मोहन्याल गाउँपालिका अध्यक्षमा पत्रकार रावलको चर्चा – Nepal Press

मोहन्याल गाउँपालिका अध्यक्षमा पत्रकार रावलको चर्चा

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा नेकपा एमालेको तर्फबाट पत्रकार वीरेन्द्र रावलको चर्चा बढेको छ ।

२०७४ मा सम्पन्न निर्वाचनमा समेत सिफारिसमा परेका रावल आगामी वैशाख ३० गते हुने निर्वाचनमा पनि सिफारिसमा परेका छन् ।

रावल करिब अढाइ दशक देखी सक्रिय पत्रकारितामा छन् । उनी प्रेस चौतारी नेपाल कैलालीका पूर्व अध्यक्ष पनि हुन् ।

२०४८ सालमा अनेरास्वयवियुको प्रारम्भिक कमिटीको अध्यक्ष भएर राजनीतिमा सक्रिय रहेका रावल अहिले एमाले जिल्ला कमिटी सदस्य समेत हुन् । लामो समय देखी सामाजिक अगुवाको रूपमा रहेका रावल चुरे संरक्षण कैलालीका अध्यक्ष पनि हुन् ।

सुदूरपश्चिमको सबै भन्दा सुगम जिल्लामा रहेको सबै भन्दा दुर्गम स्थानीय तहमा रावलको सम्भावना बलियो रहेको स्थानीय बताउँछन् । यस अघि २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि अध्यक्षमा नवलसिंह रावल र उपाध्यक्षमा पूजादेवी बुढामगर एमालेबाट निर्वाचित भएका थिए ।

अहिले पनि एमालेको सम्भावना बढी रहेको रावलको भनाइ छ । मोहन्याल गाउँपालिकाका अधिकांश वडा र अध्यक्ष उपाध्यक्षमा एमालेको जित सुनिश्चित रहेको उनको दाबी छ ।

‘त्यहाँको भौगोलिक अवस्था र मतदाताहरूको भावना अनुसार सबै भन्दा बढी सम्भावना एमालेकै छ’ उनले भने, ‘मैले लामो समय त्यहाँको समस्याबारे वकालत गरिरहेको छु ।’

रावल सहित एमालेबाट एकेन्द्र भण्डारी , बमबहादुर रावल, खर प्रसाद अधिकारी, नवराज खनाल, नरेन्द्र थापा र धरम थापा पनि आकाङ्क्षी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर