माओवादी संखुवासभाको आरोप – कांग्रेसभित्रको चरम अन्तरकलहले चुनावी तालमेलमा सकस – Nepal Press

माओवादी संखुवासभाको आरोप – कांग्रेसभित्रको चरम अन्तरकलहले चुनावी तालमेलमा सकस

संखुवासभा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र संखुवासभाले नेपाली कांग्रेसभित्र देखिएको चरम अन्तरकलहले जिल्लाका १० स्थानीय तहमा चुनावी तालमेलको सहमति गर्न सकस भइरहेको आरोप लगाएको छ ।

माओवादी संखुवासभाका अध्यक्ष टेकमान राई उदयले शनिबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले एकतर्फी रुपमा आफूहरुसँग गठबन्धन टुटेको सार्वजनिक घोषणा गरेको स्पष्टीकरण दिएका हुन् ।

कांग्रेसले आफूहरुलाई अति उपेक्षा र अवमूल्यन गरेको आरोपसमेत अध्यक्ष राईले लगाएका छन् । जसले गर्दा जिल्लामा सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सम्बन्धमा सहमति गर्न नसकिएको उनले उल्लेख गरेका छन् ।

‘आफ्नो दलभित्र उत्पन्न समस्याको व्यवस्थापन गर्न र अन्य सहयात्री दलहरुको अस्तित्व स्वीकार्दै आवश्यक लचकता अपनाउनुको सट्टा नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णय, भावना र मर्मविपरीत एकपक्षीय रुपमा गठबन्धन टुटेको घोषणा गर्नु गैरजिम्मेवार निर्णय हो’, प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेुले एकलौटी रुपमा गठबन्धन तोडेको विषयले उत्पन्न परिस्थितिबाट कोही पनि तरंगित र भ्रमित नहुन हाम्रो पार्टी सबैसँग अनुरोध गर्दछ ।’

अध्यक्ष राईले माओवादी आफ्नो राजनीतिक अस्तित्व कायम गर्दै जनताको नेतृत्व गर्न आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न पनि तयार र सक्षम रहेको जिकिर गरेका छन् । ‘हाम्रो पार्टी पाँच दलीय गठबन्धनको मर्म, भावना र निर्णयमा दृढ र प्रतिबद्धसमेत छ’, उनले भनेका छन् ।

माओवादी जिल्ला संयोजक राईले कांग्रेस पाँचदलीय गठबन्धनको मर्म, भावना र निर्णय उल्लंघन गरेर एकलौटी अगाडि बढे आफ्नो पार्टी स्थानीय तहमा आवश्यक निर्णय लिन स्वतन्त्र रहेको जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर