स्टेजबाट गायक-गायिका मालामाल, सर्जकको रोयल्टीमा गोलमाल – Nepal Press

स्टेजबाट गायक-गायिका मालामाल, सर्जकको रोयल्टीमा गोलमाल

काठमाडौं । केही समयअघि गायिका अञ्जु पन्तले गाएको ‘न बिर्सें तिमीलाई’ नवगायिका रचना रिमालको स्वरमा पुनः रेकर्डिङ भएर युट्युबमा सार्वजनिक भयो । गीत सार्वजनिक भएपछि अनेक कोणबाट विमर्श भए । उक्त गीत गीतकार विपिन किरणले लगानी गरेर आफ्नै च्यानलबाट सार्वजनिक गरेका थिए ।

डेढ दशकअघि अन्जुको स्वरमा सार्वजनिक भएको गीत अहिले म्युजिक नेपालको अफिसियल युट्यूब च्यानलमा छ । झण्डै ७० लाखले हेरिसकेको गीतबाट प्राप्त रोयल्टी अथवा आम्दानीको हिसाबकिताब कस्तो छ ? जबकि विपिन स्वयंले लगानी गरेर ‘किरण’ एल्बममा समावेश गीत हो यो । रन्जना क्यासेटले बजारमा ल्याएको यो एल्बमबाट विपिनले लगानीकर्ता र गीतकारको हैसियतमा कति लाभ पाए ? अन्जु पन्तले कति ठाउँमा यो गीत गाइन्, पारिश्रमिक बुझिन् ? उनीहरुलाई नै थाहा होला ।

विपिन भन्छन्, ‘स्रष्टा र लगानीकर्ताको हैसियतमा त्यो मेरो सम्पत्ति हो । तर, बाहिर गइसकेको गीतलाई आफ्नो बनाउनका लागि पनि मैले रचना रिमालको स्वरमा फेरि आफैंले लगानी गरेर आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । आफ्ना गीतहरुलाई आफ्नै मातहतमा ल्याउन लामो समयदेखि कसरत गरिरहेको छु । तर, सोचेजस्तो भइरहेको छैन ।’

आफ्नो सृजनाले अनेक तरीकाले कमाइरहँदा त्यसबाट लाभ लिन नपाइरहेका विपिन एक्ला स्रष्टा होइनन् । धेरै स्रष्टा आफ्ना सृजनाबाट प्राप्त हुने आर्थिक लाभबाट वन्चित भएका छन् । फितलो कानुन, राज्यको उदासिनता र हकअधिकारका लागि गठित संघसंस्थाको कमजोर कार्यसम्पादनका कारण पनि स्रष्टाहरू झनै दलदलमा फसिरहेको उनीहरु नै खुलमखुल्ला बताउने गरेका छन् ।

पहिला क्यासेटहरुमा मात्रै बजार रहेको गीत संगीत अहिले डिजिटल दुनियाँमा विस्तार भएको छ । युट्यूब, आइट्यून्स, स्पोटिफाइ लगायत सयौं संख्याका डिजिटल प्लेटर्फममा आफ्ना गीतहरु बजिरहँदा पनि स्रष्टाहरुले त्यहाँबाट प्राप्त आम्दानीबाट लाभ लिन पाएका छैनन् । संगीतकार संघ, गीतकार संघ जस्ता संस्थामार्फत् स्रष्टाहरु आफ्नो सृजनाबाट प्राप्त हुने आर्थिक अधिकारका लागि लडिरहेकै छन् । तर, भनेजस्तो नतिजा प्राप्त हुन नसकेको उनीहरुको गुनासो छ ।

स्रष्टाहरुको लडाइँ यहाँ मात्रै छैन । गीतकारले गीत लेखेपछि संगीतकारले मेलोडी तयार गर्छन् । गायक गायिकाले गाएर सार्वजनिक भएपछि करोडौँ दर्शक स्रोताले सुन्छन्/हेर्छन् । गीत हिट भयो भने गायक गायिकाले स्टेज शो, कन्सर्टहरु पाउँछन् । लाखौं पारिश्रमिक लिन्छन् । तर, गीतकार र संगीतकारका दुःख भने उस्तै भइरहन्छ । न कुनै रोयल्टी पाउँछन्, न त करोडौँले सुनेबापत कुनै आर्थिक लाभ नै ।

गीतकार कृष्णहरि बराल भन्छन्, ‘गायक गायिकालाई आयोजकले गीत सुन्न बोलाउने हो, गफ सुन्नका लागि होइन । शब्दभन्दा पर गीतको सम्भावना पनि छैन । त्यो गीत गीतकार र संगीतकारको पनि हो । स्रष्टाहरुको सृजना सुनाउन प्रस्तोता स्टेजमा पुग्छन्, लाखौं पारिश्रमिक पाउँछन् । तर, हामी भने हाम्रो गीत बज्यो भनेर मात्रै मख्ख !’

गायक गायिकाले स्टेजमा गीत गाउँदै गर्दा गीतकार, संगीतकारको सृजना भएकाले उनीहरुको पारिश्रमिकबारे पनि आयोजकसँग कुराकानी गर्न सक्नुपर्ने बरालको तर्क छ । भन्छन्, ‘एउटा राम्रो गीत बन्नका लागि हाम्रो अहम् भूमिका हुन्छ । प्रस्तोताहरुले दुई लाख पारिश्रमिक पाउँदै गर्दा स्रष्टाले पचास हजार पाउँदा के जान्छ र !’

स्रष्टाहरुको लडाइँ यहाँ मात्रै छैन । गीतकारले गीत लेखेपछि संगीतकारले मेलोडी तयार गर्छन् । गायक गायिकाले गाएर सार्वजनिक भएपछि करोडौँ दर्शक स्रोताले सुन्छन्/हेर्छन् । गीत हिट भयो भने गायक गायिकाले स्टेज शो, कन्सर्टहरु पाउँछन् । लाखौं पारिश्रमिक लिन्छन् । तर, गीतकार र संगीतकारका दुःख भने उस्तै भइरहन्छ । न कुनै रोयल्टी पाउँछन्, न त करोडौँले सुनेबापत कुनै आर्थिक लाभ नै ।

तर, कतिपय अवस्थामा त उनीहरुले ‘मेरो गीत’ भनेर नै दाबी गरिदने र आफूहरुको नामै छुटाइदिने बरालको तीतो अनुभव छ । उनी प्रश्न गर्छन्, ‘स्वर पो उहाँहरुको हो त ! शब्द गीतकारको हो, मेलोडी संगीतकारको हो नि !’

यस्तो तीतो अनुभव बोकेर हिँडेका बराल एक्ला भने होइनन् । अधिकांश स्रष्टाहरुको यस्तै गुनासाहरु छन् । पछिल्लो समयमा चर्चित गीतकार हर्क साउदको ‘तीनपाते’ र ‘के माया लाग्छ र’ बाहेक धेरै गीत कहाँ छन्, उनैलाई थाहा छैन । तिनले कति आम्दानी गरिरहेका छन् अथवा ती गीतबाट सर्जकको हैसियतमा कति रोयल्टी पाउनुपर्ने हो, कुनै जानकारी प्राप्त गरेका छैनन् ।

आर्टमाण्डुबाट सार्वजनिक भएका यी दुई गीतको चाहिँ युट्यूबलगायत डिजिटल प्लेटफर्मबाट प्राप्त आम्दानीमा साउदको पनि हिस्सा छ । तर, गायकले चाहिँ लिँदैनन् । गायकले कन्सर्टहरुमा पाएको पारिश्रमिक चाहिँ उनैले लिने गरी एक खालको सम्झौता भएको बताउँछन् साउद ।

साउद आक्रोश पोख्दै भन्छन्, ‘गीतकारका शब्द र संगीतकारको मेलोडीलाई प्रयोग गरेर सिकार खेल्ने । सिकार मार्ने पनि । तर, भएजत्ति सबै सिकार एक्लै आफैं खाने गर्छन् । यो दुःखलाग्दो पाटो हो ।’

पछिल्लो समयमा संजालमा छलफलमा आएको ‘नबिर्सें तिमीलाई’ गीतबारे भन्छन्, ‘जसले त्यो गीत लगानी गरेको हो, उसले रिमेक गर्न पाउँछ । गीतलाई स्टेजमा गाएवापत् अन्जु दिदीले कति कमाउनु भयो होला ! तर, यति प्रतिशत तपाईंको हो भनेर स्रष्टालाई दिनुभयो होला र ? कतिपय ठाउँमा त गायक÷गायिकालाई पारिश्रमिक दिएरै गीत रेकर्ड गराइएको हुन्छ ।’

आफ्नो ‘तीनपाते’ र ‘के माया लाग्छ र’ बाहेक सबै गीतहरुको अवस्था दयानीय रहेको साउदको दुखेसो छ । फिल्मका लागि लाखौं खर्चिने निर्माताले गीतकारका लागि पाँच/दश हजार दिन पनि कन्जुस्याइँ गर्नेहरु पनि देखेका छन् उनले । पाँच/दश हजार भनेर दुई हजारमा झारा टार्नेहरु पनि देखेका छन् ।

‘मैले रोयल्टी संकलन समाजबाट पनि एक रुपैयाँ हात पारेको छैन । हाम्रा गीत युट्युब च्यानललाई बेच्छन् । फिल्मकै गीतमा पनि डिजिटल कम्पनी र फिल्मको सम्झौता हुन्छ । त्यहाँ हामीलाई सहभागी गराइन्न,’ साउद सुनाउँछन्, ‘कता कसरी सम्झौता गराए, थाहा हुन्न । त्यसो भएपछि सर्जकको् हैसियतमा रोयल्टीको कुरा गर्ने ठाउँ नै सकिन्छ ।’

गीतमा पहिलो अधिकार नै स्रष्टाको भएकाले स्रष्टालाई नसोधी गीत रेकर्ड गराउने, गाउने काम कानुनसम्मत नभएको गीतकार बरालको तर्क छ । भन्छन्, ‘कुनै पनि गीतको पहिलो अधिकार त स्रष्टाको हो नि !’

बरालका डेढ सय ज्यादा त फिल्मी गीत मात्रै छन् । तर, रोयल्टी त धेरै परको कुरा, युट्यूबमा कतिपय गीतमा उनको नाम पनि छैन । उनले लेखेका गीतमा तीनजनासम्मको नाम पनि राखिएको छ । बराल भन्छन्, ‘गीतमा मेरो नामकै हालत यस्तो छ । साथै स्टेजमा पनि नाम भनिँदिँदैनन् कतिले त । त्यो अज्ञानता वा बदमासी पनि हुनसक्छ । तर, उहाँहरुलाई बिर्सिएर पनि नाम छुटाउने छुट छैन ।’

कवि तथा गीतकार श्रवण मुकारुङले फेसबुकमार्फत् ‘जसले गीतकार र संगीतकारलाई बेवास्ता गरी तिनका सृजनालाई आफ्नो निजी सम्पत्ति ठान्छन्, तिनका नाममा’ भन्दै स्टाटस लेखेका छन् ।

उनी लेख्छन्, ‘गायक गायिकाले क्यासेट एल्बमका लागि गीत माग्थे, हामी थोरै पारिश्रमिक वा त्यतिकै दिन्थ्यौं । तिनले क्यासेट बेच्थे, कमाउँथे । विस्तारै तिनले देश विदेशमा स्टेज शो गर्न थाले, राम्रो कमाउन थाले । हामीले कहिल्यै स्टेज शोमा गाए वापत्को आफ््नो पारिश्रमिकको कुरा उठाएनौँ ।’

‘तिनले स्टेजमा हाम्रो नाम समेत लिन छोडे । मानौँ, रचनाकार, संगीतकार ती आफैं हुन् । अहिले भिडियो बनाएर युट्युबमा राख्ने ट्रेण्ड छ । हामीले यसको पनि हालखबर सोधेनाँै,’ ‘तिमी तारे भिर’ बोलको गीतको रिमेक गरेका मुकारुङ भन्छन्, ‘अहिले रिमेकको जमाना किन आयो त ? सारमा पैसाको कुरा नै हो । बाघको छालामा स्यालको रजाइँ भनेको यही हो । होइन भने तिनले गाएको (आवाजको) भर्सन मात्रै हो तिनको हो ।’

‘गायक गायिकालाई आयोजकले गीत सुन्न बोलाउने हो, गफ सुन्नका लागि होइन । शब्दभन्दा पर गीतको सम्भावना पनि छैन । त्यो गीत गीतकार र संगीतकारको पनि हो । स्रष्टाहरुको सृजना सुनाउन प्रस्तोता स्टेजमा पुग्छन्, लाखौं पारिश्रमिक पाउँछन् । तर, हामी भने हाम्रो गीत बज्यो भनेर मात्रै मख्ख !’- गीतकार कृष्णहरि बराल

संगीतकार तथा गायक विक्रम राई पनि सृजना गर्ने सर्जकहरु पीडित भएको गुनासो गर्छन् । उनी भन्छन्, ‘हिजो म्युजिक कम्पनीबाट चरम पीडित भएका सर्जकले आज पनि पारिश्रमिकसहित गायक गायिकालाई गाउन लगाउँछन् । गीत हिट भएमा उनीहरुले वाहवाही पाउने, सबै क्रेडिट उनीहरुले लिने, सबै मेरै हो भनेर संसार डुल्ने, टन्न पैसा कमाउने । अनि ओझेलमा परेको सर्जकलाई अलिकति नैतिकता पनि नदेखाउने गर्छन् ।’

सृजनाबाट प्राप्त आर्थिक लाभबाट वर्षौं वन्चित भएपछि रि-रेकर्ड, रि-अरेन्ज, रि-प्राइज, रि-मेक गरी नयाँ भर्सनमा आफ्नो सृजना आफ्नैै बनाउन सर्जकहरु लागिपर्नु स्वभाविक रहेको उनको तर्क छ । त्यो सर्जकको अधिकार पनि रहेको दाबी गर्छन् उनी ।

संगीतकार संघका अध्यक्ष पारस मुकारुङ भने अबदेखि स्रष्टाहरुले कागज गरेर आफ्नो सृजना सुरक्षित राख्नुपर्ने बताउँछन् । भन्छन्, ‘हिजोका दिनमा मौखिक मात्रै हुन्थ्यो, अब कागज पनि गर्नुपर्छ । तर, पाँच वर्षभन्दा बढीको गर्नु हुँदैन ।’ साथै आफूहरु स्रष्टाहरुको् हकहितका लागि निरन्तर लागिपरिरहेको मुकारुङको भनाइ छ ।

पछिल्लो समय स्रष्टाहरुले आफ्नो आर्थिक अधिकार दाबी गर्दै दृश्यमा देखिनुलाई समयको माग भएको बताउँछन् गीतकार संघ नेपालका उपमहासचीव रमेश कोइराला । भन्छन्, ‘हिजोका दिनमा स्रष्टाहरु आफ्नै सृजनाको बलमा बाँचेका थिए । आजका दिनमा त्यो सृजनाले कसरी हामीलाई बचाउँछ भनेर लागिपरेका छन् ।’ प्रस्तोताले जस्तो प्रस्तुति दिन्छ, त्यसवापत् स्रष्टाले पाउने हकअधिकारको ग्यारेन्टी हुनुपर्ने कोइरालाको तर्क छ ।

कानून संशाेधन भइरहे पनि कानूनले जति ग्यारेन्टी गरेको छ, त्यो मात्रामा प्रस्तोताले स्रष्टालाई हकअधिकार दिनुपर्ने बताउँछन् उनी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *