आफन्तबाहेकले मिर्गौला दान गर्न नपाउने कानून संशोधन गर्न सरकार तयार : गृहमन्त्री – Nepal Press

आफन्तबाहेकले मिर्गौला दान गर्न नपाउने कानून संशोधन गर्न सरकार तयार : गृहमन्त्री

काठमाडौं । मिर्गौला प्रत्यारोपणका लागि दाताको दायरा फराकिलो पार्दै आफन्तबाहेकले मिर्गौला दान गर्न नपाउने कानून संशोधन गर्न सरकार तयार रहेको गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् ।

मिर्गौला प्रत्यारोपण सम्भव हुँदा हुँदै पनि दाताको अभाव र आफन्तबाहेकले अंगदान गर्न नपाउने कानूनी व्यवस्थाका कारण धेरै मिर्गौला रोगीले अनाहकमा ज्यान गुमाउनु परिरहेको छ ।

विश्व मिर्गौला दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत किष्ट मेडिकल कलेजले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाणले कानून संशोधन गरी बाधा फुकाउन सरकार तयार रहेको बताए । आफन्त बाहेकले मृगौला दान गर्न नपाउने प्रावधान संशोधन भएमा बढ्दो मृगौला रोगीको उपचार अझै सहज हुन उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हालसम्म ३० लाख मानिसमा मिर्गौलाको समस्या रहेको र वर्षेनी ३ हजार जनाको मिर्गौला फेल हुने गरेको छ ।

हालसम्म २५ सय जनामा मिर्गौला प्रत्यारोपण भइसकेको र ७ हजार जना डाईलासिस गराएर प्रत्यारोपणको पर्खाइमा छन् ।

उच्च रक्तचाप, मधुमेहजस्ता रोगका साथै तनावग्रस्त जीवनशैली र अस्वस्थकर खानपिनले मिर्गौला बचाउनु चुनौतूपूर्ण बनेकाले यसतर्फ सतर्क रहनुपर्ने सुझाव चिकित्सकको छ ।

मिर्गौला रोगीका निम्ति जीवनदानका लागि अंगदानमा प्रोत्साहित गर्नुपर्ने किष्ट मेडिकल कलेजका प्राचार्य प्रा. डा. बालमानसिंह कार्की बताउँछन् ।

मिर्गौला दाता नहुँदा प्रत्यारोपणका विदेश जानुपर्ने बाध्यता कायमै रहेको भन्दै मृत्युपश्चात अंगदानप्रति जनचेतना जगाउनु आवश्यक रहेको डा. दिव्या सिंह शाहले बताइन् ।

मस्तिष्क मृत्युपश्चात अंगदानलाई सरल र सहज बनाउनेतर्फ स्वास्थ्य मन्त्रालयले काम गरिरहेको सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।

कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले उपचारपद्धतिमा विज्ञानप्रविधिले थपेको आयाम प्रयोगले स्वास्थ्य क्षेत्रमा ठूलो विकास भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *