निर्माण व्यवसायी महासंघको अध्यक्षका लागि चार आकांक्षी, कसले मार्ला बाजी ? – Nepal Press

निर्माण व्यवसायी महासंघको अध्यक्षका लागि चार आकांक्षी, कसले मार्ला बाजी ?

काठमाडौं । नेपाल निर्माण व्यवासयी महासंघमा नयाँ नेतृत्वको लागि रस्साकस्सी सुरु भएको छ । फागुन २७ र २८ गते हुने २३ औं साधारणसभाबाट चुनिने नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्ष रवि सिंह र वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले खुलेरै प्रचार अघि बढाएका छन् । त्यस्तै हुमनाथ कोइराला र रामशरण देउजाले पनि भित्रभित्रै तयारी थालेको महासंघका पूर्वअध्यक्ष रमेश शर्माले जानकारी दिए ।

सिंह, कोइराला र देउजा नेपाली कांग्रेसनिकट व्यवसायी हुन् । अहिलेको अवस्थामा सिंहले नै पार्टीको समर्थन पाउने सम्भावना प्रबल भएको जानकारहरु बताउँछन् ।

पाण्डेलाई नेकपा एमालेनिकट व्यवसायीको समर्थन रहने नेपाल निर्माण उद्योग परिषद्का सचिव सुरेन्द्र पाठकले बताए । निर्माण व्यवसायीको क्षेत्रमा नेकपा एमालेका ठूला व्यवसायीहरु धेरै छैनन् । तर नेपालको समग्र निर्माण क्षेत्रमा भने एमाले सर्मथित ३० प्रतिशत निर्माण व्यवसायी छन् ।

निर्माण व्यवसायीको निर्वाचनमा राजनीतिक दलको प्रभाव धेरै पर्ने गरेको थियो ।

अध्यक्षका दावेदार सिंहको महादेव खिम्ती निर्माण सेवा कम्पनी छ भने पाण्डे कालिका कन्ट्रक्सनका मालिक हुन् । हुमनाथ कोइरालाको निकोइ बिल्डस् र रामशरण देउजाको कारकोमल निर्माण कम्पनी छ ।

यसअघिको निर्माण व्यवसायी महासंघको चुनावमा दुईवटा प्यानल नै बनेको थियो । अहिले पनि पाण्डे र सिंहले भित्रभित्रै आफ्नो प्यानल बनाएर प्रचारप्रसार गरिरहेका छन् । तर प्यानल घोषणा भने गरेका छैनन् । अन्य दुई जना उम्मेदारले पनि भित्रभित्रै आफ्नो पक्षमा माहोल बनाउने काम गरिरहेका छन् ।

सिंह कांग्रेसको गत महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार थिए । तर उनी पराजित भएका थिए । उनी कांग्रेसका नेता पनि हुन् ।

हालका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका दाबेदार पाण्डे राप्रपाका नेता बिक्रम पाण्डेका छोरा हुन् ।

लामा कन्ट्रक्सन, तुन्दी कन्ट्रक्सन, स्वच्छन्द कन्ट्रक्सन, रमण कन्ट्रक्सन, रसुवा कन्ट्रक्सन, अनक कन्ट्रक्सन, शर्मा एन्ड कम्पनी, कालिका कन्ट्रक्सन, लुम्बिनी कन्ट्रक्सन र विरोध कन्ट्रक्सन महासंघका निर्णायक कम्पनी हुन् ।

यीमध्ये पनि स्वच्छन्द कन्ट्रक्सन, रमण कन्ट्रक्सन, शर्मा एन्ड कम्पनी, कालिका कन्ट्रक्सन, लामा कन्ट्रक्सन, तुन्दी कन्ट्रक्सन, रसुवा कन्ट्रक्सनले जसलाई समर्थन गर्यो, उसैले जित्ने जस्तो नजीर छ ।

यसपटक ठूला निर्माण कप्पनीको साथ पाण्डेले पाएका छन् । यसभन्दा अघि पनि पाण्डे अध्यक्षमा उठ्न लागेका थिए । अर्कोपटक अध्यक्षमा सहयोग गर्ने भनेपछि उनी वरिष्ठ उपाध्यक्ष हुन राजी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *