सिद्धार्थ क्रिकेट मैदान स्तरोन्नतिको काम अलपत्र, एक दशकमा १० करोड बजेट खर्च – Nepal Press

सिद्धार्थ क्रिकेट मैदान स्तरोन्नतिको काम अलपत्र, एक दशकमा १० करोड बजेट खर्च

रुपन्देही । भैरहवा सिद्धार्थ क्रिकेट मैदान स्तरोन्नतिको काम सुरु भएको १० वर्ष पूरा भएपनि अझै सम्पन्न हुन सकेको छैन् ।

पर्याप्त बजेट नहुँदा एकदशक अघि सुरु भएको मैदान स्तरोन्नतिको काम अझै सम्पन्न हुन नसकेको हो । समयमै काम नसकिँदा ठूलो मैदानमा क्रिकेट खेल्ने खेलाडी र हेर्ने दर्शकको धोको अझै पूरा हुन सकेको छैन् ।

प्रत्येक वर्षजसो राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बजेट छुट्याउने गरे पनि कनिका छरेजस्तो बजेटका कारण निर्माणमा ढिलाई भएको हो । पछिल्लो समय कोरोना संक्रमणका कारण रंगशालाका लागि आएको बजेटसमेत खर्च हुन नसकेपछि यो अलपत्रजस्तै बनेको छ ।

क्रिकेट मैदान बनाउन अहिलेसम्म करिब १० करोड रुपैयाँ खर्च भइसकेको छ । २०६८ सालदेखि सुरु गरिएको मैदान स्तरोन्नतीकोे काम कछुवा गतिमा छ ।

मैदानमा ७ हजार दर्शक अट्ने गरी प्याराफिट बनाउने र अन्तर्राष्ट्रिय क्रिकेट खेलाउने उद्देश्यसहित राखेपले डीपीआर बनाइ काम गरिरहेको छ । डीपीआरअनुसार मैदान बनाउन कम्तिमा ३८ करोड रुपैयाँ लाग्ने जनाइएको छ ।

बहुवर्षीय ठेक्क नहुँदा र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पर्याप्त बजेट नछुट्याउँदा बल्ल १५ प्रतिशत काम भएको छ । न्यून बजेट आउँदा डीपीआरअनुसार अन्तर्राष्ट्रिय स्तरको मैदान यति नै समयमा बन्छ भन्ने आंकलन नै गर्न नसकिएको हो ।

क्रिकेट मैदानका लागि आवश्यक बजेट सधै कम आएका कारण समयमा काम हुन नसकेको क्रिकेट संघका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले बताए ।

पटक–पटक थोरै–थोरै बजेट आउँदा र बारम्बार ठेकेदार परिवर्तन हुँदा पनि कामले चाहेजति गति लिन नसकेको हो ।

अहिलेको जस्तै गतिमा काम हुने हो भने अझै २५ वर्ष मैदान अन्तर्राष्ट्रियस्तरको नहुने खेल क्षेत्रका अगुवाले चिन्ता गरेका छन् ।

मैदानको स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट छुट्याइपनि काम अझै सुरु हुन सकेको छैन । सुरुमा एक करोड १९ लाख रकम खर्च गरेर प्याभेलियन भवन बनाइएको थियो । त्यसपछि मैदान सम्माउन तीन वर्ष लगाइयो ।

यहाँ अहिलेसम्म प्याभेलियन भवनसहित ८९ लाखमा मैदान सम्याउने काम, ४० लाखमा तारजाली, ९० लाखमा ढल व्यवस्थापन, १ करोडमा पिच, प्याभेलियन अगाडि टायल बिच्छ्याउने, गार्ड रुम, स्टोर र भवन मर्मत गरिएको छ ।

आव ०७६/०७७ मा काठमाडौंको कुमार गिरी कन्ट्रक्सनले ३ करोडमा ठेक्का सम्झौता गरी हल, खेलाडी बस्ने ठाउँ शौचालयसहितको तीन तल्ले भीआईपी प्याराफिट निर्माण सुरु गरेको थियो । तर कोरोनालाई बहाना बनाएर काम अलपत्र छाडेको छ । बनेका संरचना पनि टुटफुट भएका छन् । संरक्षण प्रभावकारी हुन सकेको छैन ।

बर्सेनि कनिका छरेझै बजेट छर्दा र ठेकेदार फेरिरहँदा सुस्त गतिमा बनिरहेको क्रिकेट मैदानको काममा ०७५/०७६ मा उपलब्ध साढे ३ करोड, गत आर्थिक वर्षमा एक करोड रुपैयाँको त कामै नभई फिर्ता गएको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाको भनाइ छ ।

राखेपले समयमै टेन्डर आह्वान नगर्दा बजेट फ्रिज भएको हो । सिद्धार्थ क्रिकेट मैदानलाई चाँडै नै अन्तर्राष्ट्रियस्तरको बनाउन अब बहुवर्षीय ठेक्कामा गई पर्याप्त बजेट उपलब्ध गराउनुपर्ने क्रिकेटप्रेमीहरुको माग रहेको छ ।

रंगशाला निर्माण कछुवा गतिमा भएपछि लुम्बिनी प्रदेश सरकारले पनि यसमा चासो देखाएको खेलकुद मन्त्री बसिउद्दिन खाँनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर