जस्तो मदनकृष्णका लागि हरिवंश, त्यस्तै मेरोलागि दिपाश्रीः दिपकराज गिरी – Nepal Press

जस्तो मदनकृष्णका लागि हरिवंश, त्यस्तै मेरोलागि दिपाश्रीः दिपकराज गिरी

काठमाडौं । सफल हास्यकलाकार, सफल फिल्म निर्माता अर्थात् दिपकराज गिरी । आज उनको जन्मदिन । नयाँ वर्ष र जन्मदिन एकै दिन पर्ने सुखद संयोग उनलाई जुरेको छ ।

रेडियो, टेलिभिजन हुँदै ठूलो पर्दामा होमिएका दिपकराज विभिन्न कारणले चर्चामा आइरहन्छन् । मनमा लागेको निर्धक्क अभिव्यक्त गरिहाल्ने स्वभावले उनलाई बारम्बार विवादमा पनि पार्छ । यद्यपि, उनी आफ्नो शैलीमा कायम छन् ।

हरेक व्यक्तिको जन्मदिन आफूलाई पछाडि फर्केर हेर्ने एउटा अवसर पनि हो । दिपकराजले पछाडि फर्केर हेर्दा के पाउँछन् ? आफैंलाई आफूले कसरी मूल्यांकन गर्छन् ? जन्मदिनका अवसरमा उनीसँग गरिएको संवाद:

कति वर्ष पुग्नुभयो, खुलासा गर्न मिल्ला ?

म आफूलाई सँधै ३५ को महसुस गर्छु । मेरो लागि उमेर कुनै अंक होइन, यो एउटा भाव हो ।

पहिलो जन्मदिन शुभकामना कोबाट पाउनुभयो ?

एकैचोटि धेरै जनाको आएको थियो । ठ्याक्क याद गर्न अलिक गाह्रो छ । मेरो श्रीमतीले गरेकी थिइन् । तर मलाई हरिवंश दाईले गरेको याद छ र एकदम विशेष लाग्छ ।

जन्मदिन आउँदा कस्तो महसुस हुन्छ ?

म दुखमा हुर्केको मान्छे हुँ । गाउँघरमा जन्मदिन कहिले हो भन्ने पनि थाहा नहुने माहोलमा हुर्केँ । अहिले आएर सबैले शुभकामना दिईराख्दा, केक काट्दा अनौठो महसुस हुन्छ । म यति धेरै सम्मान पाउन योग्य छु र जस्तो लाग्छ ।

बुढो हुँदै गएको कुरामा कत्तिको चिन्ता लिनुहुन्छ?

म सोच्दै सोच्दिन । म एकदम धार्मिक मान्छे हुँ । भगवानप्रति धेरै आस्था छ । जुन दिनसम्म म दगुर्न सक्छु, त्यतिन्जेल दगुर्छु । दगुर्न नसकेको दिन म हिँड्छु । जुन दिन मेरो उमेर पुग्छ, त्यो दिन फेरि म बालक जस्तो बामे सर्छु ।

जन्मदिन कसरी सेलिब्रेट गर्न मन पर्छ ?

विशेष गरेर आजको दिन मलाई भव्य पार्टीहरु भन्दा पनि मन्दिर गएर, शान्त वातावरणमा भगवानप्रति आस्थावान अनि नतमस्तक भई बिताउन मनपर्छ । हामी जस्तो सानो मान्छेलाई आफ्नो ईश्वरीय शक्तिले यतिको बनाइदिनुभयो, त्यसको लागि म सधैं आभारी छु।

नयाँ वर्ष र जन्मदिन एकैदिन पर्दाको केही फाइदा छन् ?

फाइदा त त्यस्तो केही छैन । अहिले ‘ए मेरो हजुर ४’ र ‘केजीएफ’ लागे जस्तै होला ।

अहिलेसम्म तपाईंले जन्मदिनमा पाउनुभएको सबैभन्दा मूल्यवान उपहार के हो ?

म सामानहरुलाई मूल्यवान भन्दिन । म आफू पनि कसैलाई उपहार दिन्न र अरुबाट पनि लिन त्यति रुचाउँदिन । मैले मानेको र अग्रज व्यक्तिहरुबाट शुभकामना आउनु नै मेरो लागि मूल्यवान उपहार हो ।

विगतका दिन फर्केर हेर्दा आफूलाई कत्तिको सफल व्यक्ति पाउनुहुन्छ ?

सफल व्यक्ति भन्दा पनि मैले पाएको चिजलाई निरन्तरता दिने व्यक्तिको रुपमा लिन्छु म ।

तपाईंको विचारमा तपाईंका सवल पक्ष र दुर्वल पक्ष के हुन् ?

म आलोचना सँगसँगै नै आफूलाई अघि बढाउँछु । कुनै कुरा मनपर्यो भने म कहिल्यै साथ छोड्दिन र मेरो छवि जस्तो भए पनि म अरुको दुख देख्न सक्दिन । छिट्टै आँशु आउँछ । यही मेरो सवल पक्ष हुन् । दुर्वल पक्ष भनेको चैं म छिटो रिसाउँछु, प्याच्च बोल्छु । अलिक कूटनीतिक छुइनँ । कलाकार भएपछि म हरेक कुरामा प्रमिस गर्न सक्दिन, त्यसैले कहिलेकाहीँ घरपरिवार, साथीभाईहरुमा नराम्रो हुन्छु ।

तपाईंले जीवनमा गर्नुभएको सबैभन्दा ठूलो गल्ति ?

मान्छेको जिन्दगी हो, गल्ति त धेरै हुन्छन् । म ती गल्तिहरु सम्झन चाहन्न, जुनबाट मैले पाठ सिकेँ । म ती गल्ति सम्झिन्छु जुन गल्ति गरेर पनि मैले पाठ सिकिनँ ।

तपाईंको जीवनमा सबैभन्दा महत्वपूर्ण तीन व्यक्तिको नाम लिनुपर्दा को–को लाई सम्झिनुहुन्छ ?

यो धेरै कठिन प्रश्न हो । मैले उत्तर भन्दा सायद अन्याय होला । म मेरो जन्म दिने बुवाआमालाई पहिलो स्थानमा, मलाई शिक्षा दिने अनि अक्षर चिनाउने गुरुहरुलाई दोश्रो स्थानमा र मेरो हरेक पाइलामा साथ दिने जति पनि हुनुहुन्छ जस्तै मेरो जिवनसाथी,स ाथीभाईहरु सबैलाई तेस्रो स्थानमा राखेर सम्भन चाहन्छु ।

तपाईंको जीवनको सबैभन्दा ठूलो लक्ष्य के हो?

हामी सबल छौं । अहिलेको समयमा नेपाली सिनेमा पनि उत्तिकै सबल छ । जतिसुकै बलिया र चम्किला बाहिरका चलचित्र आएपनि हाम्रो आफ्नै पहिचान छ भन्ने कुरा बुझाउनु छ ।

फिल्म क्षेत्रबाहिर तपाईंका योजनाहरु केही छन् ?

फिल्म क्षेत्रबाहेक मेरो योजना फिल्म नै छ । मलाई यहीँ कलाकारिता क्षेत्रमा र आफू जन्मेको ठाउँको लागि केही गर्नुछ । भगवानले मलाई जेको लागि पठाउनुभएको हो, म त्यहीँ रमाउन चाहन्छु ।

फिल्म इन्डष्ट्रीबाट अवकाश लिनेबारे कुनै योजना छ ?

जब समय आउँछ, अवकाश लिन पनि सकिन्छ ।

फिल्म क्षेत्रमा लागेर गुमाउनुभएका कुराहरु के के छन् ?

धेरै छन् । यही भन्न सकिन्न । स्वतन्त्रता गुमाईयो, धेरै कुराहरु गुमाईयो ।

जीवनको उत्तराद्र्ध कस्तो होस भन्ने चाहनुहुन्छ ?

उत्तराद्र्धमा समाजसेवा गर्न पाइयोस्, कला क्षेत्रको लागि केही गर्न सकियोस्, घरपरिवारसँग बितोस त्यही हो ।

यतिका वर्ष पार गरेर यहाँसम्म आइपुग्दा तपाईंको विचारमा आखिर जिन्दगी के रहेछ?

जिन्दगी कुनै शब्दमा बयान गर्न सकिने चिज हैन । ठूलाठूला किताबहरु, उपन्यास, शब्दकोशहरुले पनि जिन्दगीको परिभाषा दिन सकेको छैन । जिन्दगी भोगाई हो, आइपरेका कुराहरुसँग लड्ने लडाईं हो । जसले जसरी भोग्छ त्यसरी नै बुझ्छ ।

तपाईंको जिन्दगीमा दीपा श्री निरौलाको भूमिका कस्तो छ ?

जस्तो भूमिका मदनकृष्ण श्रेष्ठको जिन्दगीमा हरिवंश आचार्यको छ, त्यस्तै भूमिका दीपाश्री निरौलाको मेरो जिन्दगीमा छ । मजस्तो अव्यवस्थित मान्छेलाई व्यवस्थित बनाउन उहाँको ठूलो भूमिका छ । उहाँ धेरै नै केयरिङ, दयालु र कलामा समर्पित हुनुहुन्छ । उहाँ जस्तो काममा समर्पित मान्छे मैले देखेको छैन ।

-प्रस्तुतिः तपस्या राणा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *