मेघराज काठमाडौंबाट दौडेरै पाँच दिनमा झापाको दमक पुगे – Nepal Press

मेघराज काठमाडौंबाट दौडेरै पाँच दिनमा झापाको दमक पुगे

५८ घण्टा २५ सेकेन्डमै पार गरे ४०८ किलोमिटर दूरी

झापा । दमक–८ का मेघराज राई खेलकुदका माध्यमबाट कीर्तिमानी बन्न चाहन्थे । विशेष गरी म्याराथनमा अब्बल राई एक दशकदेखि खेलकुदमै संघर्ष गरिरहेका छन् ।
उनी मोफसलमा हुने साना ठूला प्रतियोगितामा सहभागी बन्छन् । साथै  दुई वर्षदेखि उनी नयाँ सोचका साथ अघि बढिरहेका थिए । ‘दुई वर्षअघि नयाँ सोच आयो । काठमाडौं टु दमक म्याराथन गर्ने,’ राई भन्छन्, ‘कुनै न कुनै दिन यो सोच पूरा गरेर नयाँ कृतिमान राख्छु भन्नेमा थिएँ ।’
लक्ष्यअनुसार उनले दुई वर्षदेखि दैनिक दुई घण्टा अभ्यास गर्दै आएका थिए । उनको यही पुरानो सपना शनिबार साकार भएको छ । उनले काठमाडौंको दशरथ रंगशालादेखि दमकसम्मको ४०८ किलोमिटर दूरी दौडेरै पार गरे । यसका लागि उनलाई ५८ घण्टा २५ सेकेन्ड लागेको छ । ‘खेलबाटै केही गर्न सकिन्छ भन्ने मेरो लक्ष्यमा आज एउटा इँट्टा थपेको छु । पाँच दिनमा काडमाडौँदेखि दौडेर झापासम्मको यात्रा पूरा गरेँ,’ उनले भने, ‘यति लामो दूरी म्याराथन गरेर पार गर्नु एउटा रेकर्ड हो । अहिलेसम्म कसैले पार गरेको छैन ।’
३० फागुन बिहान काठमाडौंबाट हिँडेका उनी शनिबार दमक आइपुगे । ‘स्वास्थ्यका लागि दौड राम्रो हो,’ उनी भन्छन्, ‘राष्ट्र चिनाउने माध्यम पनि खेलकुद हो ।’ व्यक्तिले नै यति ठूलो आँट र साहस गर्दा पनि राज्य पक्षबाट सहयोग नपाएको उनको गुनासो छ । ‘मलाई विभिन्न संघसंस्थाले दमकसम्म दौडन सहयोग गरे । तर, सरकारी पक्षबाट केही सहयोग भएन,’ उनी भन्छन्, ‘यसले राज्य पक्ष खेलाडीका लागि उदार छैन भन्ने देखाउँछ ।’
उनले गृह मन्त्रालयबाट स्वीकृति लिएर दौड सुरु गरेका हुन् । ‘गृहबाट स्वीकृति लिएकाले प्रहरीले ठाउँ ठाउँमा स्कर्टिङ चाहिँ गर्‍यो,’ उनले भने । ‘दौडने क्रममा उनले निकै समस्या पनि भोगे । उनको स्वास्थ्यमा कठिनाइ आयो । ‘खुट्टामा धेरै नै समस्या आयो । तर, मैले हिम्मत हारिन,’ उनी भन्छन्, ‘हिम्मत र उत्साहले नै ४०८ किलोमिटरको दौड पूरा गरेँ । आँट गरे सकिने रहेछ भन्ने उदाहरण भयो ।’
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर