स्कोरकार्डले झुक्यायो : पीएनजीविरुद्ध पूरा भएको थिएन आरिफ शेखको अर्धसतक – Nepal Press

स्कोरकार्डले झुक्यायो : पीएनजीविरुद्ध पूरा भएको थिएन आरिफ शेखको अर्धसतक

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत हिजो भएको पपुवा न्यूगिनीविरुद्धको म्याचमा नेपालका मध्यक्रमका ब्याट्सम्यानद्वय रोहितकुमार पौडेल र आरिफ सेखले शतकीय साझेदारी गरे । उक्त साझेदारी नेपालको जितको आधार समेत बन्यो ।

दबाबको अवस्थामा उत्कृष्ट साझेदारी गर्ने क्रममा दुवै ब्याट्सम्यानले व्यक्तिगत अर्धसतक बनाएको सुरुवाती स्कोरकार्डमा देखिएको थियो । समाचारहरूमा पनि रोहित र आरिफ दुवैले अर्धसतक बनाएको भनेर लेखिए । तर, रोहितको अर्धसतक सत्य भए पनि आरिफले भने ५० रन पूरा नगरेको पाइएको छ ।

ओडीआइमा आरिफले यसअघि अर्धसतक बनाएका थिएनन् । त्यसैले यो उनका निम्ति पनि माइलस्टोन थियो । स्कोरबोर्डमा ५० रन देखाइएपछि आरिफ स्वयम्ले पनि ब्याट उठाएर सेलिब्रेसन गरे । तर, आइसीसीको पछिल्लो आधिकारिक विवरणमा उनको अर्धसतक पूरा नभएको पाइएको हो ।

क्रिकइन्फो डटकमले पनि सुरूआति स्कोरकार्डमा आरिफ ५३ रन बनाएर आउट भएको उल्लेख उल्लेख गरेको थियो । तर, पछि त्यसलाई सच्याएर ४९ रन बनाएको छ । अर्थात् आरिफ आफ्नो पहिलो अर्धसतकबाट १ रनले चुकेका छन् । उनले ८३ बलको सामना गरेका थिए । आरिफको घटाइएको ४ रन रोहितकोमा थपिएको छ । उनको व्यक्तिगत स्कोर सुरूमा ५६ उल्लेख भएकोमा अहिले ६० बनाइएको छ ।

नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासले पनि आरिफको अर्धसतक पुष्टि नभएको बताए । यस विषयमा आफूले थप बुझ्न प्रयास गरेको जानकारी दिए ।

दासले भने, ‘आईसीसीको अपडेटको हिसाबले सुरुमा ५० देखाएको हो । म्याचको स्कोरमा ५० भनेर अनाउन्स गरेपछि आरिफले पनि हात उठाएको थियो । पछि सच्याएर ४९ बनाएको छ । आइसीसीको स्कोरकार्डमा पनि ४९ देखाएको छ । मैले बिहान पनि म्यासेज पठाएको छु, यस विषयमा भेरिफाइ गर्न । अहिलेलाई अर्धसतक मान्न मिल्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर