कीर्तिमानी कुशल र ओपनिङ जोडीको रापताप – Nepal Press
सन्दर्भ : टि–२० विश्वकप क्वालिफायर

कीर्तिमानी कुशल र ओपनिङ जोडीको रापताप

काठमाडौं । नेपाली क्रिकेटमा लामो समयदेखिको टाउको दुखाइ थियो ओपनिङ जोडी । नेपाली टिमकै ‘विक लिंक’ का रूपमा ओपनिङ जोडीलाई नै लिने गरिन्थ्यो । तर, अहिले परिस्थिति फेरिएको छ ।

पछिल्लो समय, खासगरी टि–२० क्रिकेटमा कुशल भुर्तेल र आसिफ शेखको जोडीले नेपालको ब्याटिङ स्तरलाई माथि उकालेका छन् । र, ओपनिङ जोडीलाई नेपालको बलियो पक्ष मान्न थालिएको छ । आसन्न टी–२० वर्ल्ड क्वालिफायर्समा पनि नेपालले कुशल र आसिफबाट धेरै आशा राखेको छ ।

गत वर्ष नेपालमा सम्पन्न त्रिकोणात्मक टि–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाबाट कुशल भुर्तेलको करिअरले नयाँ मोड लियो । उनले आफ्नो मात्र होइन, नेपाली ब्याटिङकै अन्दाज बदलिदिए । त्यस प्रतियोगितामा उनले लगातार ३ खेलमा सहित ४ अर्धसतक बनाउँदै कीर्तिमान रचेका थिए । उनलाई अर्को इन्डबाट आसिफले बलियो साथ दियो । यो जोडीलाई नेपाली टिमले अहिलेसम्म प्राप्त गरेको सर्वोत्कृष्ट ओपनिङ जोडीको रुपमा हेरिएको छ ।

नेपालले उक्त प्रतियोगिताको उपाधि जित्दा कुशल प्लेयर अफ दी सिरिज भएका थिए । डेब्यु खेलदेखि लगातार सर्वाधिक अर्धसतक बनाउने विश्व कीर्तिमान उनले बनाए । नेपालले बलियो टोली नेदरल्यान्ड्सविरुद्ध फाइनलमा २ सय ३८ रन जोड्दा कुशलले ५३ बलमा ३ छक्का र ८ चौकासहित सर्वाधिक ७७ रन बनाएका थिए । टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले त्यसअघि त्यति धेरै रन बनाएको थिएन।

कुशलले टि–२० अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलमै अर्धसतक बनाएर आफ्नो यात्रा सुरु गरेका थिए । त्यस खेलमा नेपालले एक सय ३७ रनको लक्ष्य एक विकेट मात्र गुमाएर पुरा गर्दा कुशलले ६२ रन जोडेका थिए ।

दोस्रो खेलमा नेपालले मलेसियाविरुद्ध एक सय १० रनको लक्ष्य एक विकेट मात्र गुमाएर पुरा गर्दा पनि कुशलले ६१ रन बटुले । तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध २ सय ७ रनको लक्ष्य प्रस्तुत गर्दा उनले ६२ रनको पाली खेले । चौथो खेलमा भने उनी मलेसियाविरुद्ध १६ रनमा आउट भएका थिए । प्रतियोगिताभर कुशलले २ सय ७८ रन जोडेका थिए ।

एउटा ओपनर ब्याट्सम्यानमा हुनुपर्ने धेरै गुण कुशलसँग छन् । उनको ब्याटिङमा संयम् र आक्रामकताको मिश्रण छ । आवश्यकताअनुसार ठूला सटहरु खेल्न सक्छन् भने विकेटमा टिक्न पनि सक्छन् । दवाव नलिइकन निस्फिक्री खेल्ने आदतले उनलाई टि–२० मा निकै प्रभावकारी तुल्याएको छ । त्यसैले नेपालको विश्वकप यात्रामा उनको भूमिका निकै महत्वपूर्ण हुन सक्छ ।

आसिफसँग साझेदारी

नेपालमा सम्पन्न उक्त शृंखलामा आरिफ शेखसँग कुशलको साझेदारी गज्जब रह्यो । पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेटका लागि उनीहरुले एक सय १६ रनको साझेदारी गरेका थिए । दोस्रो खेलमा मलेसियाविरुद्ध पनि शतकीय साझेदारी दोहोर्याए । तेस्रो खेलमा भने उनीहरुको जोडी २० रनमै टुट्यो । चौथो खेलमा ३३ र फाइनलमा ३० रनको साझेदारी भएको थियो ।

आसिफले पनि त्यही प्रतियोगितामार्फत टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । प्रतियोगितामा पाँच खेलमा आसिफले एक अर्धसतकसहित एक सय ५४ रन जोडे ।

कुशल र आसिफ क्रिजमा रहँदा उनीहरुको तालमेल निकै राम्रो देखिन्छ । दुवै विकेटको बीचमा तेज दौडिन्छन् र प्रशस्त सिंगल र डबल्सहरु बटुल्छन् । कुशलजस्तै आसिफ पनि ठूला चाहिएका बेला आक्रामक रवैया देखाउन सक्छन् । अन्यथा संयमित भएरै खेल्छन् ।

शतकको प्रतिक्षा

कुशल र आसिफ दुवैले एकपछि अर्को अर्धशतक बनाए पनि शतकबाट भने चुकिरहेका छन् । नेपालले ओमान भ्रमणका क्रममा लगातार कम्तिमा ८ वटा खेल खेल्दा उनीहरुसँग शतकीय आँकडा छुनसक्ने अवसर छ ।

यसअघि टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि पारस खड्का र ज्ञानेन्द्र मल्लले मात्र शतक बनाउन सकेका छन् । दुबैको नाममा एक–एक शतक छ । ३३ खेलमा एक शतक र चार अर्धसतकसहित ७ सय ९९ रन बनाएका पारस नेपालका लागि सर्वाधिक टि–२० अन्तर्राष्ट्रिय रन बनाउने ब्याट्सम्यान हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन् । ३२ खेलमा एक शतक र एक अर्धशतकसहित ६ सय ७३ रन जोडे‍का ज्ञानेन्द्र दोस्रोमा छन् ।

दीपेन्द्रसिंह ऐरीले २६ खेलमा एक अर्धशतकसहित ४ सय ७७ रन बनाएका छन् । विनोद भण्डारीले ३५ खेलमा २ अर्धशतकसहित ३ सय १९ र शरद भेषावकरले १७ खेलमा ३ सय १० रन बनाएका छन् । त्यसपछि नेपालका लागि सबैभन्दा बढी रन बनाउने कुशल हुन् ।

नेपालले ओमानमा चार देशसम्मिलित शृंखला र त्यसपछि टीट्वेन्टी विश्वकपको विश्वस्तरको छनोट खेल्दा ब्याटिङतर्फ सबैको नजर कुशल र आसिफमा रहने छ । उनीहरुले बलियो प्लेटफर्म बनाएको खण्डमा त्यसमा टेकेर ठूलो स्कोर खडा गर्ने बलियो मध्यक्रम नेपालसँग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर