यूएई उड्नुअघि अन्तिम अभ्यास खेलमा पराजित भयो नेपाली टोली, अनुभवी श्रीलंकन हावी – Nepal Press

यूएई उड्नुअघि अन्तिम अभ्यास खेलमा पराजित भयो नेपाली टोली, अनुभवी श्रीलंकन हावी

काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत आसन्न त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको तयारीका लागि श्रीलंकामा रहेको नेपाली टोलीले अन्तिम अभ्यास खेलमा अनुभवी मानिएको श्रीलंका कम्बाइन- ११ सँग ९२ रनको हार ब्यहोरेको छ।

२ सय ३३ रनको लक्ष्य पाएको नेपाली टोली एक सय ४० रनमा समेटियो । नेपालका ज्ञानेन्द्र मल्लले ४६, कुशल भुर्तेलले ३२ र रोहित पौडेलले २१ रन बनाए ।

त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकन टोलीले ४८.२ ओभरमा सबै विकेट गुमाएर २ सय ३२ रन जोड्यो । श्रीलंकाका अनुक फर्नान्डोले सर्वाधिक ५६ रन जोडे । सादुन विर्ककोडीले ४९ रन बनाए । उपुल थारंगा ३, थिसारा परेराले ८ र चामरा सिल्भाले ६ रन जोडे ।

नेपालका दीपेन्द्रसिंह ऐरी र सागर ढकालले ३/३ तथा सोमपाल कामीले दुई विकेट लिए । सन्दिप लामिछाने र आरिफ शेखले एक-एक विकेट हात पारे । श्रीलंकन टोलीमा टेस्ट र एकदिवशीय अन्तर्राष्ट्रिय खेलिसकेका खेलाडीको बाहुल्यता छ ।

यसअघि खेलेका तीनवटै अभ्यास खेलमा नेपालले श्रीलंकामा प्रथम श्रेणीको क्रिकेट खेलिरहेका टोलीमाथी फराकिलो जित हात पारेको थियो । नेपालले यूएईमा पपुआ न्युगिनीसमेत सम्मिलित त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर