पल शाहले सार्वजनिक गरे काउण्टर अडिओ, दुर्गेशलगायतले षड्यन्त्र रचेको आरोप – Nepal Press

पल शाहले सार्वजनिक गरे काउण्टर अडिओ, दुर्गेशलगायतले षड्यन्त्र रचेको आरोप

यसरी बिग्रियो पल-दुर्गेश सम्बन्ध

काठमाडौं । प्रहरीबाट पक्राउ पुर्जी जारी भएपश्चात नायक पल शाहले आफ्नो बचाउमा विभिन्न अडिओहरू सार्वजनिक गरेका छन् । नाबालिग गायिकालाई आफूविरुद्ध आफ्नै साथीहरूले उक्साएको भन्दै उनले संवेदनशील विषयमा कुराकानी भएका अडिओ बाहिर ल्याएका हुन् ।

फेसबुकमा स्टाटस लेख्दै पलले आफूविरुद्ध गायिकालाई प्रयोग गरेर नियोजित षड्यन्त्र गरेको भन्दै चार व्यक्तिको नामसमेत सार्वजनिक गरेका छन् । पलको भनाइअनुसार साथी दुर्गेश थापा, ठुल्दाइ सरोज ओली, भाइ कृष्ण जोशी र सम्राट चौलागार्ईं उनीविरुद्धको षड्यन्त्रमा संलग्न छन् ।

कुल मिलाएर पलले सार्वजनिक गरेको अडिओ करिब ४५ मिनेटको छ । उनले नाम उल्लेख गरेका व्यक्तिहरूसहित गायिकाको आवाज अडिओमा सुन्न सकिन्छ । उनीहरूले पललाई कसरी विवाहका लागि वाध्य पार्ने भनेर विभिन्न रणनीति बुनेका छन् । प्रमाण जुटाउनका लागि पललाई के-के भनेर म्यासेज लेख्ने भनेर अन्य व्यक्तिहरूले गायिकालाई सिकाइरहेको सुनिन्छ ।

एउटा अडिओमा पललाई उनीविरुद्ध षड्यन्त्र भइरहेको भनेर अरु कसैले पोल लगाइरहेका छन् । अडिओमा सुनिएअनुसार पलसँग एक करोड लिएर गायिकालाई थामथुम पारिदिने आश्वासन सरोज ओलीले दिएका थिए । त्यसबाट ५० लाख रूपैयाँ आफू खाने र ५० लाख गायिकालाई दिएर उनीहरूको विवाद सल्टाउने योजना सरोजको रहेको एक व्यक्तिले अडिओमा बताएका छन् ।

दुर्गेशलगायतले समीक्षालाई आफूहरूको नाम कतै नआउने गरी अगाडि बढ्न सिकाएका छन् । यो अडिओ सुनिसकेपछि पलले गायिकासँग सहमतिमा सम्वन्ध राखेको तर पछि विवाह गर्न नमानेको निस्कर्षमा पुग्न सकिन्छ । यो अडिओले पललाई मुद्दाबाट बचाउन सहयोग गर्ने भने देखिँदैन । नेपालको कानूनले सहमतिमा पनि १८ वर्षमुनिको किशोरीसँग सम्बन्ध राख्दा बलात्कार मान्छ । तथापि, पलको पक्षमा सहानुभूति बढाउनका लागि यो अडिओले सहयोग पुग्ने उनका फ्यानको विश्वास छ ।

यता गायिकाले निजी जीवनका संवेदनशील विषयहरू अन्य व्यक्तिहरूसँग छताछुल्ल बनाएर आफ्नो अपरिपक्वताको पुनः पुष्टी गरेकी छन् ।

पल-दुर्गेश सम्बन्ध

पल र दुर्गेशबीच विगतमा निकै बलियो सम्बन्ध थियो । दुर्गेशका धेरै गीतमा पलले अभिनय गरेका छन् । उनीहरू पारिवारिक रूपमासमेत नजिक थिए । पलकी बहिनीले दुर्गेशलाई भाइटिका लगाउने गर्थिन् ।

जब पल र गायिकाबीचको सम्वन्धमा दरार आउन थाल्यो, त्यसपछि गायिकाले दुर्गेशलाई विश्वास गरेर सबै कुरा सेयर गरिन् । दुर्गेश, सरोज ओली लगायतले सिकाएबमोजिम नै उनले गर्दै गएकी थिइन् । दुर्गेशले समीक्षालाई आफूविरुद्ध उक्साइरहेको भन्दै पल उनीसँग बिच्किए ।

कुनै समय जिग्री दोस्तका रूपमा रहेका पल र दुर्गेशबीच पछिल्लो समय बोलचालसमेत छैन । यसपालीको भाइटिकामा पलकी बहिनीले दुर्गेशलाई टिका लगाइनन् ।

त्यसो त इन्डष्ट्रीमा दुर्गेश पनि पल शाहभन्दा कम प्लेव्वाई मानिँदैनन् । विवाहित दुर्गेशका केही विवाहित/अविवाहित मोडलहरूसँग नाम जोडिएको छ ।

प्रतिक्रिया

One thought on “पल शाहले सार्वजनिक गरे काउण्टर अडिओ, दुर्गेशलगायतले षड्यन्त्र रचेको आरोप

Leave a Reply

Your email address will not be published. Required fields are marked *