‘प्वाल परेको घैँटोजस्ता हौं हामी कलाकार, कहिल्यै भरिन्नौं’ – Nepal Press

‘प्वाल परेको घैँटोजस्ता हौं हामी कलाकार, कहिल्यै भरिन्नौं’

एउटा कलाकारलाई दर्शकले कहिले स्वीकार गर्ला ? त्यसका लागि कतिवटा फिल्म खेल्नुपर्ला ? कस्ता पात्रहरूको भूमिका निभाउनुपर्ला ? यो प्रश्नको उत्तर मसँग ठ्याक्कै छैन । कुन अवस्थामा स्वीकार गर्नुहुन्छ भनेर म अनभिज्ञ छु ।

मलाई लाग्छ, जब नजिकका साथीहरू र परिवारले स्वीकार गर्न थाल्छन्, तब दर्शकले अब स्वीकार्न थाल्नुभयो भन्ने हुँदोरहेछ । मिल्ने साथीहरू र परिवारले नजिकबाट चिनेका हुन्छन् । उहाँहरूले ‘मेरो साथी, मेरी छोरी कलाकार हो है’ भनिदिँदा चाहिँ ‘ओेके’ भन्ने हुँदोरहेछ ।

किनभने उहाँहरूलाई थाहा हुन्छ, हामी कहाँ रोइरहेका छौं वा अभिनय गरिरहेका छौं । मेरो फिल्म हेर्न बेस्ट फ्रेण्डहरू हलमा आउँथे । अनि म रोइरहेको सिनमा हाँसिदिन्थे । किनभने उनीहरूलाई मबारे राम्रोसँग थाहा छ ।

तर, जब फिल्ममा आफू रोइरहेको बेला उनीहरू पनि रोइदिन्छन्, आफू हाँसिरहेको बेला उनीहरू पनि हाँसिदिन्छन् । त्यसबेला चाहिँ लाग्छ, ‘म कलाकार भएँ ।’

मेरो परिवारमा मेरी ममी पहिलो दर्शक हो मेरो फिल्मको । उहाँ त छोरी जे गर्‍यो, इमोसनल भइदिइहाल्ने । बुबाले चाहिँ ‘धनपति’ र ‘आमा’ फिल्मपछि गर्व महसुस गर्नुभएको थियो । बुबाहरूको स्वभाव के हुन्छ भने उहाँहरू चाँडो प्रतिक्रिया दिनुहुन्न । हामी चाहिँ बुबाले प्रतिक्रिया देओस् भनेर बस्दा रहेछौं । अनि कहिले भनिदिनुहुन्छ भन्ने पखाइ नै हाम्रा लागि ऊर्जा रहेछ । तर, ‘धनपति’ र ‘आमा’ पछि मलाई बुबाको सल्लाहर आउन थाल्यो । मलाई कलाकारको रूपमा स्वीकार गर्नुभयो ।

०००

मलाई लाग्छ, जति छोटो भूमिका, उति नै बढी इम्प्याक्ट हान्न सकिन्छ लाग्छ । छोटो भूमिका राम्रोसँग लेखिएको हुन्छ । त्यसमा डिटेलमा काम गर्ने फुर्सद हुन्छ । अझै धेरै डिटेल्स थप्न सकिन्छ । छोटो समयमा जादु देखाउन सकिन्छ ।

पूरै फिल्ममा लामो भूमिका छ भने फिल्म राम्रो भए पनि नभए पनि दर्शकलाई असर गर्छ । कि त पात्र नै बाँचेर प्रस्तुत हुनुपर्‍यो । नत्र खाए खा, नखाए घिच भनेजस्तै भइदिन्छ । दर्शकले चाहे अभिनय सोचोस् या नसोचोस्, कलाकारको अनुहार याद गरिरहेको हुन्छ । तर, छोटो भूमिका भनेको जादु जस्तो हो ।

मलाई त लाग्छ, अलिकति काम गर्दै जानुभएका कलाकारले छोटा सिनहरू पनि गर्नुपर्छ । मलाई चाहिँ १०-१५ मिनेट लामो भूमिका भयो भने दर्शकमा अझैं धेरै असर छाड्न सक्छु जस्तै लाग्छ ।

हामीले मानिआएका क्राफ्टमा काम गर्ने निर्देशकहरूले राम्रा फिल्म बनाउनुहुन्छ । उहाँहरूले चाहिँ लिड रोलमा अफर गरिदिनुभए हुन्थ्यो लाग्छ । कथित व्यवसायिक सिनेमामा चाहिँ छोटो रोल भए पनि पुग्छ ।

०००

यो क्षेत्रमा सफलता भनेको के हो ? सफलताको मात चढ्दै गयो भने तपाईं मात्तिनुहुन्छ । जीवनमा यस्तो पल पनि आउनुपर्छ, जहाँ आफूले सोचेजस्तो नतिजा आएको नहोस् । त्यो असफलतालाई आफूले महसुस गर्न पाइयोस् । त्यस्तो हुँदा म आफैंले आफूलाई नियाल्न पाउँछु ।

‘ल सुरक्षा तँलाई किन रिस उठिरहेको छ ? तैंले के अपेक्षा गरेको थिइस् र ?’ यसरी प्रश्न गर्दै आफैंले आफैंलाई हेर्ने मौका पाइन्छ असफल हुँदा । तर, सफलतामा चाहिँ त्यस्तो हुँदैन । अर्को स्टेप चालिहालिन्छ । तर सोचेजस्तो नभइदिँदा चाहिँ आफूले आफैंभित्र के भइरहेको छ भनेर नियाल्न पाइन्छ ।

कलाकारका लागि त यस्ता असफलताहरू झनै राम्रो हो । आफ्नो इमोसनलाई आफैं नजिकबाट हेर्न पाउँदा झनै मजा आउँछ ।

अर्कातिर, कुनै चिज आफूले सोचेभन्दा राम्रो भइदियो । त्यसपछि त झनै धेरै उत्तरदायित्व आउँछन् असफलताको तुलनामा । सफलता दबाब पनि हो । अब के गर्ने ?

सफलतामा उत्साहहरू यति धेरै भइदिन्छ कि निराशाहरूमा पनि लगिदिन्छ । आफैंले आफैंलाई फेरि प्रमाणित गर्नुपर्ने हुन्छ सफलतामा । तर, हामी कलाकार कहिलेकाहीँ असफल हुँदा लुक्न पाउँछौं । हराउन पाउँछौं । कलाकारहरू हराउन, लुक्न पाइरहेका हुँदैनन् ।

एउटा कलाकार लाइफलाइटमा आइसकेपछि उसका कामहरू सफल भयो भने सबैले हेरिरहेका हुन्छन् । के गर्छ, कसरी बोल्छ भनेर नियालिरहेका हुन्छन् । त्यस्तो वातावरण कलाकारका लागि कहिलेकाहीँ घातक भइदिन्छ । त्यस्तो परिवेशले गर्दा हामीले क्राफ्टमा काम गर्न पाइरहेका हुँदैनौं । लुक्न पाइरहेका हुँदैनौं । एउटा गुफामा छिर्नुपर्छ कलाकारहरू बेलाबेलामा ।

मलाई लाग्छ, असफलता भनेको गुफा हो । त्यहाँ उसले आरामले आफ्नो काम गर्न सक्छ ।

०००

केही जान्ने जिज्ञासा, आफूलाई फैलाउने इच्छाले निरन्तर काम गरिरहेकी छु मैले कलाकारको रूपमा । हुन त इन्जिनियर पनि हुँ । तर, कलाकारको रूपमा चाहिँ हामी प्वाल परेको घैँटोजस्तै हौं । जति भरे पनि पानी चुहिरहेको हुन्छ ।

त्यो चुहिरहेको घैँटो भर्ने कौतुहलता पनि भइरहेको हुन्छ । त्यो प्वाल टाल्ने मन पनि हुँदैन । र त्यो घैँटो भरिरहनका लागि कहाँबाट सिक्ने, कहाँबाट फरक दृष्टिकोण निर्माण गर्ने, आफ्नै बुझाइलाई कहाँबाट चुनौती दिने भनेर सोचिरहेका हुन्छौं । त्यो जिज्ञासाले लागिपरिरहेका हुन्छौं ।

धेरै मानिसहरू अनेक पेशामा आबद्ध छन् । ती पेशामा भएमा मान्छेहरू पहिल्यै कोड अफ कन्डक्टमा हुन्छन् । उनीहरू पहिल्यै अनुशासनमा हुन्छन् । उनीहरू कहिलेकाहीँ अनुशासनबाट बाहिर निस्कन खोज्छन् । उनीहरू अनुशासनमा अराजकता खोजिरहेका हुन्छन् । हामी कलाकार चाहिँ अराजकतामा अनुशासन खोजिरहेका हुन्छौं ।

०००

सामाजिक संजालमा अहिले जुन अल्गोरिदम बनेको छ, त्यसलाई हाम्रो दिमागले भ्याउँछ जस्तो लाग्दैन । तर, त्यहाँ निजी कुरा राख्ने नि नराख्ने, व्यक्तिको नित्तान्त निजी निर्णय रह्यो । कसैलाई निजी कुरा राख्न मन लाग्छ भने राख्दा हुन्छ ।

मलाई चाहिँ निजी कुरा राख्न त्यति मन लाग्दैन । मलाई लाग्छ, कलाकारका केही चिज यस्तो होस्, जसले दर्शकलाई कौतुहल बनाइरहोस् । दर्शकले मेरो बारेमा सबै थाहा नपाउनुको सौन्दर्य जुन छ, म त्यसलाई काम राख्न चाहन्छु ।

मिडियाले व्यक्तिगत कुरा सोध्छन् । तर, दर्शकले त्यसरी सोधेको याद छैन मलाई । मिडियाले सोध्नु भनेको ठोसेको हो, तपाईंलाई चाख लाग्न सक्छ है भनेर ।

हामी सबैको फ्यान्टासीहरू हुन्छन्, जुन झ्याप्प एक्सप्रेस गर्दैनौं । तर, त्यसैलाई कोट्याइदियो भने त्यो अराजक हुन्छ । मिडियाले त्यो कोट्याउने काम मात्रै गर्छ । कसैलाई पनि कुनै कुराप्रति व्यक्तिगत रुचि बढ्ने भन्ने हँदैन, तर परिवेश सृजना भएपछि जसलाई पनि रुचि लाख्छ ।

तर, निजी कुरा कति बाहिर ल्याउने वा नल्याउने ? म निजी कुरा भन्न त्यति रुचाउँदिनँ । दर्शकलाई त्यसमा रुचि छ जस्तो पनि लाग्दैन । यदि रुचि नै छ भने पनि कामले ढाकिदिनुपर्‍यो त्यसलाई । काम नै हेर्न पाए हुन्थ्यो भन्ने तलतल सृजना गर्न सकियो भने त्यो प्राप्ति हो ।

०००

मेरो स्वभाव कस्तो छ भने निर्देशकले स्क्रिप्ट दिँदा ‘तपाईंको मात्रै पार्ट दिन्छु है’ भन्दा चित्त बुझ्दैन । ‘पूरै स्क्रिप्ट दिनुस्’ भन्छु ।

त्यस्तो स्वभावलाई कतिपय निर्देशकले रुचाउनुहुन्न रहेछ । तर, मलाई चाहिँ फिल्मको आइडिया के हो, त्यसले के नतिजा दिन्छ, मैले कस्तो महसुस गर्छु दर्शकको रूपमा, त्यसले अर्थ राख्छ ।

नेपालमा कुनै पनि आइडिया हिट भएपछि त्यसैको अरु भर्सन आउने चलन छ । कुनै पनि चिजको ब्रेक नै हुँदैन । अहिले महिलाकेन्द्रित फिल्म आइरहेका छन् । त्यो पनि निरन्तर जानुपर्छ जस्तो मलाई लाग्दैन । हाम्रोमा कुनै पनि चिजलाई ब्रेक गर्न सक्ने, ट्रान्सफर्म गर्न सक्ने क्षमता नै छैन ।

लैंगिक हिसाबमा पनि कहिलेकाहीँ महिलाकेन्द्रित होस् यो, यही नै गर्छु भनेर भन्दिनँ । मानौं, मलाई दुईवटा अफर आयो । एउटामा पुरुष मुख्य पात्र छ, अर्कोमा महिला मुख्य पात्र छ । तर, कुन फिल्म छनोट गर्ने, त्यो फिल्मको आइडियाले अर्थ राख्छ । त्यहाँ लैंगिक कुरै आउँदैन ।

(नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘योङ ट्यालेन्ट इन फिल्म’ शीर्षकमा अभिनेत्री सुरक्षा पन्त, निर्देशक केदार श्रेष्ठ र अभिनेता दिव्य देवले आफ्ना विचार राखेका थिए । सन्ध्या थापाले सहजीकरण गरेको उक्त छलफलमा अभिनेत्री पन्तले राखेका विचारहरूको सम्पादित अंश ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *