सुस्माले जंगिदै भनिन्ः फेसबुक पेज बेचेको होइन, फेक न्यूज बनाउनेलाई पिट्दिन्छु – Nepal Press

सुस्माले जंगिदै भनिन्ः फेसबुक पेज बेचेको होइन, फेक न्यूज बनाउनेलाई पिट्दिन्छु

काठमाडौं । चलचित्रमा खासै सक्रिय नभए पनि नायिका सुस्मा कार्कीलाई गसिपको कमि हुँदैन । उनी प्राय कलाकारिताभन्दा बाहिरका कुराहरुबाट चर्चा अनि विवादमा आउने गर्छिन् ।

सुस्माको बारेमा आज एउटा समाचार भाइरल छ- उनले आफ्नो भेरिफाइड फेसबुक पेज बेचिदिइन् । साथै, इस्टाग्राममा राखेका सबै फोटोहरु पनि हटाइन् ।

सुस्माको अफिसियल फेसबुक पेजमा ९ लाख ४० हजार फलोअर्स थिए । उनको आफ्नै नामको सो पेज अहिले खुल्दैन । उनको पेज ‘पूर्णपाठ’ नामक एक न्यूज पोर्टलको फेसबुक पेजमा कन्भर्ट भएको पाइएको छ । पूर्णपाठको फेसबुक पेजको इन्ट्रोमा ‘सुस्मा कार्की इज पपुलर एक्ट्रेस अफ नेपाल’ लेखिएको छ भने फलोअर्सको संख्याले पनि सुष्माको पुरानो पेज यही भएको छनक मिल्छ ।

उक्त समाचारको सत्यताबारे नेपाल प्रेसले प्रश्न गर्दा उनले उत्तेजित प्रतिक्रिया दिएकी छन् । आफ्नो बारेमा फेक न्यूज बनाउनेहरुलाई ‘पिट्दीने’ र पक्राउ गराउने उनको चेतावनी छ । पूर्णपाठ अनलाइन आफ्नै भएको सुस्माले दावी गरिन् । इन्टाबाट तस्वीरहरु हटाएको भने उनले स्वीकारेकी छन् ।

सुस्मासित गरिएको संक्षिप्त संवाद:

यत्रो फलोअर्स भएको फेसबुक पेज किन बेच्नु भएको ?

कसले भन्यो बेचेको ? मैले बेचेकै छैन । अनलाइनहरुले जेपायो त्यही न्यूज हालिरहेका छन् ।

तर, तपाईंको पेज त खुल्दैन अहिले ? बरु पूर्णपाठ भन्ने पेजमा तपाईंको इन्ट्रो देखिन्छ नि ?

पूर्णपाठ भन्ने त मेरै होनि ।

तपाईं अनलाइन पोर्टल पनि चलाउनुहुन्छ ?

हो त । चलाइरहेको छु । मैले आफ्नो फेसबुक पेजमा पोष्ट गर्न छोडेको त एक वर्ष भइसक्यो ।

तर, तपाईंले फेसबुक पेज नै बिक्री गर्नुभएको भनेर समाचार आइरहेका छन् त ?

त्यो सबै फेक न्यूज हो । म छोड्दिन यस्तो न्यूज बनाउनेहरुलाई । दुईजनालाई त मैले साइबर ब्यूरोमा पनि पठाइसकेको छु । उनीहरुलाई पक्राउ गराउँछु ।

अनि, इन्स्टाग्राममा भएको फोटोहरु सबै किन हटाउनुभएको ?

मेरो आफ्नो पेजमा मैले जे गरे पनि किन अरुको टाउको दुख्यो । म मेरो मेन्टल… पर्सनल कुराले डिस्टर्व छु… त्यसैले झ्याउ लागेर डिलिट गरेको हो ।

भनेपछि अब फेसबुक इन्स्टा केही पनि चलाउनुहुन्न ?

फेसबुक चलाउँदिन इन्स्टा चलाउछु । अहिले पनि इन्स्टामा एक्टिभ नै छु । चलाइराख्या छु । ।अब नयाँ फोटोहरु हाल्छु नि ।

तपाईंले नेगेटिभ कमेन्ट सहन नसकेर यस्तो गरेको पनि भनिरहेका छन् ?

पिट्दिन्छु म त तिनीहरुलाई । किन ममाथि नेगेटिभ कमेन्ट आउने ? दिमाग त ठिक ठाउँमा छ तिनीहरुको ? मलाई स्क्रिनसट गरेर ह्वाट्सएपमा पठाइदिनु त कोकोले लेखेको छ ? मैले आफ्नो फेसबुक जेसुकै गरौं के मतलब अरुलाई ? सबलाई ठिक लगाउँछु ।

-प्रस्तुतिः तपस्या राणा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *