भन्सार जाँचपास अब चोभारबाटै, प्रधानमन्त्रीले गरे सुख्खा बन्दरगाह उद्घाटन – Nepal Press

भन्सार जाँचपास अब चोभारबाटै, प्रधानमन्त्रीले गरे सुख्खा बन्दरगाह उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुक्खा बन्दरगाह उद्घाटन गरेका छन् ।

वीरगञ्ज नाका हुँदै आएको मालबाहक ट्रकलाई प्रवेश गराएर बन्दरगाह सञ्चालनको आरम्भ गरिएको छ । बन्दरगाह सञ्चालन गरिएसँगै अब सीमा भन्सार कार्यालयबाट आएका सामान सुख्खा बन्दरगाह भन्सार कार्यालयमा जाँचपासको लागि बाटो खुलेको छ ।

यसअघि सडकमै भन्सार जाँचपास हुने गरेकोमा अब मालवाहक सवारी बन्दरगाहमा दर्ता हुने, पार्किङ हुने र आवश्यकताअनुसार गोदामको समेत प्रयोग गर्न पाउने छन् ।

वीरगञ्ज, भैरहवा, तातोपानी र विराटनगरबाट सामान आयात हुँदा त्यहाँको भन्सारमा सामान्य प्रक्रियामात्रै गरेर चोभारको सुख्खा बन्दरगाह ल्याएर भन्सार तिर्न सकिनेछ । ती ठाउँमै भन्सारको सबै काम सकेर सामान आयात हुने गरेको थियो ।

स्थानीयको विरोध र कोरोना महामारीका कारण निर्धारित मितिभन्दा करिब १ वर्ष ढिला बन्दरगाह निर्माण सकिएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघ ३ गते बन्दरगाह शिलान्यास गरेका थिए ।

बन्दरगाह निर्माणका शुरूमा छुट्ट्याइएको १ अर्ब ४० करोडबाट १२ प्रतिशत लागत बढेपछि १ अर्ब ६० करोड खर्च भएको छ । निर्माणमा विश्व बैंकले सहयोग गरेको थियो । आशिष र साक्षी ज्वाइन्ट भेन्चरले निर्माणको जिम्मा पाएको थियो ।

बन्दरगाह बनेको ठाउँमा यसअघि हिमाल सिमेन्टको कारखाना थियो । सिमेन्ट उद्योगको १ हजार ५४ रोपनीमध्ये २ सय २० रोपनीमा बन्दरगाह निर्माण भएको हो ।

निजगढ-काठमाडौं द्रूतमार्ग, भारतसँगको रेलमार्ग, केरुङ रेलमार्ग र बाहिरी चक्रपथसँग जोडिने यो बन्दरगाहमा व्यापारिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ । व्यापारीले आफ्नो सामानको भन्सार तिर्न कोलकता, वीरगञ्ज, विराटनगर नगइ चोभार सुख्खा बन्दरगाहबाट नै सबै काम गर्न सक्ने छन् ।

बन्दरगाहमा ५ सय कन्टेनर राख्न सकिने छ । पाँचवटा ब्लकको गोदाम बनेका छन् । १ हजार ३ सय वर्गमिटरमा खुला जाँच क्षेत्र रहेको छ । यस्तै, यहाँ सामान जाँच्ने स्टेसन, लोड-अनलोड, नापतौल र नियन्त्रण कक्ष, पार्किङ तथा सडक निर्माण गरिएको छ ।

२२० रोपनी जग्गामा फैलिएको उक्त बन्दरगाहमा ३ वटा मुख्य गेट, भन्सार, क्वारेन्टाइन र प्रशासनिक गरी ३ वटा भवन, ३ वटा गोदाम, ३ वटा सवारीसाधनको चेकजाँच गर्ने संरचना निर्माण भएको छ ।

तस्बिरहरू : गौरव पौडेल । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *