दुर्लभ टाइब्रेकर जहाँ २२ औँ प्रहारले मात्र नतिजा दियो – Nepal Press

दुर्लभ टाइब्रेकर जहाँ २२ औँ प्रहारले मात्र नतिजा दियो

काठमाडौं । फुटबलमा दुर्लभै हुने घटना आइतबार राति इङ्लिस क्लब प्रतियोगितामा भयो । ईएफएलको फाइनलमा लिभरपुल र चेल्सी भिडिरहेका थिए ।

निर्धारित समय र अतिरिक्त समयमा दुवैतर्फबाट गोल हुन सकेन । त्यसपछि खेलको निर्णय टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा सुरुका पाँचवटा प्रहारमा दुवै टोली गोल गर्न शतप्रतिशत सफल भए ।

लिभरपुलका गोलरक्षक कावोइमहिन केल्लेहर र चेल्सीका गोलरक्षक केपा एरिजाबालागाले विपक्षीका प्रहारहरू रोक्न सकेनन् । त्यसपछि सुरू भयो सडन डेथ । तर, अचम्म के भयो भने दुवै टोलीका गोलकिपरबाहेक सबै १० खेलाडीले प्रहार गर्दासम्म नतिजा आउन सकेन । उनीहरू सबैले गोल गरेका थिए । अब पालो थियो, गोलकिपरले प्रहार गर्ने । लिभरपुलका केल्लेहरको प्रहार पनि एरिजाबालागाले रोक्न सकेनन् । दुर्भाग्य, एरिजाबालागाले भने गोलपोष्टको फ्रेममा बल प्रहार गर्न सकेनन् ।

एरिजाबालागालाई लगातार तीन खेल बेन्चमा राखेर लिभरपुलविरुद्ध उतारिएको थियो । टाइब्रेकरकै लागि भनेर अतिरिक्त समयको अन्तिम मिनेटमा एडुवार्ड मेन्डीको स्थानमा उनलाई मैदान छिराइएको थियो । २७ वर्षीय स्पेनिस फुटबल एरिजाबालागा सन् २०१८ देखि चेल्सीमा छन् । उनी चेल्सीका दोस्रो रोजाइका गोलरक्षक हुन् ।

त्यसअघि निर्धारित तथा अतिरिक्त समयमा दुवै टोलीले ५/५ जना खेलाडी परिवर्तन गरेका थिए । दुवै टोलीले दोस्रो हाफमा समान तीन र अतिरिक्त समयमा समान दुई खेलाडी फेरेका थिए । लिभरपुलले १० वर्षपछि ईएफएलको उपाधि जितेको हो ।

प्रतियोगितामा लिभरपुल सर्वाधिक (९पटक) विजेता पनि बनेको छ । म्यानचेस्टर सिटीले ८ तथा म्यानचेस्टर युनाइटेड, चेल्सी र एस्टन भिल्लाले समान ५ पटक जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर