साउनयता पाँचपटक मूल्यवृद्धि, आयल निगम भन्छ- अझै ३५ रूपैयाँसम्म बढ्न सक्छ – Nepal Press
पेट्रोलियम पदार्थ

साउनयता पाँचपटक मूल्यवृद्धि, आयल निगम भन्छ- अझै ३५ रूपैयाँसम्म बढ्न सक्छ

'यस्तै रहे आपूर्ति अवरोध हुनसक्छ'

काठमाडौं । कोरोनाले थलिएको अर्थतन्त्रबीच जनजीविकासँग जोडिएका वस्तु तथा सेवामा निरन्तरको महँगीले जनता थप मारमा छन् । यही क्रममा सरकारले बेलाबेला मूल्य बढाइरहँदा उपभोक्ता आजित भएका छन् । मूल्यवृद्धिको चौतर्फी विरोध पनि भइरहेको छ ।

पछिल्लोपटक मंगलबार राति सरकारले पेट्रोलियम पदार्थको भाउ बढायो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १३९ बाट १ सय ४२ तथा डिजेल र मट्टितेलको प्रतिलिटर १ सय २२ बाट १ सय २५ रूपैयाँ पुर्‍याइयो ।

साथै आन्तरिक हवाई ईन्धनमा प्रति लिटर १० रूपैयाँले बढाएर बिक्री मूल्य १ सय १६ रूपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर एक सय बढाएर एक हजार ९५ कायम गरिएको छ ।

एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ८१ रूपैयाँ घटाएर भारतले नयाँ मूल्य पठाउँदा पनि यहाँ पुरानै मूल्य १ हजार ५ सय ७५ छ । निगमले अझै प्रतिसिलिण्डर ५ सय ६० घाटा भइरहेको बताएको छ ।

२०७० फागुन ३० गते पेट्रोल प्रतिलिटर १ सय ४० रूपैयाँ थियो । अहिले १ सय ४२ पुगेको छ ।

नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले अहिले विश्वबजारमा पेट्रोलिय पदार्थको मूल्य प्रतिव्यारल ८५ देखि ८८ डलर रहेको बताए ।
उपाध्यायले भने, ‘अहिले ८८ प्रति व्यारल मूल्य रहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर प्रतिव्यारल १२० डलरसम्म पुग्न सक्ने अवस्था रहेको छ । प्रतिव्यारल १ डलर मूल्य वृद्धि हुँदा नेपालमा प्रतिलिटर करिब १ रूपैयाँ बढ्छ । प्रतिव्यारल ८५ बाट १२० डलर मूल्यवृद्धि हुँदा नेपालको पेट्रोलिय पदार्थमा प्रतिलिटर ३५ रूपैयाँसम्म बढ्नसक्छ । विश्व बजारमा कच्चा तेलको मूल्यवृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा पनि पर्छ । विश्व बजारमा मूल्य घट्दा नेपालमा पनि घट्छ र बढ्दा नेपालमा पनि बढ्छ ।’

विश्व बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भइरहने र नेपाल आयल निगमलाई निरन्तर घाटा मात्रै भइरहने हो भने पेट्रोलियम पदार्थ आयातमा समेत समस्या हुनसक्ने उपाध्यायले बताए ।

अहिलेसम्म कै उच्च मूल्य हुँदा पनि नेपाल आयाल निगमलाई प्रतिलिटर १३ रूपैयाँ २३ पैसा र डिजेलमा ११ रूपैयाँ १३ पैसा घाटा छ । मट्टितेल, आन्तरिक हवाई ईन्धन र अन्तर्राष्ट्रिय हवाई इन्धनमा भने फाइदा छ ।

हाल पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल आयाल निगमलाई १५ दिनमा २ अर्ब २३ करोड घाटा हुने निगमले बताएको छ ।

यो आर्थिक वर्षमा कति पटक मूल्य बढाइयो ?

साउनयता पेट्रोलियम पदार्थको मूल्य ५ पटक बढिसकेको छ । समायोजनअनुसार अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार १५/१५ दिनमा मूल्य तलमाथि हुने गर्छ । यो आर्थिक वर्षको भदौमा मात्रै पेट्रोलिय पदार्थको मूल्यवृद्धि भएको छ । भदौ ७ गते ग्यासबाहेक सबै प्रकारका पेट्रोलिय पदार्थको भाउ बढेको थियो ।

भदौ ७ मा पेट्रोलको मूल्य प्रतिलिटर १२८ रूपैयाँबाट बढाएर १३० पुर्‍याइयो । डिजेल र मट्टितेल २ रूपैयाँ वृद्धि गरी लिटरको ११३ कायम गरियो ।
त्यस्तै, आन्तरिक हावई इन्धन प्रतिलिटर ८४ रूपैयाँबाट ८६ रूपैयाँ प्रतिलिटरबाट नयाँ मूल्य कायम भएको थियो । भने, अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलो लिटर अमेरिकी डलर ७ सय ५४ बाट वृद्धि भइ अमेरिकी डलर ७ सय ७७० पुगेको थियो ।

कात्तिक १२ गते पेट्रोलको मूल्य प्रतिलिटर १३० बाट तीन रूपैयाँ बढ्यो । डिजेल र मट्टितेल ११३ बाट ११६ पुग्यो ।

त्यस्तै, आन्तरिक हवाई इन्धन ८६ बाट ९६ रूपैयाँ प्रतिलिटरबाट नयाँ मूल्य कायम भएको थियो । भने, अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलो लिटर अमेरिकी डलर ७ सय ७० बाट ८५३ पुगेको थियो ।

कात्तिक २४ गते पेट्रोल प्रतिलिटर १३३ बाट १३६ पुग्यो । डिजेल र मट्टितेलमा पनि ३ रूपैयाँ बढाइयो । ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रूपैयाँ बढाइएको थियो ।

त्यस्तै, आन्तरिक हवाई इन्धन प्रतिलिटर ९६ रूपैयाँबाट १०१ रूपैयाँ प्रतिलिटरबाट नयाँ मूल्य कायम भएको थियो । भने अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलो लिटर अमेरिकी डलर ८५३ बाट वृद्धि भई अमेरिकी डलर ८९५ मा पुग्यो ।

माघ १० गते पेट्रोल १३९ पुग्यो । डिजेल र मट्टितेल १२२ रूपैयाँ पुर्‍याइयो । ग्यासको मूल्य पुरानै रहेको छ । त्यस्तै, आन्तरिक हवाई इन्धन प्रतिलिटर १०१ रूपैयाँबाट १०६ रूपैयाँ प्रतिलिटरबाट नयाँ मूल्य कायम भएको थियो । भने, अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलोलिटर अमेरिकी डलर ८९५ बाट १ सय डलर बढाइयो ।

चालु आर्थिक वर्षको आधा अवधि सकिँदा ५ पटक मूल्य समायोजन हुँदा एकपटक पनि घटेको छैन ।

अघिल्लो आर्थिक वर्षमा १२ पटक मूल्य बढाइएको थियो । त्यस्तै २०७७ भदौ ३१, असोज १५, जेठ २३ गरी तीनपटक घटाइएको थियो ।

कति लाग्छ कर ?

निगमले सरकारलाई १ लिटर पेट्रोलमा २५ रूपैयाँ २० पैसा भन्सार शुल्क, ०.०२५ रूपैयाँ भन्सारको सेवा शुल्क, ४ रूपैयाँ सडक मर्मत शुल्क र १.५० रूपैयाँ प्रदुषण शुल्क, १० रूपैयाँ पूर्वाधार कर र १२ रूपैयाँ ६५ पैसा मूल्य अभिवृद्धि करको रूपमा बुझाउनुपर्छ । उपभोक्ताले अहिले १ लिटर पेट्रोल खरिद गर्दा ५४ रूपैयाँ ४७ पैसाँ सरकारलाई कर तिर्ने गरेका छन् ।

डिजेलमा सरकारले ३७ रूपैयाँ कर लिन्छ । उपभोक्ताले १ लिटर डिजेल खरिद गर्दा १२ रूपैयाँ भन्सार कर, ०.०२५ रूपैयाँ भन्सार सेवा शुल्क, २ रूपैयाँ सडक मर्मत शुल्क, ०.९३ रूपैयाँ पीएसएफ र १०.६९ रूपैयाँ भ्याट सरकारलाई बुझाउनु पर्छ ।

उपभोक्ताले पेट्रोलको मौज्दात ब्याज खर्चका लागि १५ पैसा, निगमको प्रशासनिक खर्चका लागि ६८ पैसा, निगमको प्राविधिक नोक्सानीका लागि १२ पैसा, ह्रास खर्चका लागि १ रूपैयाँ ७२ पैसा र निगमको विभिन्न खर्चवापत ४ रूपैयाँ ५७ पैसा कर लिने गरेको छ । यी सबै शुल्कहरू उपभोक्ताबाटै प्रत्यक्ष लिने गरिएका कारण निगमले किन्दा सस्तोमा आएको पेट्रोलियम पदार्थ उपभोक्ताले किन्दा महंगो पर्न गएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *