चोटका कारण रोनाल्डोले आज म्यानचेस्टर डर्बी गुमाउने – Nepal Press

चोटका कारण रोनाल्डोले आज म्यानचेस्टर डर्बी गुमाउने

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड आमने सामने हुँदैछन् ।

तालिकाको शीर्षस्थानमा रहेको म्यान सिटीको मैदानमा हुने खेलमा म्यान युनाइटेडका लागि स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो उपलब्ध हुने छैनन् । रोनाल्डो चोटका कारण खेल्न नसक्ने भएको जनाइएको छ ।

शीर्ष चारभित्र रहन संघर्षरत म्यान युनाइटेडका लागि म्यानचेस्टर डर्बी महत्वपूर्ण रहने छ । २७ खेलबाट ४७ अंक भएको म्यान युनाइटेड चौथो स्थानमा छ । पाचौँ स्थानमा रहेको वेस्ट हामको २८ खेलबाट ४५ अंक छ । आर्सनलको २४ खेलबाट ४५ अंक छ।

म्यान सिटी २७ खेलबाट ६६ अंक जोडेर समान खेल खेल्दै दोस्रो स्थानमा रहेको लिभरपुलभन्दा ३ अंकले अगाडि छ । २६ खेल खेलेको चेल्सीको ५३ अंक छ ।

घरेलु मैदानमा खेलेको पछिल्लो खेलमा म्यान सिटीले टोट्टनहामसँग ३-२ गोलले पराजित भएको थियो । घरेलु लिगमा यो सिजन रोनाल्डो, ब्रुनो फर्नान्डेससँगै ९ गोलसहित म्यान युनाइटेडका सर्वाधिक गोलकर्ता रहेका छन् ।

लिभरपुलका मोहम्मद सलाह १९ गोलसहित सर्वाधिक गोलकर्ता रहेका छन् । गत नोभेम्बरमा भएको पछिल्लो म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटी २-० गोलले विजयी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर