ए डिभिजन लिगः शेर्पा र एनआरटीको गोलरहित बराबरी – Nepal Press

ए डिभिजन लिगः शेर्पा र एनआरटीको गोलरहित बराबरी

काठमाडौं । हिमालयन शेर्पा क्लब र न्यूरोड टीम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा आईतबार भएको पहिलो खेलमा औसत प्रदर्शन गरेका दुवै टोलीले गोल गर्ने केही अवसर सृजना गरेपनि स्कोरमा परिणत हुन भने सकेन ।

खेलको २५औं मिनेटमा शेर्पाले अग्रता लिने मौका गुमाएको थियो । कप्तान विश्वास श्रेष्ठको उत्कृष्ट फ्रि-किक एनआरटीका गोलकिपर अजित प्रजापतिले बचाउ गरे ।

शेर्पाका आशिष गुरुङले ५३ औं मिनेटमा पेनाल्टी एरियाबाट प्रहार गरेको बल एनआरटीका गोलकिपर अजितले नै बचाए ।

विशन गुरुङले ५८औं मिनेटमा पेनाल्टी क्षेत्रको ठीक बाहिरबाट प्रहार गरेको बल अजितले सहजै रोके ।

खेलको निर्धारित समयसम्म पनि दुवै टोलीले पाएका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा अंक बाडेका छन् ।

शेर्पाले जारी लिगमा तीन जित तीन बराबरी र चार हार बेहोरेको छ । यस्तै, एनआरटीले तीन जित पाँच बराबरी र दुईखेलमा हारको नतिजा निकालेको छ ।

बराबरीसँगै एनआरटी १४ अंकसहित तालिकाको सातौं स्थानमा यथावत छ । शेर्पा १२ अंकसहित आठौं स्थानमा छ ।

आज हुने दोस्रो खेलमा तालिकाको छैठौं स्थानको संकटा र नवौं स्थानको एपीएफ भिड्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर