कांग्रेस बैठकमा अर्थतन्त्र ओरालो लागेको चिन्ता, तत्काल कदम चाल्न पोखरेलको माग – Nepal Press

कांग्रेस बैठकमा अर्थतन्त्र ओरालो लागेको चिन्ता, तत्काल कदम चाल्न पोखरेलको माग

काठमाडौं । मुलुकको अर्थतन्त्र ओरालो लाग्दै गरेको र तत्काल ‘सुधारको कदम’ आवश्यक रहेको प्रसंगले सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रवेश पाएको छ ।

चुनावी तालमेलबारे बढी केन्द्रीत रहेको कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखरेलले भने पार्टीकै नेतृत्वमा सरकार हुँदा अर्थतन्त्र अप्ठ्यारोमा परेको भन्दै प्रधानमन्त्रीसमेत रहेका सभाति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन् ।

उनले विप्रेषण घट्दो क्रममा रहेको र विदेशी मुद्राको संचितिमा कमी आउँदा राष्ट्रिय साख नै जोखिममा पर्न सक्ने चुनौती औल्याएका छन् ।

‘रेमिट्यान्स पनि कम आउने, कोभिडका कारण पर्यटक आगमनमा कमी हुने र भरोसायोग्य र विश्वसनीय लगानीको माहोल नबनाउँदा विदेशी लगानीसमेत धेरै नआउने कारणले गर्दा विदेशी विनिमय संचितिमा निरन्तर समस्या देखिन्छ’, पोखरेलले बैठकमा लिखित दस्तावेजसहित भनेका छन् ।

पोखरेलले एकातिर व्यापार घाटा चुलिदै जानु र अर्कोतिर सरकारी खर्चको अवस्था नाजुक बन्दै जानुले अर्थतन्त्र समस्यामा पर्दै गएको औल्याएका छन् ।

उनले तत्काल प्रधानमन्त्री कार्यालयमा विशेषज्ञहरुको टोली बनाई विकास खर्च उत्पादन र आर्थिक गतिविधि बढाउने गरी तीव्र बनाउनुपर्नेमा जोड समेत दिएका छन् ।

पोखरेलले चुनावी गठबन्धन गर्दा पार्टी संगठन दीर्घकालीन रुपमा कमजोर हुनेसमेत औल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *