वायर्न क्वाटरफाइनलबाटै आउट, लगातार दुईपटकका फिफा वर्ष खेलाडी लेवान्डोस्कीको दुर्भाग्य – Nepal Press

वायर्न क्वाटरफाइनलबाटै आउट, लगातार दुईपटकका फिफा वर्ष खेलाडी लेवान्डोस्कीको दुर्भाग्य

लन्डन । लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो करियरको अन्तिम–अन्तिम समयतिर आइरहेका बेला पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्की खरो उत्रिए।
उनले फिफा वर्ष खेलाडी अवार्डका पछिल्ला लगातार दुई संस्करण जितेका छन्।

यो सिजन युरोपका शीर्ष घरेलु लिगमध्ये उनी सर्वाधिक गोल गर्ने खेलाडी रहेका छन्। उनले २९ खेलमा ३२ गोल गरिसकेका छन्। लेवान्डोस्की गत सिजन बुन्डेस लिगामा कीर्तिमानी गोल गर्दै युरोपियन गोल्डेन बुट पनि जितेका थिए।

उनी ४१ गोल गर्दै बुन्डेस लिगको एकै सिजन सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए। पछिल्लो प्रदर्शनका कारण लेवान्डोस्की यो सिजन पनि फिफा वर्ष खेलाडी अवार्डको बलियो हकदार देखिएका थिए।

लेवान्डोस्कीले यो सिजन ४१ खेलमा ४७ गोल गरिसकेका छन्। तर युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै अप्रत्यासितरुपमा बाहिरिएपछि लेवान्डोस्कीको लगातार तेस्रोपटक फिफा वर्ष खेलाडी अवार्ड जित्ने सम्भावना संकटमा परेको छ।

स्पेनिस क्लब भिल्लारियलसँग पहिलो लेगमा १–० गोलले पराजित भएको वायर्न मंगलबार राति भएको दोस्रो लेगमा १–१ गोलको बराबरीमा रोकिएपछि लगातार दोस्रो सिजन अन्तिम ८ बाटै बिदा भएको हो।

५२ औँ मिनेटमा लेवान्डोस्कीकै गोलमा अग्रता लिएको वायर्न अन्तिम समयमा बराबरीमा झरेको थियो। भिल्लारियलका खेलाडीले ८८ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। लेवान्डोस्की यो सिजन च्याम्पियन्स लिगमा पनि सर्वाधिक गोलकर्ता रहेका छन्।

उनले १३ गोल र ३ असिस्ट गरेका छन्। दोस्रो स्थानमा रहेका रियल म्याड्रिडका करिम बेन्जेमाको नाममा १२ गोल र एक असिस्ट रहेको छ। मंगलबार राति चेल्सीविरद्ध गोल गरेका बेन्जेमाले त्यसअघिका लगातार दई च्याम्पियन्स लिग खेलमा ह्याट्रिक गरेका थिए।

सन् २०१४ मा बायर्न म्युनिखमा आबद्ध भएका लेवान्डोस्कीले त्यसयता सन् २०१९–२० सिजन युरोपियन च्याम्पियन्स लिग उपाधि जितेका थिए। बायर्नले घरेलु लिगका पछिल्ला ९ संस्करण लगातार जितेको छ र यो सिजन पनि जित्ने सम्भावना बलियो रहेको छ। बुन्डेस लिगामा ६ सिजन सर्वाधिक गोलकर्ता रहेका लेवान्डोस्की दुई सिजन यो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए।

लेवान्डोस्की पोल्यान्डका लगातार ९ वर्षका वर्ष फुटबलर पनि हुन्। पोल्यान्डको सिनियर राष्ट्रिय टोलीबाट एक सय २९ खेल खेल्दै ७५ गोल गरिसकेका लेवान्डोस्की अब स्पेनिस क्लब बार्सिलोनामा जाने चर्चा चलिरहेको छ।

लेवान्डोस्की च्याम्पियन्स लिग इतिहासका तेस्रो सर्वाधिक गोलकर्ता हुन्। उनको नाममा ८६ गोल रहेको छ। क्रिस्टियानो रोनाल्डोले एक सय ४१ र लियोनल मेस्सीले एक सय २५ गोल गरेका छन्। करिम बेन्जेमाको नाममा ८३ गोल रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर