एकदिवसीय विश्वकपको छनोट यात्रा- नेपाललाई शीर्ष ३ भित्र पुग्ने अवसर – Nepal Press

एकदिवसीय विश्वकपको छनोट यात्रा- नेपाललाई शीर्ष ३ भित्र पुग्ने अवसर

काठमाडौं । एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका रुपमा रहेको विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो त्रिकोणात्मक शृंखला खेल्न नेपाली टोली यतिबेला यूएईमा छ । यूएईमा आजबाट सुरु भएको शृंखलामा घरेलु टोलीसहित नेपाल र पपुआ न्युगिनी भिड्दैछन् ।

शृंखलाअन्तर्गत नेपालले दुवै टोलीसँग २/२ खेल खेल्ने छ । यी चारवटै खेल जिते नेपाली टोली सात टोली सहभागी प्रतियोगिताको अंक तालिकामा शीर्ष तीनभित्र प्रवेश गर्ने छ । तर, यो त्यति सहज भने छैन । पपुवा न्यूगिनीविरुद्ध नेपाल आत्मविश्वासी भए पनि पछिल्लो समय युएई बलियो टिमका रुपमा उभिएको छ ।

हरेक टोलीले ९ वटा त्रिकोणात्मक शृंखला खेलेपछि शीर्ष तीन टोली एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन् । अन्य ४ टोलीले भने विश्वस्तरको छनोटमा पुग्न प्ले अफ खेल्नुपर्ने छ । हालसम्म दुईवटा मात्र श्रृंखला खेलेको नेपालले ८ खेलमा ८ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ ।

सातवटा शृंखला खेल्दै २८ खेलबाट ३६ अंक बटुलेको ओमान तालिकाको शीर्षस्थानमा छ । १२ खेल खेलेको स्कटल्यान्ड र १४ खेल खेलेको यूएईको समान १६ अंक छ । १४ खेल खेलेको नामिबिया र १६ खेल खेलेको यूएसएको समान १४ अंक रहेको छ । १२ खेल खेलेको पपुआ न्युगिनीले अंक जोड्न सकेको छैन ।

प्रतियोगिताअन्तर्गत नेपालले घरेलु मैदानमा दुई वर्षअघि भएको पहिलो श्रृंखलामा अमेरिकाविरुद्धका दुवै खेल जितेको थियो भने ओमानसँग दुवै खेलमा पराजित भएको थियो । गत सेप्टेम्बरमा ओमानमा भएको दोस्रो शृंखलामा नेपालले घरेलु टोली र अमेरिकासँग समान एक–एक जित र एक–एक हार ब्यहोरेको थियो ।

हालै टी–२० विश्वकपको विश्वस्तरको छनोटबाट बाहिरिएको नेपालको नजर यतिबेला एकदिवसीय विश्वकपमा रहेको छ । तेस्रो शृंखलाअन्तर्गत नेपालले पहिलो खेलमा बुधबार पपुआ न्युगिनीसँग खेल्दै छ । मार्च १८ मा यूएई, मार्च २१ मा पपुआ न्युगिनी र मार्च २२ मा पपुआ न्युगिनीसँग भिड्ने तालिका छ । यूएई हालै भएको त्रिकोणात्मक श्रृंखलामा ओमानसँग दुवै खेलमा पराजित भएको थियो भने नामिबियासँग भएका दुवै खेल जितेको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय तथ्यांकमा नेपाल

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म १६ खेल खेलेकोमा ९ जित र ७ हारको नतिजा निकालेको छ । पपुआ न्युगिनीसँग भएका दुई खेलमा दुवैमा जित हात पारेको थियो भने यूएईसँग भएका ४ प्रतिस्पर्धामा २ जित र २ हारको नतिजा निकालेको छ ।

नेदरल्यान्ड्ससँग दुई खेल खेल्दा एक जित र एक हार तथा ओमानसँग ४ खेल खेल्दा ३ हार र एक जितको नतिजा निकालेको छ । यस्तै अमेरिकासँग ४ खेल खेलेकोमा ३ जित र एक हार ब्यहोरेको छ ।

नेपालले पहिलोपटक सन् २०१८ मा आयोजित विश्वस्तरको छनोटमार्फत एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको थियो । यतिबेला नेपालसामू यो मान्यता कायम राख्नुपर्ने चुनौती पनि छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट पारस खड्काले मात्र सतक बनाएका छन् । ४ अर्धसतक प्रहार गरेका ज्ञानेन्द्र मल्ल ४ सय १८ रनसहित नेपालबाट सर्वाधिक रन जोड्ने ब्याट्सम्यान हुन् । पारसले ३ सय १५ रन बनाएका थिए । विनोद भण्डारीले २ सय २५, रोहित पौडेलले तीन अर्धसतकसहित ३ सय १५ र आसिफ शेखले एक सय ८९ रन बनाएका छन् ।

बलिङतर्फ सन्दीप लामिछाने ४१ विकेटसहित सर्वाधिक विकेट लिने बलर रहेका छन् । दोस्रो स्थानमा रहेका करन केसीको नाममा २१ विकेट छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर