संगीतकार खड्काद्वारा गीत चोरीको आरोप अस्वीकार, कानूनी उपचारमा जान चुनौती – Nepal Press

संगीतकार खड्काद्वारा गीत चोरीको आरोप अस्वीकार, कानूनी उपचारमा जान चुनौती

काठमाडौं । यसैसाता रिलिज भएको आफूद्वारा संगीतबद्ध गीत ‘नोगेन’लाई चोरीको आरोप लागेपछि संगीतकार महेश खड्काले कानूनीरुपमा त्यसलाई पुष्टि गर्न चुनौति दिएका छन् ।

विहिबार अर्का संगीतकार वसन्त सापकोटाले फिल्म सिलसिलामा समावेश ‘सागरसरी चोखो माया’ गीतबाट उक्त गीत चोरिएको आरोप लगाएका थिए ।

सापकोटाले आरोप लगाएको एक दिनपछि शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै खड्काले उनका आरोपहरु अस्वीकार गरेका हुन् ।

प्रेसमिटमा उनले भने, ‘यदि चोरेको लाग्छ भने उहाँ कानूनी उपचारमा नगएर किन मिडियाबाजी गर्दै हुनुहुन्छ ? उहाँले कुण्ठित मनासयले मेरो सम्मानमा आँच आउने ढंगले अघि बढ्नुभएको छ ।’

सिर्जना कपि गरेको आरोपमा दोषी देखिए कपिराइट रजिस्टर कार्यालयमार्फत कानूनी उपचारमा जान सापकोटालाई खड्काको चुनौति थियो । ‘चित्त बुझेको छैन भने कानूनी उपचारका बाटा छन्, मिडियामा गएर भन्ने होइन’ उनले भने ।

एकले अर्कोलाई दोष देखाएर नेपाली संगीत क्षेत्र कहिँपनि नपुग्ने बताउँदै खड्काले यो विवादले उल्टै सापकोटालाई हानी गर्ने जिकिर गरे । ‘चोर भनेर आरोप प्रत्यारोप गर्ने हो भने नेपाली संगीत क्षेत्रमा कोहि पनि अघि नबढे हुन्छ । यो विवादले स्वयम बसन्त भाईलाई घात गर्छ’ उनले भने ।

सिर्जना हुबहु चोरेका वा नचोरेको भन्ने कुरामा आफू सचेत रहेको उनको भनाई छ । ‘राग र ताल कसैको पेवा हैन । संसारमै चलेका कड् र तालबाट हामीले गीत संगीत निर्माण गरिरहेका हुन्छौं’ उनले भने, ‘काम गर्दै जाँदा केही कुराहरु मिलिरहेका हुन्छन् ।’

तर, संगीतकार सापकोटाले चाहिँ गीत चोरी भएको आरोप लगाउँदै गीतम आफ्नो नाम पनि उल्लेख गर्न आग्रह गरेका छन् । रुक्सना लिम्बु र प्रमोद खरेलको स्वर रहेको गीत नोगेन नेपाली युट्युव ट्रेन्डिङको शीर्षस्थानमा स्ट्रिमिङ भैरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *