ग्यास विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न अर्थमन्त्री र ऊर्जामन्त्रीको आग्रह – Nepal Press

ग्यास विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न अर्थमन्त्री र ऊर्जामन्त्रीको आग्रह

काठमाडौं । ग्यास विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले आग्रह गरेका छन् ।

अर्थमन्त्रीले मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेसनको उद्घाटन गर्दै नेपालको व्यापार घाटा कम गर्न विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरेका हुन् ।
३३/११ केभीको मुसिकोट सबस्टेसनको अर्थमन्त्री र ऊर्जामन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । सबस्टेसनबाट रुकुम पश्चिम, रुकुमपूर्व र जाजरकोटका केही ठाउँहरुमा विद्युत आपूर्ति गरिनेछ ।

कार्यक्रममा अर्थमन्त्री शर्माले अमेरिकी डलरमा खरिद गरेर ल्याइएको खाना पकाउने ग्याँसलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरे । आफूले सुरु गरेको ‘उज्यालो रुकुम’ अभियान अहिले ‘उज्यालो नेपाल’मा परिणत भएको चर्चा गर्दै पूर्व ऊर्जामन्त्रीसमेत रहेका शर्माले विद्युतीकरणका लागि बजेट अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री भुसालले विगतमा वत्ति बाल्न पाउनु नै ठूलो कुरा भएको उल्लेख गर्दै अब पर्याप्त विद्युत रहेकोले भान्सामा प्रयोग भइरहेको ग्याँसलाई विस्थापित गरी इन्डक्सन चुलो प्रयोग गर्न आग्रह गरिन् ।

उनले दुई वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत पुर्याउने र विद्युत सेवालाई भरपर्दो तथा गुणस्तरीय बनाउने प्रयासका साथ काम भइरहेको बताइन् ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको पूर्ण विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताए ।

सल्यान सित्तलपाटी सबस्टेसनबाट करिब ८० किलोमिटर लामो ३३ केभी लाइनमार्फत विद्युत लगेर सबस्टेसन सञ्चालनमा ल्याएको हो । सबस्टेसनमा ३ एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहेको छ । सबस्टेसन सञ्चालनमा आएपछि रुकुममा विद्युतको भोल्टेजमा उल्लेखनीय सुधार, लाइनमा नियमितता र प्राविधिक चुहावटमा कमी आएको छ ।

जाजरकोटको कुदु सबस्टेसनबाट पनि जिल्लाभरी विद्युत आपूर्ति गर्न सकिने व्यवस्था मिलाइएको छ । यसले गर्दा सल्यान या दाङको तुलसीपुरमा विद्युत अवरोध हुँदा पनि रुकुम पश्चिम तथा पूर्वमा बत्ति बाल्न सकिन्छ ।

सबस्टेसनबाट विद्युत आपूर्तिका लागि फिडरहरु निर्माण भइरहेको छ । अहिले एउटा फिडरबाट मात्र जिल्लाभरी विद्युत आपूर्ति भइरहेको छ । बाँकी फिडरहरु सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्तिमा झनै सुधार आउने छ । रुकुम पूर्वमा निजी क्षेत्रले निर्माण गरिरहेको ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजनाको विद्युत यही मुसिकोट सबस्टेसनमा जोडिने छ ।

सबस्टेसन निर्माण २०७२ को असारबाट सुरु भएको थियो । तर, सुरुमा निर्माण प्रस्ताव गरिएको स्थान पहिरोको जोखिम रहेकाले नयाँ ठाउँ खोज्न समय लाग्दा काम प्रभावित भएको थियो । सबस्टेसन निर्माणका लागि वाइबा इन्फ्राटेक प्रालिसँग ८ करोड ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

रुकुम पश्चिममा ३ वटा नगरपालिका र ३ वटा गाउँपालिका सबैमा विद्युत पुगेको छ । सबै वडाहरुमा भने विद्युत पुगेको छैन । पालिकाहरुको वडा संख्या ७३ रहेकोमा ५२ वटा वडामा विद्युत पुगेको छ ।

राष्ट्रिय प्रसारण लाइनबाट ७० प्रतिशत विद्युतीकरण भएको छ । स्थानीय लघुजलविद्युतसहित रुकुम पश्चिमको समग्र विद्युतीकरण ८५ प्रतिशत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *