प्रो क्लब च्याम्पियनसिप क्रिकेट : उत्तर प्रदेश तेस्रो, एपीएफ पाँचौँ – Nepal Press

प्रो क्लब च्याम्पियनसिप क्रिकेट : उत्तर प्रदेश तेस्रो, एपीएफ पाँचौँ

रुपन्देही । विश्व क्रिकेटका महारथी अस्ट्रेलियन क्रिकेटर स्वर्गीय सेन वार्नको स्मरणमा आयोजना गरिएको प्रो–क्लब च्याम्पियनसिप क्रिकेटमा उत्तर प्रदेश क्लब–११ तेस्रो स्थान हासिल गरेको छ ।

जोरा इन्टरनेशनल प्रालिको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा शुक्रवार भएको प्रतियोगितामा नेपाल आर्मी क्लबलाई ३० रनले पराजित गर्दै उत्तर प्रदेश क्लब तेस्रो स्थान हासिल गरेको हो ।

टस जितेर ब्याटिङको निर्णय गर्दै उत्तर प्रदेश क्लब–११ ले २० ओभर खेल्दै ८ विकेटको नोक्सानीमा १ सय ३९ रन बनाएको थियो । जसका लागि सन्दीप मित्तलले ४३ रन तथा सन्नी सिंहले २६ रनको योगदान दिएका थिए ।

खेलमा नेपाल आर्मी क्लबका सोमपाल कामीले ३ तथा शहब आलम र सुशान्त भारीले समान २–२ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको आर्मीका ब्याट्सम्यानहरू १८ ओभरमा केवल १ सय ९ रनमा अल आउट भए ।

आर्मीका कुशल मल्लले ३५ रन बनाएका थिए । आर्मीका सन्तोष कार्कीले १० तथा भीम सार्कीले ११ रन बाहेक अन्य ब्याट्सम्यानहरूले दोहोरो अंकको रन बनाउन सकेनन् । कम स्कोरमा रोक्न उत्तर प्रदेश क्लब ११ का विपिन चन्द्रा र तेजस सिंहले समान ३–३ तथा दिव्य सिंहले २ विकेट लिएका थिए ।

खेलमा उत्तर प्रदेशका तेजस सिंह म्यान अफ द म्याचबाट पुरस्कृत भए । यसै गरी पुस स्पोर्टस दिल्लीलाई ६ बिकेटले पराजित गर्दै सशस्त्र प्रहरी बलका एपीएफ क्लब प्रतियोगिताको पाँचौ स्थान हासिल गरेको छ ।

टस जितेर दिल्लीले ६२ रनको योगफल तयार गरेको थियो । एपीएफका ब्याट्सम्यानहरूले झिनो लक्ष्यलाई १२।२ ओभरमा ४ विकेटको नोक्सानीमा भेटायो । खेलमा शसस्त्र प्रहरीका भुवन कार्कीले शानदार ४ विकेट लिएका थिए ।

उनी खेलमा म्यान अफ द म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको उपाधिका लागि रुपन्देहीले मलेसिया ११ संग शनिबार फाईनल खेल खेल्ने छ ।

चैत २५ देखि वैशाख ३ गतेसम्म नेपालमा पहिलोपटक आयोजना गरिएको टी–२० क्लब क्रिकेट प्रतियोगितामा नेपालका चार, भारतका दुई, मलेसिया र बंगलादेशका १–१ क्लब सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर