प्रो क्लब च्याम्पियनसिप क्रिकेट : रुपन्देही ११ र मलेसिया सेमिफाइनल प्रवेश – Nepal Press

प्रो क्लब च्याम्पियनसिप क्रिकेट : रुपन्देही ११ र मलेसिया सेमिफाइनल प्रवेश

रुपन्देही । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा जारी प्रो क्लब च्याम्पियनसिपको सेमिफाइनलमा रुपन्देही एघार र मलेसिया एघार प्रवेश गरेका छन् ।

प्रतियोगिताको समूह ए बाट मलेसिया, पुस स्पोर्ट दिल्ली र रुपन्देहीले अंक तालिकामा समान चार–चार नम्बर ल्याएपछि नेट रन रेट आधारमा मलेसिया र रुपन्देही सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

बुधवार भएको खेलमा दिल्लीले रुपन्देहीलाई चार विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा सबै विकेट गुमाएर एक सय तीन रन बनायो ।

विशाल विक्रम केसीले २९ र बसिर अहमदले २८ रन जोडे । दिल्लीका सबै बलरले दुई–दुई विकेट लिए । जबाफी ब्याटिङ गरेको दिल्लीले १८ ओभरमा लक्ष्य पूरा गर्‍यो । भिसेस सरोहले सर्वाधिक २६ रन बनाए । विक्रम भुसाल र विशाल विक्रम केसीले समान दुई–दुई विकेट लिए ।

अर्को खेलमा नेपाल आर्मीले भारतको उत्तर प्रदेशलाई सात विकेटले पराजित गर्दै समूह विजेता भएको छ । त्यसो त दुवै टिम सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पहिले ब्याटिङ गर्दै उत्तर प्रदेशले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय १४ रन बनायो । जसमा सुभम चौधरीले २७, राज यादव र नितिन रामले समान २१–२१ रन जोडे ।

नेपाल आर्मीका सुशान्त भारी, जितेन्द्र मुखिया र हरि चौहानले दुई–दुई विकेट लिए । जबाफी ब्याटिङ गरेको नेपाल आर्मीले आठ बल बाँकी छँदा लक्ष्य पूरा गर्‍यो ।

उसका लागि रोहित पौडेलले ३०, भीम सार्कीले २६ र सन्तोष कार्कीले २० रन जोडे । बिहीबार रुपन्देही र नेपाल आर्मी तथा उत्तर प्रदेश र मलेसियाबिच सेमिफाइनलमा खेल हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर