‘गोल मेसिन’ लेवान्डोस्की : जसले सुरूको २३ मिनेटमा ह्याट्रिक गर्दै बनाए च्याम्पियन्स लिग कीर्तिमान – Nepal Press

‘गोल मेसिन’ लेवान्डोस्की : जसले सुरूको २३ मिनेटमा ह्याट्रिक गर्दै बनाए च्याम्पियन्स लिग कीर्तिमान

काठमाडौं । पछिल्ला वर्षहरूमा लगातार सानदार लयमा रहेका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्की युरोपियन च्याम्पियन्स लिगको खेल सुरू भएको सबैभन्दा थोरै समयभित्र ह्याट्रिक पूरा गर्ने खेलाडी बनेका छन् ।

प्रिक्वाटरफाइनलको दोस्रो लेगमा लेवान्डोस्कीले रेड बुल साल्जबर्गविरुद्ध सुरूको २३ मिनेटमा ह्याट्रिक पूरा गरेका हुन् । तीमध्ये दुई गोल उनले पेनाल्टीमार्फत् गरेका थिए ।

१२ र २१ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका लेवान्डोस्कीले २३ औँ मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरेका थिए । च्याम्पियन्स लिगमा सबैभन्दा थोरै समयभित्र ह्याट्रिक पुरा गर्ने कीर्तिमान भने लियोनका बाफेटिम्बी गोमिसको नाममा छ ।

गोमिसले सन् २०११ मा डाइनामो जाग्रेबविरुद्ध ८ मिनेटको बीचमा तिन गोल गर्दै उक्त च्याम्पियन्स लिग कीर्तिमान बनाएका थिए । पहिलो गोल गरेको समयलाई आधार मानेर उक्त समयको कीर्तिमान बनेको थियो ।

घरेलु मैदानमा साल्जबर्गलाई ७-१ गोलले हराउँदै बायर्न च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेको छ । लेवान्डोस्की पछिल्ला लगातार दुई संस्करणको फिफा वर्ष खेलाडी अवार्डका विजेता हुन् । यो सिजन पनि उनी च्याम्पियन्स लिग र युरोपका शीर्ष ५ घरेलु लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी रहेका छन् ।

लेवान्डोस्कीले च्याम्पियन्स लिगमा यो सिजन १२ गोल र ३ असिस्ट गरेका छन् । दोस्रो स्थानमा रहेका आयाक्सका सेबास्टियन हालरको नाममा ११ गोल र २ असिस्ट रहेको छ । लेवान्डोस्कीले घरेलु लिगमा २८ गोल र एक असिस्ट गरेका छन् ।

३३ वर्षीय लेवान्डोस्की च्याम्पियन्स लिग इतिहासमा तेस्रो सर्वाधिक गोलकर्ता हुन् । उनको गोल संख्या ८५ पुगेको छ। क्रिस्टियानो रोनाल्डोले एक सय ४० र लियोनल मेस्सीले १२५ गोल गरेका छन् । उनले मेस्सीभन्दा ३ खेल कम र रोनाल्डोभन्दा १७ खेल कममै ८५ गोल पूरा गरेका हुन् ।

यस्तै च्याम्पियन्स लिग फुटबलका कम्तीमा तीन सिजन कम्तीमा १० गोल गर्ने उनी रोनाल्डो र मेस्सीपछि तेस्रा खेलाडी बनेका छन् । रोनाल्डोले ७ र मेस्सीले ५ सिजन कम्तीमा १० गोल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर