प्रचण्डको शंका चिर्दै प्रधानमन्त्रीले भने- हल्लाको पछाडि नलाग्नुस् – Nepal Press

प्रचण्डको शंका चिर्दै प्रधानमन्त्रीले भने- हल्लाको पछाडि नलाग्नुस्

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचन हुँदैन भन्ने हल्लाका पछाडि नलाग्न सत्तारुढ गठबन्धनका नेताहरूलाई आग्रह गरेका छन् ।

आज बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले निर्वाचन नहुने कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।

बालुवाटारमा भएको छलफलका दौरान माओवादी अध्यक्ष प्रचण्डले नै निर्वाचन नहुने हल्ला चलेको सन्दर्भ झिकेका थिए । ‘चुनाव हुँदैन भन्ने चर्चा चलिरहेको छ । किन हो प्रधानमन्त्रीज्यू’ ? प्रचण्डको प्रश्न थियो ।

जवाफमा प्रधानमन्त्री देउवाले चुनावको अघिल्लो दिनसम्म हल्ला चलिरहने बताए । ‘यस्तै हो चुनावको अघिल्लो दिनसम्म चुनाव हुदैन भन्ने हल्ला चलिरहन्छ’, देउवाको जवाफ थियो ।

सो क्रममा स्थानीय निर्वाचनमा तालमेलबारे कुराकानी भएको बताइन्छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीभित्र गठनबन्धन विरुद्धमा आवाज उठेपनि आफू सकारात्मक रहेको बताएका थिए । उनले आगामि साता पार्टीको बैठक बोलाएर चुनावी तालमेलबारे ठोस निष्कर्ष दिने जनाएका छन् ।

‘प्रधानमन्त्रीले पार्टीभित्र छलफल गरेर चुनावी तालमेलबारे छिट्टै निधो दिन्छु भन्नुभएको छ’, बालुवाटार स्रोतले नेपाल प्रेससँग भन्यो ।

आजको बैठकमा निर्वाचन आचारसंहिता लागु हुनुपुर्व नै राजदूत र अन्य नियुक्तिहरु गर्ने विषयमा पनि छलफल भएको बताइन्छ ।

‘राजदूत नियुक्ति र निर्वाचन आचारसंहिताले प्रभावित हुनसक्ने अन्य कामहरु जतिसक्दो चाँडो गर्नेबारे शीर्ष तहमा छलफल भएको हो’, प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ ।

प्रतिक्रिया

One thought on “प्रचण्डको शंका चिर्दै प्रधानमन्त्रीले भने- हल्लाको पछाडि नलाग्नुस्

  1. कतैबाट चुनाव राेक्न सकिन्छ कि भनेर यी दुई कम्युनिष्ट नामका दलाल देउवालाई भेटन गएका हुन किनकी अबकाे चुनावपछि यी दुईकाे राजनीति सकनेवाला छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर