सन्दर्भ पल शाह प्रकरण : ‘मञ्जुरी’ को कानूनी पाटो – Nepal Press

सन्दर्भ पल शाह प्रकरण : ‘मञ्जुरी’ को कानूनी पाटो

(नोटः यो मुद्दा हाल अनुसन्धानको क्रममा रहेको तथ्यलाई ध्यानमा राख्दै यस लेखले कुनै पनि तवरबाट न्यायिक उद्देश्यलाई हानि पुर्‍याउन खोजेको छैन । यो लेख केवल जानकारीमूलक उद्देश्यका लागि मात्रै लेखिएको हो ।)

एक १७ वर्षीय गायिकाले अभिनेता पल शाहविरुद्ध जवर्जस्ती करणी (बलात्कार) को अभियोगमा जाहेरी दिएपश्चात् यो विषयले सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई तताइरहेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख, एसपी प्रज्ज्वल महर्जनका अनुसार प्रहरीले विभिन्न माध्यम र स्रोतहरूबाट पल शाहविरुद्ध सान्दर्भिक प्रमाणहरू प्राप्त गरेको छ । यसै सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगले कसैलाई पनि यस्तो न्यायिक अनुसन्धान चलिरहेको मुद्दामा कुनै प्रकारको पक्षपाती हल्ला वा अफवाह नफैलाउन सूचना जारी गरेको छ ।

अभिनेता पल शाहका फ्यानहरूले भने दुवै जनाबीच मञ्जुरीमै सबै कुरा भएकाले जवर्जस्ती करणीको मुद्दालाई उठाउन नहुने भनी निरन्तर रूपमा दाबी गर्दै आएका छन् । तसर्थ यसै पृष्ठभूमिमा ‘मञ्जुरी’ शब्दलाई कानुनी रूपमा बुझ्नु अत्यावश्यक छ जुन यो लेखको मुख्य विषय हुनेछ ।

मञ्जुरी भनेको के हो ?

सामान्य बुझाइमा मञ्जुरीलाई इच्छाको स्वरूप मानिन्छ । मूलतः मञ्जुरी दुई किसिमका हुन्छन् ः प्रत्यक्ष मञ्जुरी, जुन स्पष्ट मौखिक वा लिखित रूपमा जाहेर गरिन्छ । अर्कोतर्फ, अप्रत्यक्ष मञ्जुरी सांकेतिक वा व्यवहारिक रूपमा गरिन्छ (केही परिस्थितिमा मौनताद्वारा पनि प्रकट हुन्छ) ।

ब्ल्याकको कानूनी शब्दकोशमा मञ्जुरीलाई अरूले राखेको प्रस्ताव वा इच्छा वा कुनै कार्य वा उद्देश्यको सम्बन्धमा दिइएको सम्झौता, अनुमोदन, वा अनुमति, विशेष गरी सक्षम व्यक्ति वा कानुनी रूपमा प्रभावकारी स्वीकृतिद्वारा स्वैच्छिक रूपमा दिइएको सहमतिको रूपमा परिभाषित गरिएको छ ।

मुलुकी अपराध संहिता, २०७४ ले मञ्जुरीलाई मौखिक वा लिखित रूपमा व्यक्त गरिने सहमति भनेर परिभाषित गरेको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, गल्ती, डर, कुनै किसिमको धम्कीको अधीनमा रही वा होस ठेगाना गुमाएको व्यक्ति वा अठार वर्षभन्दा कम उमेरका बालबालिका वा अनुचित प्रभावमा रहेका व्यक्तिले दिएको सहमतिलाई मञ्जुरी मान्न मिल्दैन ।

नाबालिगको मञ्जुरी किन मान्य हुँदैन ?

विश्वभरि ‘जवर्जस्ती करणी’ को अवधारणालाई दृष्टिगत गर्दा नाबालिगले दिएको मञ्जुरी ‘कानूनको नजरमा मञ्जुरी हुँदैन’ भन्ने बुझ्न सकिन्छ । दर्शन र चिकित्साको समन्वयात्मक दृष्टिकोणबाट हेर्दा, एउटा नाबालिग आफ्नो जीवनको बारेमा कुनै प्रकारको निर्णय गर्न मनोवैज्ञानिक रूपमा सक्षम हुँदैन भनेर कानुनले अनुमान गर्छ । एक नाबालिग तर्कसङ्गत रूपमा सोच्न वा कुनै पनि तरिकामा मञ्जुरी दिन असक्षम हुन्छ । यसर्थ व्यक्तिले कसैसँग शारीरिक सम्बन्ध राख्न सक्ने उमेर निर्धारण गर्न मञ्जुरीको कानुनी उमेर (सामान्यतया १८) तोकिएको छ ।

एक नाबालिगले कुनै वयस्क÷साबालकलाई शारीरिक सम्बन्धको लागि मञ्जुरीको संकेत गरे पनि, वयस्क÷साबालक कुनै पनि प्रकारले यौन गतिविधिमा संलग्न भएमा त्यस्तो गतिविधिलाई अपराधको रूपमा लिइन्छ । एउटा नाबालिग कानुनी हिसाबले आफूले दिएको मञ्जुरीको लागि कहिल्यै जबाफदेही हुँदैन । नाबालिगसँग उचित दूरी कायम राख्ने दायित्व वयस्कहरूको नै हुन्छ । नेपालको बालबालिका सम्बन्धी ऐन, २०७५ (२०१८) ले बालबालिकाको अधिकारको सम्मान, संरक्षण, प्रवर्द्धन र परिपूर्ति गरी बालबालिकाको सर्वोत्कृष्ट हितको रक्षा गर्न नाबालिगको मञ्जुरीलाई अमान्य संज्ञा दिएको छ । त्यसैले यो पृष्ठभूमिमा पल शाहले गरेको कार्य (यदि प्रमाणित भएमा) लाई जवर्जस्ती करणी मान्न सकिन्छ वा सकिँदैन भन्ने महत्त्वपूर्ण प्रश्न उठ्छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, नवलपुरले गत चैत ३ गते पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा जवर्जस्ती करणीको आरोपमा मुद्दा दायर गरेको थियो । अभियोग पत्रमा १४ वर्ष कैद सजायको माग दाबी राखिएको छ । यसमा पल शाह दोषी प्रमाणित भएमा कम्तीमा १२ वर्ष कैदमा बस्न सक्नेछन् ।

नेपालको मुलुकी अपराध संहिता, २०७४ मा पुरुषले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिने स्पष्ट व्यवस्था छ । नेपालको कानुनले नाबालकको मञ्जुरीलाई कडाइका साथ अमान्य घोषित गरेको छ । साथै, बालबालिकासम्बन्धी ऐन, २०७५ (२०१८) ले अठार वर्ष उमेर नपुगेका व्यक्तिहरूलाई ‘बालबालिका’ मानेको छ ।

तसर्थ, पल शाहका बहुसंख्यक समर्थकहरूले ‘जवर्जस्ती करणी’ लाई ‘जबरजस्ती वा हिंस्रक रूपमा गरिएको हुनुपर्छ’ भन्ने धारणा राखे पनि, नाबालिगसँगको करणी स्वैच्छिक सहमति वा जबरजस्ती यौन सम्पर्कसँग सम्बन्धित छैन । यसको प्रमुख विषय नाबालिगसँग जुनसुकै अवस्थामा पनि यौन गतिविधि गर्नु नै गैरकानुनी हो भन्ने हो । जवर्जस्ती करणी होइन भनी दाबी गर्न नाबालिगको मञ्जुरी पर्याप्त हुँदैन । नाबालिग भएको कारणले गर्दा गायिका कुनै पनि कानुनी दाबीबाट मुक्त छिन् । वास्तवमा यस्तो गैरकानुनी कार्य रोक्न पल शाहले वयस्कको रूपमा कानूनी दायित्व निर्वाह गर्नु पर्ने हुन्छ ।

लेखक अधिवक्ता हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर