गणेश थापाको प्रश्न: मनिष डाँगी बेहोश हुँदा एन्फाका डाक्टर खोई ? – Nepal Press

गणेश थापाको प्रश्न: मनिष डाँगी बेहोश हुँदा एन्फाका डाक्टर खोई ?

काठमाडौं । नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले राष्ट्रिय फुटबलर मनिष डाँगी मैदानमै बेहोश भएको घटनालाई लिएर एन्फाको आलोचना गरेका छन् । खेलाडी जीवनमरणको अवस्थामा छँदा एन्फाका डाक्टर नै मैदानमा नदेखिएको भन्दै उनले आलोचना गरेका हुन् ।

थापाका अनुसार डाँगीको अन दि स्पोट ज्यान जान सक्ने खतरा थियो । तर अफ्रिकन खेलाडीहरु र मच्छिन्द्रका भिजियोले जोगाए ।

‘एन्फाको लापरवाहीले एउटा राष्ट्रिय खेलाडी मृत्यूको मुखमा पुगेको थियो,’ थापाले भने, ‘धन्न अफ्रिकन खेलाडीहरुलाई यस्तो बेला के गर्ने भन्ने आइडीया रहेछ ।’

मैदानमा लडेर बेहोश बनेका मुख बांगिएर जिभ्रो भित्र छिरेको थियो । नेपाली खेलाडीहरु आत्तिएर रुवावासी गर्न थालेका बेला अफ्रिकन खेलाडीले मुख बन्द हुन नदिएर जिभ्रो बाहिर तानेका थिए । मच्छिन्द्रका फिजियो सुरज भुषालले डाँगीलाई सीपीआर (छातिमा थिचेर श्वासप्रश्वास सहज तुल्याउने प्रयास) दिएका थिए । ९ मिनेटपछि डाँगीको होश आएको थियो ।

यस्तो घटना हुँदा पनि एन्फाका डाक्टर घटनास्थलमा नदेखिनु आश्चर्यको विषय भएको थापा बताउँछन् ।

‘एन्फाका डाक्टर ट्वाइलेट गएका थिए रे भन्ने समाचारमा आएका छन्, योभन्दा हास्यास्पद के हुन्छ ?’ उनले भने ।

थापाका अनुसार उनकै कार्यकालमा एकपटक यस्तै घटना भएको थियो । नक्शालको पुलिस हेडक्वार्टरमा भएको खेलमा संकटाका खेलाडी यसैगरि बेहोश भएका थिए । त्यसबेला मैदानमा एन्फाको डाक्टर राख्ने चलन थिएन ।

‘त्यो घटनापछि डाक्टर चाहिन्छ भन्ने भयो । अनि हामीले नै हरेक खेलमा डाक्टर र एम्बुलेन्स स्ट्यान्डबाइ राख्न थालेका हौं,’ उनले भने ।

थापाले थपे, ‘मैदानमा डाक्टर नहुनु भनेको चरम लापरवाही हो । तर यसलाई सामान्य घटनाजस्तो देखाउन खोजिएको छ । यदि खेलाडीको ज्यानै गएको भए को जिम्मेवार हुने थियो ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *