औषधि मूल्य समायोजनको प्रक्रिया अघि बढाइने : कार्यविधि बनाउन सरकारको निर्देशन – Nepal Press

औषधि मूल्य समायोजनको प्रक्रिया अघि बढाइने : कार्यविधि बनाउन सरकारको निर्देशन

काठमाडौं । औषधिको मूल्य बढाउन सरकारले समायोजनको प्रक्रिया अघि बढाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सम्बद्ध निकायको बैठकले औषधिको सहज उपलव्धता र आपूर्तिका लागि मूल्य समायोजनको प्रक्रियालाई अघि बढाउने निर्णय गरेको हो ।

राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा बसेको उक्त बैठकले औषधिको बैज्ञानिक मूल्य समायोजनका लागि कार्यविधि बनाउन औषधि व्यवस्था विभागलाई जिम्मा दिने निर्णय गरेको छ ।

विभागले अध्ययन गरेर कार्यविधि बनाउने र निर्णयका लागि स्वास्थ्य मन्त्रालयमा पठाउने बैठक सहभागि एक सदस्यले नेपाल प्रेसलाई बताए । विभागका महानिर्देशक भरत भट्टराईले मूल्य समायोजनका साथमा विभागको पुर्नसंरचना, राष्ट्रिय औषधि ऐन तथा नीतिमा संसोधन लगायतका महत्वपूर्ण विषयमा छलफल भएको जानकारी दिए ।

उनले भने, ‘मूल्यका विषयमा निर्णय लिनका लागि कार्यविधि बनाएर अघि बढ्ने, डीडीएको संरचनागत परिवर्तन, जनशक्ति पूर्वाधार र साधनस्रोत सम्पन्न बनाउने, ऐन तथा नीतिमा भएका कतिपय बुँदाहरुलाई संसोधन गर्ने गर्ने भन्ने विषयमा कुरा भएको छ ।’

नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले औषधिका क्षेत्रमा विगतमा पनि महत्वपूर्ण निर्णय भएका ती कार्यान्वयनको साटो दराजमा थन्किएको अवस्था रहेको भन्दै निर्णयपछि कार्यान्वयन हुनुपर्छ भन्ने मान्यता आफ्नो रहेको बताए ।

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालले विभागको नेतृत्व तहमा कुर्सीलाई लिएर विवाद भैरहेको र यसले औषधिका क्षेत्रमा राम्रो काम हुन नसकेको भन्दै आलोचना गरेका थिए । उनले अत्यावश्यक जीवन रक्षक औषधि बनाउन सरकारी स्वामित्वको नेपाल औषधि लिमिडेटलाई जिम्मा दिन सकिने समेत प्रस्ताव राखेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *