पोखराका फिल्म हललाई फागुनमा पनि बन्दै राख्न प्रशासनको आदेश – Nepal Press

पोखराका फिल्म हललाई फागुनमा पनि बन्दै राख्न प्रशासनको आदेश

काठमाडौं । मुलुकको दोस्रो ठूलो फिल्म बजार पोखराका फिल्म हल फागुनमा समेत बन्द हुने भएका छन् ।

कोरोनाभाइरसको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले फागुन १ गतेदेखि अर्को सूचना जारी नभएसम्म फिल्म हल र रात्रीकालिन व्यवसायलाई बन्दै राख्ने निर्णय गरेको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को सिफारिसको आधारमा प्रशासनले उक्त आदेश जारी गरेको हो । तर, जनस्वास्थ्यका मापदण्ड पालना गरेर शैक्षिक संस्था खुलाउन भने प्रशासनले अनुमति दिएको छ ।

प्रशासनका अनुसार शुक्रबारसम्म कास्कीको कोरोनासंक्रमण दर ३० प्रतिशत छ । समग्र मुलुकको भाइरस संक्रमण दर ओरालो लागेपनि कास्कीमा भने कोरोना संक्रमण दरमा गिरावट नआएको प्रशासनले जनाएको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले चाहिँ फागुन १ गतेदेखि फिल्म हल र रात्रीकालिन व्यवसाय संचालन गर्न अनुमति दिएको थियो । साथै, सम्बन्धित जिल्ला संक्रमण परिस्थिती हेरेर निर्णय गर्न डीसीसीएमसीलाई अधिकार पनि दिएको थियो ।

काठमाडौंपछि नेपाली फिल्मको ठूलो बजार पोखरा र नारायणगढ हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *