जिपछिरिङको गुनासो- ठेकेदारलाई सरकार र मिडियाले मात्र होइन जनावरले पनि खेद्न थाले (भिडिओ) – Nepal Press

जिपछिरिङको गुनासो- ठेकेदारलाई सरकार र मिडियाले मात्र होइन जनावरले पनि खेद्न थाले (भिडिओ)

प्रधानमन्त्रीलाई चुनौती–हाम्रो पैसा ब्याज सहित दिनुस्,सरकारको पैसा तुरुन्तै तिर्छौं

काठमाडौं । निर्माण व्यवसायीलाई सरकार र मिडियामात्र होइन जनावरले समेत दुःख दिन थालेको भन्दै कांग्रेस सांसद समेत रहेका ठेकेदार जिपछिरिङ लामाले प्रधानमन्त्रीकै सामुन्ने चर्को विरोध गरेका छन् । निर्माण व्यवसायी महासंघको साधारणसभामा लामा आक्रामक रुपमा प्रस्तुत भए ।

प्रधानमन्त्री र मन्त्रीहरुको ध्यानाकर्षण गराउँदै लामाले सरकारले निर्माण व्यवसायीको साढे ६ प्रतिशत भ्याट काटेर त्यो रकम नदिई व्यसायीको नाम कालोसूचीमा राख्ने र जरिवानासहित सूचना निकाल्ने काम गरेको भन्दै आपत्ति जनाए ।

उनले भने,’आज हाम्रो साढे ६प्रतिशत भ्याट काटेर सरकारको खातामा हाम्रो ७ अर्ब राखेको छ । उता हामी ३ सय जनाको जरिवाना र नाम निकालेको छ । यो कहिँ हुन्छ रु म प्रधानमन्त्रीज्यूलाई भन्छु, हाम्रो पैसा फिर्ता चाहियो, सरकारको पैसा हामी तिर्छौं । तत्काल निर्णय गर्नु पर्यो । हामीलाई पनि ब्याजसहित चाहिन्छ हाम्रो पैसाको । हाम्रो घरखेत गइसक्यो । ठहिजो मैले डी क्लासबाट सुरु गरेँ,अहिले ए क्लाँसमा छु तर अब डी क्लासमा झर्न लागेको छु । मेरो दुःख कस्ले देख्छ ।’

सांसद लामाले हुँदा हुँदा कुनै जनावर मर्दा समेत निर्माण व्यवसायीलाई हतकडी लगाइन थालेको बताए । उनले हालै चितवनमा निर्माणाधीन सडकको नालीमा परेर गैंडा मरेको दृष्टान्त दिँदै कर्मचारीले गरेको लापरवाहीको दोषी ठेकेदारलाई बनाइएको बताए ।

लामाले भने,’ कर्मचारी जागिर खाएर मोज गर्ने,उसको जनावर सडकमा छाडेर हामीलाई दोष लाउने रु यो कानून संशोधन गर्नुपर्छ,त्यो कर्मचारीको जिम्मामा भएको चिज तलमाथि भए त्यसैलाई कारवाही गर्नुपर्छ । अर्काको चीज ल्याएर हामीले बनाएको सडकमा खस्यो भने हामीलाई कारावही गर्ने रु हामीले सबैको बोझ बोक्नुपर्ने ?’

लामाले बोल्दा निर्माण व्यवसायीहरुले ताली बजाएर समर्थन गरेका थिए । अन्तिममा उनले आफू मन्त्रीको दाबेदार रहेको भन्दै धेरै बोल्दा प्रधानमन्त्री रिसाउने भनेर भाषण टुंग्याएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *