कैलालीमा गठबन्धन मिलाउन कांग्रेसलाई सकस, भोलि निर्णायक बैठक – Nepal Press

कैलालीमा गठबन्धन मिलाउन कांग्रेसलाई सकस, भोलि निर्णायक बैठक

कैलाली । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कैलालीमा तालमेल गर्ने सकस भइरहेको छ ।

सत्ता गठबन्धनका दलहरू बिच भागबन्डामा कुरा नमिले पछि समस्या सृजना भइरहेको हो । यस विषयमा कांग्रेसले भोलि आन्तरिक छलफलका लागि बैठक बोलाएको छ ।

‘अहिले सम्म गठबन्धनका दलहरू बिच पटक पटक छलफल गर्दा पनि कुरा मिलेन । उहाँहरू धेरै भाग चाहियो भन्नुहुन्छ’कांग्रेसका एक नेताले भने ‘हाम्रा नेता कार्यकर्ता माओवादी र कांग्रेसलाई त्यति धेरै दिन सकिन्न भन्नुहुन्छ । यस विषयमा अब भोलि बृहत् छलफल हुन्छ ।

उनले कैलालीमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा भोलि छलफल हुने बताए ।

‘भोलि १२ बजे पार्टी कार्यालयमा बैठक बोलाइएको छ’ उनले भने ‘कैलालीमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा भोलि नै निर्णय पनि हुन सक्छ ।’

केन्द्रमा पाँच दलीय गठबन्धन भए पनि कैलालीमा मूलतः तीन दलीय गठबन्धन हुने देखिएको छ । तर, उनीहरू बिच पनि भागबन्डामा कुरा मिलेको छैन ।

नेपाली कांग्रेस र माओवादी केन्द्रसँग एकीकृत समाजवादी दलले समान हैसियतका आधारमा भागबन्डा हुनुपर्ने बताएको छ । नेपाली कांग्रेसले कैलालीका १३ स्थानीय तह मध्ये १० स्थानीय तहमा दाबी गरेको छ ।

अहिले नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, घोडाघोडी नगरपालिका, कैलारी गाउँपालिका,चुरे गाउँपालिका, लम्की चुहा नगरपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा दाबी गरेको छ ।

अहिले कांग्रेसले दाबी गरेको मध्ये कैलारी गाउँपालिका र भजनी नगरपालिका अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो ।

अहिले उक्त क्षेत्रमा नेपाली कांग्रेसको नगर कमिटीले गठबन्धन गर्न नहुने भन्दै निर्णय नै गरिसकेका छन् ।

घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, कैलाली गाउँपालिका, लम्की चुहा नगरपालिका र मोहन्याल गाउँपालिकाले आफ्नो स्थानीय तहमा पाँच दलीय गठबन्धन नगर्ने भन्दै निर्णय गरेका हुन् ।

१३ वटा स्थानीय तह रहेको कैलालीमा अहिले एकीकृत समाजवादी र माओवादी केन्द्रले करिब आधा दर्जन बढी स्थानीय तहमा दाबी गरिरहेका छन् । स्थानीय तहमा धेरै दाबी गरेपछि गठबन्धनमा कुरा मिलाउन सकस भइरहेको नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा १३ स्थानीय तह मध्ये एमालेले सात, नेपाली कांग्रेसले तीन, माओवादी केन्द्रले दुई स्थानीय तहमा विजयी भएको थियो । एक तहको प्रमुखमा विजयी भएका तत्कालीन मधेसी जनअधिकार फोरमा लोकतान्त्रिक कांग्रेसमा समाहित भइसकेको छ ।

एमाले विभाजन भइसकेपछि अहिले १३ स्थानीय तह मध्ये कैलालीको घोडाघोडी र गोदावरीका उपप्रमुखले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।

दुई स्थानीय तहका उपप्रमुख मात्रै रहेको एकीकृत समाजवादीले अहिले छ वटा स्थानीय तहमा दाबी गरेको छ । अन्तिममा चार स्थानीय तहको प्रमुख सम्ममा सहमति गर्न सकिने एकीकृत समाजवादीका नेताहरू बताउँछन् ।

‘यी क्षेत्रमा साङ्गठनिक रूपमा हाम्रो उपस्थिति राम्रो छ । अर्को कुरा ती क्षेत्रमा पहिले एमालेले जितेको हो ।’ एकीकृत समाजवादी कैलालीका सचिव खडक रावतले भने, हामी एमालेबाट विद्रोह गरेको आएको हुँदा पनि हामीले ती क्षेत्र पाउनु पर्छ भन्ने मान्यता राखेका छौँ ।’

एकीकृत समाजवादीकै हैसियतमा माओवादीले स्थानीय तह माग गरेको बताइएको छ । गठबन्धनको बैठक भन्दा बाहिर जे भने पनि बैठकमा धनगढी उपमहानगरपालिका कांग्रेसलाई दिएर अन्य १२ स्थानीय तहले तीन भाग माग गरेको कांग्रेस स्रोतले बताए ।

गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा भोलि ठोस निर्णय हुन सक्ने कांग्रेस जिल्ला सचिव सुनारले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर