म समाजबाट परिचालित हुँ, एउटा तप्काको चित्त दुखोस् नै भन्ने थियो : प्रकाश सपुत (भिडिओ) – Nepal Press

म समाजबाट परिचालित हुँ, एउटा तप्काको चित्त दुखोस् नै भन्ने थियो : प्रकाश सपुत (भिडिओ)

काठमाडौं । गायक प्रकाश सपुतले कसैसँग डराएर वा झुकेर आफूले ‘पीर’ को भिडियो डिलिट नगरेको बताएका छन् ।

जनयुद्धपछि माथि उठेको एउटा तप्कालाई टार्गेट गरेर आफूले गीत बनाएको तर, अर्को पिडित समूहले पनि चित्त दुखाएपछि आफू सोच्न वाध्य भएको उनले प्रष्टीकरण दिए ।

सपुतले ‘पीर’ माथि उत्पन्न विवाद र उठेका प्रश्नहरुबारे जवाफ दिन आज पत्रकार सम्मेलनको आयोजना गरेका थिए । त्यस क्रममा उनले आफू कतैबाट परिचालित नभएको बताए ।

उनले भने, ‘मैले आम मानिसले भोगेको समस्या देखाउन खोजेको हो, आम मानिसको पीर भन्न खोजेको हो । त्यस्ता पिडित मानिसहरुको विगतको कोट्याउँदा यस्तो कथा बन्यो ।’

तपाईंलाई कसैले परिचालित गरेको आरोप छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले यस्तो जवाफ दिए :
‘म यो समाजबाट परिचालित छु । म मानिसहरुको कथा आम मानिसले भोगेको समस्या र कथाव्यथाबाट परिचालित छु । अरु कुनै शक्तिले मलाई परिचालित गर्न सक्दैन ।’

 

भिडियो प्राइभेट गर्दैमा गीतको हत्या नभएको उनले बताए ।

‘मैले गीत डिलिट नै गरेर छोडेको भए म कसैसँग डराएको भन्न मिल्थ्यो । यसलाई भावनात्मक हिसाबले सोचिदिनुहोला । मैले जनयुद्धबाट माथि उठेको एउटा तप्काको चित्त दुखाउनै खोजेको थिएँ । तर, जसलाई पिडितको रुपमा देखाएँ उनीहरुले पनि चित्त दुखाएपछि सोच्न वाध्य भएको हुँ । भिडियो सम्पादन भए पनि मैले दिन खोजेको सन्देश यथावत छ,’ उनले भने ।

कार्यक्रममा उपस्थित अभिनेत्री तथा गीतकी कलाकार सुरक्षा पन्तले आफू भए भिडियो डिलिट नगर्ने बताइन् ।

उनले भनिन्, ‘सर्जकले आफ्नो कुरा सुन्ने मात्र होइन, अरुका कुरा पनि सुन्नुपर्छ । यही अरुका कुरा सुनेर प्रकाशजीले गीत हटाउनुभएको हो । तर, उहाँको ठाउँमा भएको भए हटाउने थिइनँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *