तिलोत्तमाका सबै वडाध्यक्षमा कांग्रेसका उम्मेदवार सार्वजनिक – Nepal Press

तिलोत्तमाका सबै वडाध्यक्षमा कांग्रेसका उम्मेदवार सार्वजनिक

गठबन्धनमा रहेका दलहरुमा आशंका बढ्यो

रुपन्देही । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसले एकल रुपमा वडाअध्यक्षको उम्मेदवार सार्वजनिक गरेपछि सत्तागठन्धनमा रहेको दलहरुबीच आशंका थपिएको छ ।

१७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा १७ वटै वडा समितिले सर्वसम्मत निर्णय गरी उम्मेदवारको नाम नगर समितिमा सिफारिस गरिसकेका छन् । वडाअध्यक्षको नाम सिफारिस गरेपनि वडा सदस्यहरुको भने उम्मेदवार टुङ्गिएको छैन । गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रसँग अन्तिम चरणमा गठबन्धन भत्केको थियो । कांग्रेसले पेलेर लैजाने गरेको भन्दै जिल्लाका अन्य पालिमा गठबन्धन भएपनि तिलोत्तमामा भत्किएको थियो ।

आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दलहरु माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा समेतको चुनावी तालमेल भएकाले वडा सदस्यको उम्मेदवारपछि टुङ्ग्याउने गरी वडा अध्यक्षको उम्मेदवार मात्रै नगर समितिमा सिफारिस गरिएको हो ।

जसअनुसार तिलोत्तमा नगरपालिका वडा नं. १ मा जवानसिंह ठकुरी, २ मा दिलबहादुर भट्टराई, ३ मा कल्याण पौडेल, ४ मा गोविन्द भुसाल र वडा नं. ५ मा रमेश डुम्रेलाई वडा अध्यक्षमा सिफारिस गरिएको छ । त्यस्तैगरी वडा नं. ६ मा गणेश पाठक, वडा नं. ७ मा दिनमणी पंगेनी, ८ मा केशव अर्याल, वडा नं. ९ मा ध्रुव न्यौपाने, १० मा मानबहादुर गुरुङ र वडा नं. ११ मा तेजबहादुर कुवँरलाई सिफारिस गरिएको छ ।

त्यस्तै वडा अध्यक्षको लागि वडा नं. १२ मा छविलाल खरेल, वडा नं. १३ मा नारायण ढकाल, १४ मा अस्विन पौडेल, १५ मा शेरबहादुर थापा, १६ मा झवी भुसाल र वडा नं. १७ मा दानबहादुर चौधरीको नाम सिफारिस गरिएको हो ।

नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्माले पार्टीको अस्तित्व स्वीकार नगरी गठबन्धनमा नजाने बताएका छन् । उनले एकातिर गठबन्धनमा सहमति गर्ने भनेर भन्ने एकातिर सबै वडाध्यक्ष सार्वजनिक गरेर के गर्न खोजिएको हो प्रष्ट नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर