवादी

एमालेबाट चोइटिएर गएको समाजवादी भने सिन्धुपाल्चोकमा निरीह देखिएको छ । माओवादीले बोके पनि कांग्रेसले खासै भ्यालु दिएको छैन समाजवादीलाई । केन्द्रको गठबन्धनको निर्णय अनुसार एमालेले प्रमुख जितेर समाजवादीमा गएका स्थानीय तहको प्रमुख समाजवादीलाई पाउने सहमति भए पनि सिन्धुपाल्चोकमा त्यो अवस्था छैन ।

समाजवादीले मेलम्ची नगरपालिकालाई त्यसको आधार मानेको छ । समाजवादीका जिल्ला अध्यक्ष नवराज पौडेल केन्द्रको नीति अनुसार मेलम्चीमा आफूहरूको प्रमुखमा दाबी रहेको बताउँछन् । एमालेबाट उपप्रमुखमा विजयी भएकी भगवती नेपाल समाजवादीमा छिन् ।

‘अहिले माओवादीको ‘फेर’ समातेर हिँडेको छ,हामीले पनि खासै ‘भ्यालु’ दिएका छैनौ’ कांग्रेसका एक नेताले भने ‘माओवादीले समाजवादीलाई बोकेर हिँड्छ भने उसैको भाग देओस्, हामी दिँदैनौ’ ती नेताले भने ।

समाजवादीका नेताहरूले भने आफूहरूले जित्ने भन्दा पनि एमालेका उमेदवारहरुलाई हराउन आफूहरूसँग पर्याप्त मत रहेको बैठकमा जिकिर गर्ने गरेको ती नेताले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर