बिच भलिबल: क्वार्टरफाइनल र सेमिफाइनलका खेलहरु हुँदै – Nepal Press

बिच भलिबल: क्वार्टरफाइनल र सेमिफाइनलका खेलहरु हुँदै

पाल्पा । सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगितामा आज क्वार्टरफाइनल र सेमिफाइनलका खेलहरु हुनेछन् ।

पाल्लाको तानसेनस्थित रानीमहलमा जारी प्रतियोगितामा क्वार्टरफाइनलको पहिलो खेलमा समूह ‘ए’ को विजेता सशस्त्र प्रहरी बलको ‘एपिएफ’ क्लब र समूह ‘सी’को उपविजेता लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

एपिएफका रेश्मा भण्डारी र निरुता थगुन्नाको जोडीले यसअघि समूह चरणमा प्रदेश एक र मधेस प्रदेशलाई क्रमशः २–१, २–० ले हराएको थियो । लुम्बिनी नेपाल पुलिससँग २–० को सोझो सेटमा हारेको थियो ।

क्वार्टरफाइनलको दोस्रो खेलमा समूह ‘बी’ को विजेता सुदूरपश्चिम प्रदेश र समूह ‘डी’ को उपविजेता बागमती प्रदेश आमनेसामने हुनेछन् ।

भागरथी जोशी र बबिता बोहराको जोडी सुदूरपश्चिमले यसअघि कर्णाली प्रदेशलाई २–० ले हराएको थियो । बागमती भने गण्डकी प्रदेशसँग सोझो सेटमा नै हारेको थियो ।

यस्तै, तेस्रो खेलमा बिहान ९ बजे समूह ‘सी’ को विजेता पुलिसले समूह ‘ए’ को उपविजेता प्रदेश–१ सँग खेल्नेछ । पुलिस कमला पुनको कप्तानीमा र प्रदेश एक अञ्जना लिम्बुको कप्तानीमा मैदान उत्रिनेछ ।

अन्तिम क्वार्टरफाइनलमा समूह ‘डी’ को विजेता गण्डकी समूह ‘बी’ को उपविजेता कर्णाली प्रदेशबीचको खेल बिहान १० बजे हुनेछ ।

अन्तिम क्वार्टर फाइनलपछि सेमिफाइनलका दुई खेलहरु पनि शुक्रबारै हुने आयोजकले जानकारी दिएको छ ।

सञ्जय ममोरियल फाउन्डेसनको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा दुई विभाग र सात प्रदेशको सहभागिता थियो । जसमा मधेस प्रदेश समूह चरणबाटै बाहिरिसकेको छ ।

कालीगण्डकी किनारमा भइरहेको बिच भलिबलको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक सञ्जय ममोरियल फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर