पुस्तकबाट निस्केर रंगमञ्चमा झुल्किएकी सकमबरी ! – Nepal Press
नाटक चर्चा

पुस्तकबाट निस्केर रंगमञ्चमा झुल्किएकी सकमबरी !

‘तपाईं सकमबरी हो ?,’ पारिजात जीवित थिइन् भने उनलाई पक्कै सोधिने थियो ।

कसैले नसोधे पनि ती पाठकले सोध्ने थिए, जो सकमबरीसित हायलकायल हुन्छन् । जो शान्त नदीको गतिमा सुस्त–सुस्त बहिरहेको प्रसाद बोकेको टपरी झैं सकमबरीको अदासँगै बहिदिन्छन् । जो सकमबरीको मुडुलो टाउकोमा धपधप बलिरहेको अहम्को राँकोसँगै आफ्नै अस्तित्वको भोकमा सहरका गल्ली–गल्ली भौतारिन्छन् । जो निकोटिनले खिइएका सकमबरीका पहेँला औंलामा च्यापिएको चुरोटझैं लगालग सल्किइरहन्छन् ।

तिनीहरुले पक्कै पारिजातलाई भन्ने थिए, ‘पक्कै तपाईं नै हुनुपर्छ सकमबरी ।’

खिरिलो शरीर, मुडुलो टाउको, निकोटिनले पहेँलिएका मसिना औंला, त्यही औंला च्यापिएर समाधीस्थ भइरहेको चुरोट, पर्खालमा झुण्डाइएका ‘इन्सेक्ट किलर’ सुनगाभामा मरेका किरा हेर्दै एक्लै रोमाञ्चित भइरहेकी २४ वर्षीया युवती ! ‘शीरिषको फूल’ पढ्ने पाठकका लागि सकमबरीको यो आकृति नौलो होइन । उपन्यास सकिँदै गर्दा आँखाअघि ठिंग उभिने त्यो खिरिलो ज्यान भएकी युवतीसँग पाठक हरेक कदममा ठोक्किन्छन् ।

पारिजातले सकमबरीलाई अक्षरहरुले कुन मुडमा उपन्यासमा कुँदिन्, रहस्यकै गर्भमा रह्यो । पारिजातको जीवनको कस्ता हिस्साहरु सकमबरीमा समेटिए, अनुत्तरित नै रह्यो । तर, समीक्षकहरु भन्ने गर्छन्, ‘हरेक पात्रसँग लेखकको अनुभूति र हिस्सा भेटिन्छ ।’

पारिजात जीवित थिइन् भने पाठकले जरुर सोध्ने थिए, ‘सकमबरीमा तपाईंको जीवनको कति हिस्सा समेटिएको छ ? त्यो हिस्सालाई सर्लक्कै बाहिर निकालेर विशुद्ध सकमबरीलाई मात्रै म लैजान चाहन्छु ।’

सकमबरी जीवनबाट हारेकी विसंगत युवती हो या आदर्श युवती ? निस्सार जीवन बाँचिरहेकी युवती हो या जीवनप्रतिको कुनै जीजीविषा नभेटिने युवती हो ? जीवनलाई हेर्ने दृष्टिकोण उल्टो भएकी युवती हो या सुल्टो भएकी ? विद्रोही हो या अराजक ? प्रश्नहरुका चाङ बन्छन् । त्यो चाङबाट प्रश्नहरुलाई त्यतै छाडेर सकमबरीलाई फुत्त बाहिर निकाल्ने हो भने जीवन र जगतलाई हेर्ने आफ्नै आँखा लिएर अस्तित्वको मसाल बोकिरहेकी युवती हो सकमबरी ।

उपन्यासमा पात्र सुयोगवीरले सकमबरीको लामो कपाल मन पर्छ भनेकैले भोलिपल्ट कपाल सफाचट पार्छिन् । टाउको चिल्लो अनि मुडुलो बनाउँछिन् । त्यस्ती बलियी सकमबरी अन्ततः सुयोगवीरको एक चुम्बनले मर्छिन् । कस्तो विरोधाभाष ! कस्तो अलमल ! कस्तो कमसल मृत्यु सकमबरीको ! कस्तो नमीठो समाप्ती !

यही उपन्यास ‘शिरिषको फूल’मा आधारित अन्जान प्रदीप निर्देशित नाटक शिरिषकै फूल थिएटर मल, कीर्तिपूरमा मन्चन भइरहेको छ । नाटक हेरिसकेर मण्डला थिएटर फिर्दा कवि विप्लव प्रतीकसँग भेट भयो । मैले भनेँ, ‘चुम्बनले नै मर्ने कस्तो कमजोर मृत्यु है दाइ सकमबरीको ? उसले विद्रोह गर्न पनि सक्थिन् नि ! एक चुम्बनमै मारिदिइन् पारिजातले सकमबरीलाई ।’

विप्लव प्रतीकको जवाफ आयो, ‘त्यो मृत्युलाई हामीले ‘प्रतीक’मा बुझ्नुपर्छ । त्यो बेलाको समाज कस्तो थियो, त्यसलाई हेर्नुपर्छ । अहिले पो चुम्बन सामान्य भइदियो, त्यो बेला सामान्य थिएन । फेरि पारिजातले ‘चुम्बन’ नै भनिदिनुमा कारण होला । हामीले ‘मेटाफर’मा बुझ्नुपर्छ त्यो ‘चुम्बन’लाई ।’

मन्चन भइरहेको नाटकको समाप्ती पनि सुयोगवीरको विषाक्त चुम्बनले मरेकी सकमबरीसँगै भएको छ । एकातिर ‘इन्सेक्ट किलर’ सुनगाभा फूल पालेर राख्ने सकमबरी आफैं भने सुयोगवीरको ‘इन्सेक्ट किस’ ले मर्छिन् । शंकर लामिछानेले लेखे झैं, ‘शीरिष फूल एक भ्रमर चुम्बनमै ओइली झर्छ ।’

सकमबरी ‘इन्सेक्ट किलर’ सुनगाभा होकि एक भ्रमर चुम्बनमै ओइली झर्ने ‘शिरिष फूल’ ?

विश्वयुद्धमा बमभन्दा बढी पड्किएको मानिसको अमानवीयता र क्रुरताले लखेटिरहेका ४५ वर्षीय सुयोगवीरको मनोदशालाई नाटकमा फैलाएर स्पेस दिइएको छ । अर्कातिर स्वच्छन्दताको खोजी गर्दै आफ्नै बुझाइहरुको कारागारभित्र कैद भएकी २४ वर्षीया सकमबरीको मनोदशालाई पनि स्पेस दिइएको छ । यी दुई पात्रबीचको द्वन्द्व र त्यसमा होमिएको अहम्को लडाइँ नै नाटकको मूल खुराक हो ।

सुयोगवीरले वर्माको युद्धमा नाबालिगहरुलाई गरेको यौनशोषणको दर्दनाक दृश्यहरुलाई मानसपटलबाट हटाउन सकेको छैन ।

‘शीरिषको फूल’को रङसँग मिल्ने कपडा लगाएका स–साना चारजना बालिकाहरुले सुयोगवीरको अवचेतनमा प्रश्नहरु गरिरहन्छन् । ती प्रश्नबाट भाग्न सहज छैन सुयोगवीरलाई । भनिन्छ नि, मान्छेले आफ्नै आत्मालाई ढाँट्न सक्दैन !

प्रश्नहरुबाट भाग्न् सुयोगवीरको सहारा हुन्छ, चुरोट र रक्सी । त्यसमा साथ पाउँछ सकमबरीकी दाइ शिवराजको । शिवराजसँगको संगत र रक्सी अनि चुरोटसँगै सुयोगवीरको फ्रस्टेसन र कुण्ठित मनोदशा शिवराजको घर पुग्छ । सकमबरीको मनमौजी जीवन र निस्सारताहरुमा ठोक्किन्छ । त्यो ठोक्काइबाट निस्कने म्याग्निच्युड नै नाटकको केन्द्रीय विषय हो । नाटकको मात्रै होइन, उपन्यासको पनि हो ।

सम्भवतः शिरिषको फूल पढेका पाठकहरु नै नाटक हेर्न पुग्लान् । तर, सकमबरीको आकृति पहिल्यै उनीहरुको मस्तिष्कमा फिक्स्ड छ । सुयोगवीरको आकृति पनि फिक्स्ड छ । यस्तो आकृति बोकेर थिएटरभित्र छिरेका दर्शकहरु नाटकका सकमबरी र सुयोगवीरसँग कन्भिन्स्ड हुन समय लाग्छ । यो स्वभाविक पनि हो । तर, पाठकको दिमागमा बनेको सुयोगवीर र सकमबरीको चित्र र नाटकमा देखाइएको सुयोगवीर र सकमबरी उस्तै लाग्छन् त ? नाटक हेरेका, उपन्यास पढेका दर्शक÷पाठक नै जानुन् ।

‘सकमबरी’ नेपाली आख्यानको बहुचर्चित पात्र हो, सेलिब्रेटी पात्र हो । नेपाली आख्यानमा थोरै मात्रै सेलिब्रेटी पात्र छन् । जस्तोः ‘घामका पाइलाहरु’ को पवन, ‘उलार’ को प्रेमललवा, ‘लू’को इलैया, दोषी चश्माको ‘केशवराज’ जस्ता पात्रहरु उपन्यास, कथाभन्दा प्रसिद्ध छन् । यस्ता पात्र पाठकको मन÷मस्तिष्कमा पहिल्यै जरा गाडेर बसेका हुन्छन् । त्यसलाई नाट्यकरण गर्नु आफैंमा चुनौतीपूर्ण मात्रै हुँदैन, न्याय दिलाउनु झनै ठूलो चुनौती भइदिन्छ । यही जोखिम मोलेका छन्, निर्देशक अन्जान प्रदीपले आफ्नो डेब्यु नाटकमा ।

उपन्यास पढेर मात्रै नाटक हेर्दा मजा आउँछ । उपन्यास पढ्दा सकमबरी र सुयोगवीरको जुन आकृति निर्माण हुन्छ, त्यो अविस्मरणीय छ । त्यसलाई थप रंगरोगन गर्न नाटकले सहयोग पुर्‍याउँछ ।

नाटकमा प्रयोग गरिएको लाइटलाई अझैं थोरै मधुरो बनाउन सकेको भए ती विसंगत पात्रहरु झनै बलिया बन्न सक्थे । उनीहरुको विसंगत व्यवहार र अनुहार झनै समृद्ध देखिन्थ्यो । ब्याकग्राउण्ड स्कोरमा पियानोको रुमानी धुनले पात्रहरुलाई बलियो बनाउँदै लैजान्छ । दोस्रो विश्ययुद्धले दिएको ट्रमा र युद्धले ध्वस्त भएको सहर अनि मानवीयतालाई महसुस गराउँछ । तर, अचानक ६० साल वरिपरिको गीत गाउँदै ऐना हेरिदिने सकमबरीकी कान्छी बहिनीले एक गतिमा चलिरहेको मुडलाई थचक्क पछारिदिन्छ ।

समग्रमा नाटक ठीकठाकै छ । अन्जान प्रदीपको प्रयास पनि ठिकठाकै छ । कलाकारको अभिनय पनि ठिकै छ । सकमबरीको भूमिका निभाएकी समृद्धि नेपाल, सुयोगवीरको भूमिका निभाएका संजय विश्वकर्मा, शिवराजको भूमिका निभाएका हाङ ओ हाङ राई, मुजुराको भूमिका निभाएकी सविना गोपाली, सानुको भूमिकाकी मन्जु महर्जन, हेड हन्टरकी छोरी अन्जु महर्जन, आदिवासी युवती अस्मिता भारती, मटिनची रेजी बस्नेत, पारिजातको भूमिका निभाएकी जेनी सुनुवार सबै कलाकारको अभिनयले नाटकलाई सुन्दर बनाएको छ ।

नाटकको परिकल्पना गरेका केदार श्रेष्ठले गरेका हुन् । नाटक आउँदो चैत १२ गतेसम्म नियमित मन्चन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *