कक्षपतिद्वारा पदभार ग्रहण – Nepal Press

कक्षपतिद्वारा पदभार ग्रहण

काठमाडौं । काठमाडौं जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष गणेशलाल कक्षपतिले पदभार ग्रहण गरेका छन् ।

उनले शुक्रवार सानोगौचरणस्थित समितिको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

उनलाई समितिकी कार्यालय प्रमुख ज्योति राई, कर्मचारी, प्रशिक्षक, खेलाडीलगायतले स्वागत गर्दै कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए ।

बाग्मती खेलकुद विकास परिषद्ले दक्षिणकाली नगरपालिकाको चाल्नाखेल १ निवासी कक्षपतिलाई २ वर्षका लागि अध्यक्षमा मनोनीत गरेको हो ।

खेलकुद पृष्ठभूमिका ४४ वर्षीय कक्षपति नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्षका साथै प्रमुख प्रशिक्षक हुन् । उनले २०५२ सालदेखि क्योकुसिन कराँते खेल्न थालेका थिए ।

यस्तै, २०५५ सालदेखि क्योकुसिनसंगै मुवाँथाई खेललाई पनि सँगसँगै अघि बढाए । उनले सन् २०१० मा थाइल्यान्डमा भएको विश्व मुवाँथाई च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए । क्योकुसिन कराँतेका तेस्रो डान कक्षपति मुवाँथाईका सहायक ग्रान्ड मास्टर हुन् ।

पदभार ग्रहण कार्यक्रममा कक्षपतिले वार्षिक क्यालेन्डर तयार गरी काठमाडौं जिल्लाको खेलकुदलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गर्दै नवौँ राष्ट्रिय खेलकुदको मिति घोषणा भइसकेकाले आफ्नो पहिलो प्राथमिकता त्यही हुने बताए ।

उनले खेलकुदमा लागेको व्यक्तिलाई काठमाडौं जिल्लाको नेतृत्व गर्ने अवसर प्रदान गरेकोमा सम्बन्धित सबैलाई धन्यवाद दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर