पीएनजीविरुद्ध नेपाल : रोहित-आरिफको शान्त साझेदारी, करण केसीको बहादुरी फिनिसिङ – Nepal Press
म्याच रिभ्यू

पीएनजीविरुद्ध नेपाल : रोहित-आरिफको शान्त साझेदारी, करण केसीको बहादुरी फिनिसिङ

काठमाडौं । सनसनीपूर्ण प्रतिस्पर्धामा पपुवा न्यूगिनीविरुद्ध २ विकेटको जित निकाल्दै नेपालले विश्वकप लिग-२ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक प्रतिस्पर्धामा सुखद सुरुवात गरेको छ । नेपालको जितको आधार बलरहरुले खडा गरेका थिए, तर दोस्रो इनिङमा लड्खडाएको नेपाललाई तीन ब्याट्सम्यानले लक्ष्यसम्म डोहोर्‍याए ।

पीएनजीविरुद्धको म्याचमा नेपाललाई ‘फेभेरेट’ मानिएको थियो । तर, आजको खेल नेपालका लागि सोचेजस्तो सजिलो भने भएन । कमजोर आँकिएको प्रतिस्पर्धीसँग जित निकाल्न नेपालले कडा संघर्ष गर्नुपर्यो । ४२ रनकै अवस्थामा अग्रपंतिका महत्वपूर्ण चार विकेट गुमाउँदा नेपाल हारतर्फ अग्रसर देखिएको थियो । तर, मध्यक्रमका युवा ब्याट्सम्यान रोहितकुमार पौडेल र आरिफ शेखले बलियो साझेदारी गर्दै नेपाललाई खेलमा फर्काए ।

२०४ रनको सामान्य लक्ष्य भएको हुँदा नेपाली ब्याट्सम्यानलाई रनरेटको ठूलो प्रेसर थिएन । यद्यपि, दुवै ब्याट्सम्यानले सुझबुझपूर्ण प्रदर्शन गर्दै स्कोरबोर्डलाई चलायमान बनाइराखे । उनीहरुबीच भएको १०२ रनको अति महत्वपूर्ण साझेदारी नै नेपालको जितको आधार थियो । तर, त्यो मात्रै पर्याप्त भने भएन ।

१४४ रनको स्थितिमा पाचौं विकेटका रुपमा रोहित आउट भएपछि फेरि नेपाल दबावमा आयो । नेपालको खातामा १७ रन थपिँदा आरिफ पनि आउट भए । त्यसपछि खेल जता पनि मोडिन सक्ने अवस्था थियो । तर, नेपालका लागि करण केसीले फेरि एकपटक ‘ब्लाइन्डर’ खेले ।

नेपाललाई ४० बलमा ४४ रन चाहिएको अवस्था करण ब्याटिङमा आएका थिए, सातौं विकेटका रुपमा । क्रिजमा थिए, विनोद भण्डारी । खराब फर्मबाट गुज्रिरहेका भण्डारी रनका लागि संघर्षरत रहेको अवस्थामा करणमाथि नै नेपालको आशा टिकेको थियो । र, उनले चाहेजस्तो डेलिभरि दिए ।

करण विष्फोटक ब्याटिङका लागि चिनिन्छन् । उनीबाट प्राय ठूला सटकै अपेक्षा हुन्छ । आज भने उनीको विकेट नेपालका लागि निर्णायकजस्तै थियो । यदि खराब सट खेलेर उनी आउट भएको भए नेपालले खेल गुमाउन सक्थ्यो । तर, उनले परिपक्व ब्याटिङ गरे । कुनै नचाहिँदो जोखिम उठाएनन् ।

करणको अलराउन्डिङ क्षमता नेपालको लागि निकै ठूलो प्लस प्वाइन्ट बनेको छ । यसअघि ओमानमा सम्पन्न भएको टि–२० विश्वकप छनोटमा उनी मिस भएका थिए । चोटका कारण टिममा समावेश हुन नसक्दा नेपालको ब्याटिङ डेफ्थ प्रभावित बनेको थियो । यदि उनी टिममा भएको भए नेपालको नतिजामा फरक पर्न पनि सक्थ्यो । यद्यपि, त्यो काल्पनिक विषय मात्र भयो ।

बलिङतर्फ भने आज करण चुके । ८ ओभर बलिङ गरेका उनले ५६ रन खर्चिँदा कुनै पनि विकेट लिन सकेनन् । उनको बलिङ फर्म भने नेपालका लागि चिन्ताको विषय बनेको छ । टिममा कमब्याक गरेका अर्का फास्ट बलर सोमपालले भने राम्रो प्रदर्शन गरे । उनले १० ओभरमा ४८ रन खर्चिँदा तीन विकेट लिन सफल भएका थिए ।

करणबाहेक अन्य बलरहरुले आज उत्कृष्ट प्रदर्शन गरे । सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीको बलिङ कसिलो रह्यो । अनपेक्षितरुपमा बलिङमा प्रयोग गरिएका ज्ञानेन्द्र मल्लले सरप्राइज विकेट लिए । तर, विशेषज्ञ स्पिनरका रुपमा खेलाइएका सागर ढकाल भने विकेटविहिन रहे । उनले ४ ओभर मात्रै बलिङ गर्न पाए, जसमा २१ रन खर्चेका थिए ।

पीएनजीविरुद्ध कठिन जितका साथ नेपालले आज महत्वपूर्ण २ अंक हासिल गरेको छ । अबको म्याच नेपालले यूएइविरुद्ध खेल्नेछ, जो पीएनजीभन्दा बलियो प्रतिस्पर्धी हो । पछिल्लो समय बलियो टिमका रुपमा उभिएको युएई नेपालको टि–२० विश्वकप यात्रामा यूएई बाधक बनेको थियो । यस श्रृंखलामा पनि यूएईसँग नेपालको प्रतिस्पर्धा सहज हुने छैन ।

अबको म्याचका आधारमा नेपालले कम्तिमा एक परिवर्तन जरुरी देखिएको छ । खराब फर्ममा रहेका विनोद भण्डारीले प्लेइङ ११ मा स्थान पाउनु औचित्यपूर्ण देखिएको छैन । टिममा विकेटकिपर ब्याट्सम्यानका रुपमा आसिफ शेख रहेकाले विनोदका स्थानमा अलराउन्डर पवन सर्राफलाई स्थान दिइनु वाञ्छनीय देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर