बीबीसी रेलिगेसन हुने दोस्रो टोली – Nepal Press

बीबीसी रेलिगेसन हुने दोस्रो टोली

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको १२औं चरणअन्तर्गत सातदोबाटो युथ क्लबसँग सोमबार -२ गोलको नतिजामा पराजित भएसँगै ब्रिगेड ब्वाइज क्लब (बीबीसी) तेस्रो पटक ‘बी’ डिभिजन लिगमा घटुवा भएको छ ।

दशरथ रंगशालामा सोमबार भएको खेलमा पराजित भएसँगै बीबीसी जारी सिजनको एक खेल बाँकी रहँदै रेलिगेसनमा परेको हो ।

बीबीसीविरुद्ध सोमबार सातदोबाटोलाई जित दिलाउन सुशील राई, दीपकराज सिंह ठकुरी र निरज चौधरीले एक-एक गोल गरे । यस्तै, बीबीसीका लागि बर्टान्ड ओटोउ र रोशन राना मगरले एक-एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन ।

२०६१ सालमा पहिलो पटक सहिद स्मारक ‘ए’ डिभिजन लिगमार्फत शीर्ष डिभिजनमा डेब्यू गरेको बीबीसी पछिल्लो सिजन पनि रेलिगेसनबाट अन्तिम समयमा उम्किएको थियो । डेब्युपछि हालसम्म सात सिजन खेल्दा बीबीसीले पहिलो र दोस्रो सिजन हासिल गरेको नवौं स्थान नै उत्कृष्ट नतिजा रह्यो ।

बीबीसीले डेब्यु गरेको सिजन शीर्ष डिभिजनको लिगमा १३ टोली सहभागी थिए । पहिलो सिजन खेलेका १२ खेलमा दुई जित, पाँच बराबरी र पाँच पराजय निकालेको बीबीसीले नवौं स्थानमा रहेर सिजन सकाएको थियो ।

त्यसपछि, २०६२ सालमा भएको लिगमा २८ खेलबाट १० जित, दुई बराबरी र १६ हारसहित नवौं स्थानमै रहेर सिजन सकाएको थियो । २०६३ सालमा २६ खेलमा दुई जित, चार बराबरी र २० हारसहित २० अंक जोडेको बीबीसी १४औं स्थानमा रहेर रेलिगेसनमा परेको थियो ।

२०६३ सालमा घटुवा भएपछि २०६८ सालमा फेरि शीर्ष डिभिजन खेलेको बिबिसी त्यही सिजन पुनः रेलिगेसनमा पर्‍यो । २०६८ सालको लिगमा खेलका १७ खेलबाट दुई जित, चार बराबरी र सात हारसहित नौ अंक जोड्दा बीबीसी १६औं स्थानमा सीमित भएको थियो ।

२०७५ सालमा फेरि शीर्ष डिभिजन खेलेको बीबीसी १३ खेलबाट दुई जित, चार बराबरी र सात हारसहित १० अंक जोडेर १२औं स्थानमा रहँदै लिग सकाएको थियो । त्यो सिजन १४ टोलीले लिगमा प्रतिस्पर्धा गरेका थिए भने रेलिगेसन भएको थिएन ।

२०७६ सालमा भएको लिगको १३ खेलमा दुई जित, तीन बराबरी र आठ पराजयसहित नौ अंक जोडेर १३औं स्थानमा रहँदा पुछारमा सीमित एक मात्र सरस्वती युवा क्लब रेलिगेसनमा परेको थियो ।

यो सिजनका १२ खेलबाट एक जित, चार बराबरी र सात हारसहित सात अंकमा सीमित बीसीसी एक खेल अगावै रेलिगेसनमा परेको छ । शीर्ष डिभिजनमा डेब्युट्यान्ट सातदोबाटो १२ खेलबाट आजको जितसँगै १८ अंक जोडेर अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

यसअघि यस सिजन(२०७८ मा च्यासल युथ क्लब पुछारमा रहँदै रेलिगेसनमा परेका थियो । च्यासल र बीबीसी दोस्रो डिभिजनमा घटुवा भएसँगै यस सिजन हुने बी डिभिजन लिगबाट दुई टोली शीर्ष डिभिजनमा बढुवा हुनेछन् ।

जारी लिगको दुई खेलअघि नै शीर्षस्थानमा रहँदै मछिन्द्र फुटबल क्लब लगातार च्याम्पियन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर