मनाङमा हिमपातका कारण रोकिएको बुस्टर डोज खोप पुनः सञ्चालन – Nepal Press

मनाङमा हिमपातका कारण रोकिएको बुस्टर डोज खोप पुनः सञ्चालन

मनाङ । हिमाली जिल्ला मनाङमा हिमपातका कारण रोकिएको कोरोनाभाइरसविरुद्धको खोपको बुस्टर डोज पुनः सञ्चालनमा आएको छ ।

माघ २० गतेदेखि मनाङ ङिस्याङ गाउँपालिकामा बुस्टर खोप अभियान सञ्चालन भए पनि हिमपातका कारण रोकिएको थियो । खोप आजै माथिल्लो मनाङवासीलाई लगाउन सकिने स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए ।

“बुस्टर खोप लगाउन छुटेका व्यक्तिका लागि उनीहरु जिल्लामा आएपछि लगाउने व्यवस्था गरिएको छ । ‘‘उहाँहरु सम्पर्कमा आउनुपर्ने हुन्छ, सूचना पनि जारी गरिएको छ,” उनले भने । कोभिसिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका नागरिकका लागि कोरोना सङ्क्रमण विरुद्धको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन अतिरिक्त खोपको रुपमा ‘बुस्टर’ खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

यसका लागि सरकारले कोभिसिल्ड र भेरोसिल्ड खोप स्वास्थ्य कार्यालयमा उपलब्ध गराएको छ । जिल्लाका स्थानीय तह अन्तर्गतको शाखामा खोप पठाइसकिएको स्वास्थ्य प्रमुख आचार्यले बताए । अधिकांश नागरिकले कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाइसकेका छन् ।

उनका अनुसार यसअघि १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई मोडर्ना खोप लगाइएकामा दोस्रो मात्राको मोडर्ना खोप पनि जिल्लामा आइसकेको छ । तर जाडो छल्न बेँसी (जिल्लाबाट बाहिर) जाने भएकाले सबै बालबालिकालाई खोप लगाउन नसकिएको प्रमुख आचार्यले बताए ।

हिमपातकै कारण नार्पाभूमि गाउँपालिकामा भने खोप अभियान सञ्चालन गर्न नसकिएको उनले बताए । नासों गाउँपालिकामा तोकिएका केन्द्रमार्फत लक्षित सबै वर्गका व्यक्तिलाई बुस्टर खोप लगाइसकिएको उनले बताए । उनका अनुसार चामे गाउँपालिका, नासों गाउँपालिकामा भने खोप लगाइसकिएको छ ।

गत विसं २०७७ माघ महिनामा नै १८ वर्षमाथिका उमेर समूहका मनाङ जिल्लावासीले पूर्ण मात्रा खोप लगाइसकेका छन् । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका सबैलाई भने खोप लगाइसकिएको छैन । हिउँदमा चिसोका कारण जिल्ला बाहिर बसाइँ जाने भएकाले बालबालिकालाई खोप लगाउन नसकिएको स्वास्थ्य प्रमुख आचार्यले बताउनुभयो ।

मनाङमा माइनस २० डिग्री तापक्रममा समेत स्थानीय नागरिक बुस्टर खोप लगाउन उत्साहजनक सहभागिता रहेको उहाँले बताउनुभयो । जिल्लाका तीन स्थानीय तहका १२ देखि १८ वर्षमुनिका बालबालिकाले मोडर्नाको पहिलो मात्रा खोप लगाएका थिए । तर, नार्पाभूमि र माथिल्लो मनाङका बालबालिकाले भने यो खोप लगाउने मौका पाएनन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *