नयाँ पुस्ता हावी हुन थालेको नेपाल क्रिकेटलाई मध्यक्रमबाट ‘टेको’ दिइरहेका आरिफ र रोहित – Nepal Press

नयाँ पुस्ता हावी हुन थालेको नेपाल क्रिकेटलाई मध्यक्रमबाट ‘टेको’ दिइरहेका आरिफ र रोहित

काठमाडौँ । पुरानो पुस्ता बाहिरिन लाग्दा नेपाली क्रिकेट टोलीको प्रदर्शनमा केही अस्थिरताहरु देखिरहेका छन्। कहिले बलिङ राम्रो हुने त कहिले ब्याटिङ सुरुवात झुर हुने ।

कहिले ब्याटिङ सुरुवात झुर हुने त कहिले बलिङ सशक्त देखिने। कहिले आशा गरिएका ब्याट्सम्यानहरु सस्तैमा पवेलियन फर्कने त कहिले तल्लोक्रमका ब्याट्सम्यानहरुले निर्णायक प्रदर्शन गर्ने। कहिले आशा गरिएका बलरहरु महँगो बन्ने त कहिले पार्ट टाइम बलरहरु हावी हुने।

यी सबै ‘अप्स एन्ड डाउन’बीच नेपाली क्रिकेटमा प्रतिभावान खेलाडीको अभाव नरहेकोमा कुनै सन्देह देखिँदैन। अभाव एउटै देखिन्छ– स्थीर प्रदर्शनको। त्यसमा पनि सँधै चिन्ता ब्याटिङकै देखिन्छ।

गत वर्ष घरेलु मैदानमा आयोजित त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामार्फत कुशल भुर्तेल र आसिफ शेखले नेपालको ओपनिङ ब्याटिङ शसक्त रहने संकेत दिएका थिए।

उनिहरुले दुई खेलमा सतकीय साझेदारी गरेका थिए। नेपालले उक्त प्रतियोगिताका तीन खेलमा दुई सयभन्दा बढी रन बनाएको थियो। त्यसयता यो जोडीले नेपाललाई गतिलो सुरुवात दिन सकिरहेको छैन। व्यक्तिगत प्रदर्शन पनि स्थिर देखिँदैन ।

यतिबेला नेपाली क्रिकेटलाई मध्यक्रमबाट रोहित पौडेल र आरिफ शेखले ुटेकोु दिइरहेका छन्। क्रिकेट त्यसमा पनि एकदिवशीय फर्म्याटमा मध्यक्रमका ब्याट्सम्यानहरुको ठुलो भूमिका रहन्छ। टिकेर खेल्दै टोलीको संकट टार्न सक्ने क्षमता मध्यक्रमबाट अपेक्षा गरिन्छ। त्यही अपेक्षा यी दुई ब्याट्सम्यानले पुरा गरिरहेका छन्।

यूएईमा जारी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत बुधबार यी दुई ब्याट्सम्यानले देखाएको आत्मविश्वास नेपाली क्रिकेटका लागि अर्थपूर्ण रहने छ।

नेपालले ४२ रन जोड्दा ४ विकेट गुमाएपछि २ सय ५ रनको लक्ष्य दिएको पपुआ न्युगिनी–पीएनजी हावी हुन सक्ने देखिएको थियो। लयमा रहेका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीसहित पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र आसिफ शेख आउट भइसकेका थिए।

रोहित र आरिफले आफुमाथी विश्वास गरे। उनिहरुल‍े पाचौँ विकेटका लागि एक सय रनको साझेदारी गरेपछि नेपाल खेल जित्नसक्ने स्थितीमा बलियो देखिएको थियो। यो जोडीले २२.२ ओभरमा उक्त साझेदारी गरेको थियो।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले कुनैपनि विकेटका लागि सतकीय साझेदारी गरेको यो पहिलोपटक हो। रोहितले ६० र आरिफले ४९ रन बनाए। रोहितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धसतकको संख्या ४ पुर्‍याउँदै ज्ञानेन्द्र मल्लको नाममा रहेको राष्ट्रिय कीर्तिमान पनि बराबरी गरे।

उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि बनाएका छन्। पीएनजीविरुद्धको पारीपछि उनले पारस खड्कालाई उछिन्दै ३ सय ६३ रन पुर्‍याएका छन्। उनले १२ खेलमा यो रन जोडेका हुन्।

ज्ञानेन्द्रले १६ खेलमा ४ सय १८ रन बनाएका छन्। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धसतक पुरा गर्ने विश्व कीर्तिमान रोहितको नाममा छ। उनले सन् २०१९ मा यूएईमा घरेलु टोलीविरुद्ध अर्धसतक बनाउँदा उनको उमेर १६ वर्ष मात्र थियो। त्यसयता उनले उच्चस्तरको क्षमता प्रदर्शन गरिरहेका छन्। विभिन्न विकेटका लागि भएको साझेदारीको राष्ट्रिय कीर्तिमान पनि रोहितको नाममा छ।

उनले तेस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग ८९, पाचौँ विकेटका आरिफ शेखसँग एक सय रन, सातौँ विकेटका लागि करन केसीसँग ६६ रन र आठौँ विकेटका लागि सोमपाल कामीसँग गरेको ५२ रनको साझेदारी राष्ट्रिय कीर्तिमानका रुपमा रहेको छ।

नेपालले यसअघि अन्तिम एकदिवशीय अन्तर्राष्ट्रिय प्रतियोगिता गत सेप्टेम्बरमा खेलेको थियो ओमानमा, विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृंखला। त्यतिबेला रोहितले पहिलो खेलमा अमेरिकाविरुद्ध अविजित ६२ र दोस्रो खेलमा ओमानविरुद्ध २० रन बनाएका थिए। उनी टी-२० विश्वकप छनोटका लागि भने टोलीमा थिएनन्।

सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा सतकरअर्धसतक बनाउन नसकेपनि आरिफले मध्यक्रमबाट स्थिर प्रदर्शन र राम्रो साझेदारी गरिरहेका छन्। आईसीसी टी-२० विश्वकपको विश्वस्तरको छनोटका लागि दुई महिनाअघि ओमान जाँदा आरिफले हरेक पालीमा दोहोरो अंकमा रन जोडेका थिए।

ओमानविरुद्ध भएको खेलमा नेपालले ८७ रनमा ७ विकेट गुमाएपनि आरिफले ३८ रनको पालि खेल्दै घरेलु टोलीलाई एक सय १८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। त्यो खेल नेपालले जितेको थियो। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आरिफले दोस्रो विकेटका लागि पारस खड्कासँग गरेको एक सय ४५ रनको साझेदारी र पाचौँ विकेटका लागि विनोद भण्डारीसँग गरेको ६१ रनको साझेदारी राष्ट्रिय कीर्तिमान रहेको छ।

आशा गरिएका ब्याट्सम्यानहरु जम्न नसकिरहेको अवस्थामा यी दुईको व्यक्तिगत प्रदर्शन र उनिहरुले गर्ने साझेदारीले नेपाली क्रिकेटलाई ‘ड्राइभ’ गर्न सक्छ। यूएई भ्रमणमा नेपालले अब तीन खेल खेल्न बाँकी छ। बलियो मानिएको घरेलु टोलीसँग दुई खेल खेल्ने छ भने बाँकी एक खेल पीएनजीविरुद्ध हुने छ।

त्यसपछि मार्चको अन्तिम साता नेपालले घरेलु मैदानमा पीएनजीसँग दुई खेलको शृंखला र विश्वकप लिग–२ कै त्रिकोणात्मक शृंखला पनि खेल्ने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर