आज नेपाल र पीएनजी खेल्दै, क्रमशः युवा प्रतिभाको टिम बन्नेमा दासानायके विश्वस्त – Nepal Press

आज नेपाल र पीएनजी खेल्दै, क्रमशः युवा प्रतिभाको टिम बन्नेमा दासानायके विश्वस्त

काठमाडौं । पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि घरेलु मैदानमा दुईवटा एकदिवसीय खेल खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल ९ बजे सुरु हुनेछ ।

खेलअघिको पत्रकार सम्मेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक पुवुदु दासानायकेले टोलीमा युवा खेलाडीहरु रहेकाले विस्तारै टिम बन्दै जाने प्रतिक्रिया दिएका छन् ।

‘नेपालमा क्रिकेटको क्रेज धेरै छ, खेलका दौरानमा त्यो अनुभव गर्न पाउनेछौं । युवा टोली छ, नयाँ प्रतिभाहरु आउँदैछन्, टिम विस्तारै बिल्ड हुँदैछ,’ दासानायकेलले भने, ‘नेपाल क्रिकेटका लागि फरक देश हो । समर्थकहरू क्रेजी छन्, ग्राउन्डमा दर्शकहरू भरिभराउन हुने पिएनजीले अपेक्षा गर्न सक्छ ।’

हालै युनाईटेड अरब इमिरेट्स (यूएई)मा सम्मन्न विश्वकप लिग–२ अन्तरगतको त्रिदेशीय सिरिजमा पीएनजीसँग खेलेका दुवै खेलमा नेपालले जित निकालेको थियो । नेपालले पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा सात विकेटले पीएनजीलाई हराएको थियो । आज हुने खेलमा पनि जित निकाल्ने लक्ष्यसहित नेपाली टोली मैदान उत्रने छ ।

यस्तै खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै पिएनजीका प्रशिक्षक कार्ल सान्ड्रीले नेपाल जस्तो क्वालिटी टोलीसँग खेल्न पाउनु आफू र टोलीका लागि निकै नै राम्रो भएको बताए ।

‘नेपाल जस्तो क्वालिटी भएको टिमसँग खेल्नु हाम्रो लागि निकै राम्रो कुरा हो । हामी उत्साहित छौं । नेपालसँग खेलेर हामी आफूमा केही सुधार गर्न सक्छौं,’ उनले भने ।

आज र भोलि पीएनजीसँगको एकदिवसीय खेलपछि नेपालले मलेसियालाई समेट्दै चैत १४ गतेदेखि २१ गतेसम्म त्रिदेशीय टी–२० श्रृङखला खेल्नेछ ।

एकदिवसीय र टी–२० श्रृङखलाका लागि समग्रमा १ करोड ४२ लाख ६० हजार खर्च हुने प्रारम्भिक अनुमान रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
क्यानका अनुसार एकदिवसीय श्रृङखलाको म्यान अफ दी म्याचले एक सय ५० डलर र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले तीन सय डलर पाउने छन् ।

यस्तै, ट्वान्टी २० को म्यान अफ दी म्याचले एक सय डलर र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पाँच सय डलर पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर