पिके-थोलेदेम्बा-पोकली ४२ किमि अल्ट्रा म्याराथनको यी हुने बिजेता (तस्बिरहरु) – Nepal Press

पिके-थोलेदेम्बा-पोकली ४२ किमि अल्ट्रा म्याराथनको यी हुने बिजेता (तस्बिरहरु)

ओखलढुंगा । यस वर्षको थोलेदेम्बा-पोकली ४२ किलोमिटर अल्ट्रा म्याराथनमा धावक तीर्थबहादुर तामाङ र अनिता राईले क्रमशः पुरुष र महिलातर्फ प्रथम स्थान हासिल गरेका छन् ।

ओखलढुंगाकै सबैभन्दा उच्च स्थान ३ हजार ३५० मिटर उचाइको देम्बा डाँडाबाट शुरु भएको म्याराथन पिके हिमालको फेदी हुँदै पात्ले, खिजि फलाटे, फेत्तले रगनी हुँदै पोकली झरनासम्म ४२ किलोमिटरको दूरी भोजपुरका तीर्थले ४ घण्टा ४ मिनेटमा पार गरेर प्रथम स्थान हासिल गरेका हुन् ।

त्यस्तै महिलातर्फ भोजपुरकै अनिता राईले सो दूरी ५ घटा ३७ मिनेटमा पार गरेकी हुन् । पुरुषतर्फ दोस्रोमा सोलुखुम्बुका अर्जुन कुलुङ राई, तेस्रोमा भोजपुरका उमेश राई र चौथोमा रुकुम पश्चिमका दुर्गा बुढामगर भए ।

महिलातर्फ सोलुखुम्बुकी अनिता दोस्रो, रोल्पाकी आस्मा विश्वकर्मा तेस्रो र ओखलढुंगाकी पदमकुमारी सुनुवार चौथो भए ।

खिजिदेम्बा गाउँपालिका आयोजक र ओखलढुंगा पर्यटन विकास समिति तथा लिखु गाउँपालिका सहआयोजक भएको सो प्रतियोगिता यसपटक ओखलढुंगाका दुई प्रसिद्ध पर्यटकीयस्थल थोले देम्बा र पोकली झरनालाई जोड्न सफल भएको नेपाल पर्यटन बोर्डका सदस्य ङावा ङिमा शेर्पाले बताए ।

ओखलढुंगा पर्यटन विकास समितिका अध्यक्ष समेत रहेका शेर्पाले कोभिडका कारण तेस्रो संस्करण आयोजना दुई वर्ष ढिला भए पनि यसपटक विश्वकै चर्चित अल्ट्रा म्याराथन धाविका मीरा राईको समेत सहभागिताले उत्साह थपेको बताए ।

देम्बा डाँडाबाट खिजिदेम्बा गाउँपालिका अध्यक्ष बेदबहादुर रोक्काले उद्घाटन गरेर शुरु भएको म्याराथन प्रतियोगिताको समापन समारोह पोकली झरनाको काखमा भएको थियो । विजेताहरुलाई प्रदेशसभा सदस्य तथा प्रदेश १ का पूर्व भौतिक पुर्वाधार मन्त्री अम्बिरबाबु गुरुङले पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा प्रथम हुने महिला र पुरुष दुवै खेलाडीले जनही ६० हजार रुपैया नगद पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै दोस्रो हुनेले ४५ हजार, तेस्रो हुनेले ३० हजार र चौथो हुनेले १५ हजारको दरले पुरस्कार प्राप्त गरेको ओखलढुंगा पर्यटन विकास समितिका उपाध्यक्ष वाङ्डा शेर्पाले जानकारी दिए ।

प्रतियोगितामा ६३ जना धावक धाविका सहभागी भएको महासचिव पासाङ शेर्पाले बताए । कार्यक्रममा प्रदेशसभा सदस्य गुरुङले ओखलढुंगाको पर्यटन विकासमा देम्बा पोकली म्यारथनले महत्वपूर्ण भूमिका खेल्ने भन्दै आफ्नो तर्फबाट व्यक्तिगत रुपमा पनि सहयोग गर्ने बताए ।

उनले जिल्लाको समग्र विकासमा आफूले मन्त्री भएको बेला गरेका कामहरुलाई अघि बढाउँदा पर्यटन विकास पनि सँगै हुने बताए । ओखलढुंगा पर्यटन विकास समितिका अध्यक्ष ङावाङिमा शेर्पाले यसअघिको म्याराथन भन्दा यसपटक फरक भएको भन्दै पोकली झरनालाई समेत समेटेर कार्यक्रम आयोजना गरिएको बताए ।


कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य तथा संविधानसभा सदस्य बालकृष्ण ढुंगेल, एमाले प्रदेश कमिटी सदस्य नानीबाबु बुढाथोकी, लिखु गाउँपालिका अध्यक्ष गोविन्द पौडेल, उपाध्यक्ष शान्ता ढुंगेल, माओवादी केन्द्रका जिल्ला अध्यक्ष बाबुराम गौतम, एमाले जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य अस्मिता थापा, वडाध्यक्ष शुकवीर तामाङ, केशव ढुंगेल लगायत सहभागी थिए ।

पोकली झरना विकास समितिले संयोजन गरेको समापन समारोहमा विभिन्न जातजातिका झाँकीहरु प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर