तातोपानी नाका नियमित सञ्चालनका लागि पहल गर्ने परराष्ट्रमन्त्री खड्काको प्रतिबद्धता – Nepal Press

तातोपानी नाका नियमित सञ्चालनका लागि पहल गर्ने परराष्ट्रमन्त्री खड्काको प्रतिबद्धता

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सीमा नाकाको समस्या समाधानको लागि पहल गर्ने बताएका छन् ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ज्ञापनपत्र बुझ्दै मन्त्री खड्काले चीनसँगको आयात–निर्यातमा देखिएको समस्या समाधानको लागि पहल गर्ने बताएका हुन् ।

सिन्धुपाल्चोचको तातोपानी नाका तथा रसुवाको नाकाबाट केही मात्रामा आयात भए पनि निर्यात ठप्प रहेको भन्दै मन्त्री खड्काले आयात तथा निर्यात दुवै सहज हुने व्यवस्थाका लागि आफूले चिनियाँ विदेशमन्त्री वाङ यीसँग छलफल गर्ने बताए ।

आयात सहज नहुँदा नेपाली व्यापारीले समस्या झेल्नुको साथै मूल्यवद्धिलगायतका समस्या देखिएको र निर्यात नहुँदा नेपालको अर्थतन्त्र नै जोखिममा पर्ने भन्दै मन्त्री खड्काले नाका खोल्न सक्दो पहल हुने बताएका हुन् ।

कोरोना महामारीका कारण बन्द भएको नाकामा चिनियाँ पक्षले निर्यात खुलाए पनि आयात नखुलाउँदा नेपालबाट निर्यात ठप्प छ । मन्त्री खड्कालाई ध्यानाकर्षणपत्र बुझाउँदै उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष होमबहादुर बस्नेतले २०७२ सालको भूकम्पपछि बन्द रहेको तातोपानी नाका पहिलेको अवस्थामा फर्कन नसक्दा र निर्यात ठप्प हुँदा झण्डै १० हजार जनाले प्रत्यक्ष रोजगारी गुमाउनुको साथै व्यापार व्यवसाय धरासायी बनेको गुनासो गरे ।

नाका नियमित नहुँदा चालक, परिचालक, लोडरलगायतका स्वरोजगार मजदुरहरुको काम पनि बन्द भएको छ । अध्यक्ष बस्नेतसँगै निवर्तमान् अध्यक्ष वेदबहादुर श्रेष्ठ, उपाध्यक्ष सूर्यबहादुर कार्की, महासचिव सम्भुबहादुर तिमल्सिनालगायतको टोली पराराष्ट्रमन्त्रीको निवास पुगेर ध्यानाकर्षणपत्र बुझाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *