तारा एअरले सुरु गर्‍यो इलाममा पहिलो व्यवसायिक उडान – Nepal Press

तारा एअरले सुरु गर्‍यो इलाममा पहिलो व्यवसायिक उडान

काठमाडौं । यति एअरलाईन्सको भगिनी संस्था तारा एअरले इलामको फाल्गुनन्द सुकिलुम्बा एअरपोर्टमा आजबाट व्यवसायिक उडान सुरु गरेको छ । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग कालोपत्रे भइसकेपछि तारा एअरले उडान सुरु गरेको हो ।

तारा एअरको नाईन एनएलओ टुइनअटर वायुयानले हिजो बिहान १०ः४० बजे त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाट उडेर ११ः२७ मा सुकिलुम्बा एअरपोर्टमा अवतरण गरेको थियो ।

तारा एअरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको हो । पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, टानका अध्यक्ष अच्युत गुरागाई, होटल एसोसिएसनका उपाध्यक्ष विनायक शाहसहितको पर्यटन व्यवसायीलगायत यात्रु तथा तारा एअरका प्राविधिक टोली गरी १४ जना यात्रुहरू पहिलो व्यवसायिक उडानमा सहभागी थिए ।

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतलगायत पर्यटन व्यवसायीले उडानमा सहभागीहरुलाई स्वागत गरेका थिए ।

६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको यो विमानस्थलमा पक्की धावनमार्ग बन्नुअघि २०७५ जेठ २१ गते तारा एअरले नै पहिलो परीक्षण उडान गरेको थियो।

तारा एअरले आइतबार र बिहीबार नियमित उडान गर्ने तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार कम्पनीले यो गन्तव्यमा प्रमोशनल फेयरअन्तर्गत ८ हजार ७ सय रुपैयाँ भाडादर निर्धारण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *