पाँच दिनयता कोरोना संक्रमितको मृत्युदर शून्य, संक्रमण दर पनि नगण्य – Nepal Press

पाँच दिनयता कोरोना संक्रमितको मृत्युदर शून्य, संक्रमण दर पनि नगण्य

चीनमा दैनिक एक लाख बढी संक्रमित, विभिन्न सहरमा लकडाउन

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दर शून्यमा झरेको छ । पछिल्लो पाँच दिनयता कोरोनाका कारण मृत्यु हुने दर शून्यमा झरेको हो ।

पछिल्लो समय कोरोना संक्रमणदर पनि घट्दै गएको छ । गत माघ २ गते १२ हजारसम्म दैनिक संक्रमित भेटिएको थियो । अहिले दैनिक एक सयको हाराहारीमा संक्रमित भेटिने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । महामारीको दोस्रो लहरमा एकैदिन २७६ जनाले कोभिडबाट ज्यान गुमाएका थिए । सबैमा खोपको पहुँच पुगेकाले पनि मृत्युदर घट्दै गएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले खोपको पहुँचले पनि मृत्युदर घटाएको बताइन् । उनका अनुसार हालसम्म एक करोड ९९ लाख २२ हजार १६४ जनाले पहिलो मात्राको खोप पाइसकेका छन् भने दोस्रो–तेस्रो मात्राको खोप पनि ३४ लाख ५ हजार ४५७ जनाले खोप लगाइसकेका छन् ।

गत फागुन १७ गते अर्थात मार्च १ तारिखमा नेपालमा १५८ जनामा कोरोना संक्रमण हुँदा दुईजनाको मृत्यु भएको थियो । १८ गते १२७ जना कोभिड पोजेटिभ भएको थियो भने तीनजनाको मृत्यु भएको थियो । १९ गते पनि कोभिडबाट तीनजनाको निधन भएको थियो भने २० गते १२६ जनामा कोरोना संक्रमण हुँदा एकजनाको निधन भयो ।

२१ गते ९३ जनामा संक्रमण पुष्टि हुँदा मृत्युदर भने शून्य थियो । २२ गते दुईजना संक्रमितको मृत्यु भयो । २३ र २४ गते १–१ जनाको निधन भएको थियो ।  २५ र २६ गते कोरोना संक्रमणबाट मृत्युदर शून्यमा झर्यो । २७ गते भने कोरोनाबाट एकजनाको ज्यान गयो । २८, २९, ३० गते मृत्युदर शून्य छ । चैत १ र २ गते पनि संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ भने संक्रमणदर पनि घटेको छ ।

बुधबार ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । १६ दिनको तथ्यांक हेर्ने हो भने कोरोना संक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् ।  पछिल्लो पाँच दिनमा एकजनाको पनि कोभिडबाट मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो १५ दिनमा १७ सय ८ जनामा संक्रमण पुष्टि भएको छ भने संक्रमणदर १–२ प्रतिशतमा झरेको छ ।

नेपालमा कोभिड संक्रमण घट्दै गइरहँदा छिमेकी मुलुक चीनमा भने तीव्र गतिमा बढिरहेको छ । दैनिक एक लाखभन्दा बढी संक्रमित भेटिन थालेपछि चीनका ठूला ११ भन्दा बढी सहरमा लकडाउन छ ।

चीनका ठूला सहरमा कोरोना संक्रमण फैलन थालेपछि नेपालमा पनि फेरि जोखिम भने बढेको छ । ‘नयाँ भेरियन्ट आउने जोखिम रहन्छ’, इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले भने, ‘ओमिक्रोनभन्दा कडा खालको आउँछ कि कमजोर आउँछ त्यो भने अहिले भन्न सकिन्नँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *